लोकप्रिय पत्रकारिता

अनलाइन पत्रकारिताको रोचक पक्ष हो- यो ओटाइ-पल्टाइ मापन गर्न सकिन्छ । जस्तैः पृष्ठ कति पटक हेरियो ? त्यस पृष्ठ अघि र पछि सर्फरले के गर्यो ? पृष्ठमा कति समय खर्चियो ?

यी सबै जवाफ पाइने अनलाइन पत्रकारिताको उद्देश्य चाहिँ के होला ? पत्रकारिता के का निम्ति ?

एक्काइसौं शताब्दी मिडियाको युग हो । नेता, सेलेब्रिटी र कुनै एजेण्डाको उदय र अस्तमा मिडियाको पुरापुर भूमिका हुन्छ । प्रिन्ट, रेडियो र टिलीभिजन पत्रकारितापछि कान्छो भाइका रूपमा हर्लक्क विकसित भएको अनलाइन मिडियाले पत्रकारिताको परिभाषा र रूपरेखा नै बदलिदिएको छ ।

के हो त पत्रकारिताको सफलता ?

यसका पाठक/श्रोता सँख्या ? वा ती पाठकको प्रतिक्रिया ? लोकप्रिय हुनु नै सफलता हो वा गुगल सूचीमा उक्लनु ?

Alexa.com को सूची अनुसार नेपालीका ५ सर्वप्रिय साइटहरूमा कान्तिपुर अनलाइन, अनलाइन खबर डट कम, नागरिक न्युज, मेरो जब्स र माई संसार ब्लग रहेका छन् । नेपालबाहिरबाट नेपाली समुदायको सर्वाधिक प्रियमा ‘नेपाल क्यानडा डट कम’ रहेको छ । कान्तिपुर र नागरिक ग्राहक आबद्धतामा चलेका पत्रिका हुन्, जसको सयौं संवाददाता र सम्पादकको बृहद् टिम छ । अर्को तर्फ, पपुलारिटीको दोस्रो स्थानमा रहेको, तर सीमीत ब्यक्तीहरूबाट संचालित, अनलाइन खबरमा अन्य पत्रिकाहरूको समाचार साभार गरिन्छ । त्यस्तै लोकप्रियताको पाँचौं स्थानमा रहेको ‘माई संसार’ ब्लग ब्यक्तिगत हो, जसमा उनका केही हितैषीहरूको योगदान थपिन्छ । ठूलो टिम र खर्चमा चल्ने नेपालमा दर्जनौं संचार गृहहरू छन् जसले अनलाइन क्लीकमा ‘टप 10’ , ‘टप 20’ बन्न सकेका छैनन् ।

प्रश्न उठ्छ, पत्रकारिताको मापन सधैँ सफलतासँग जोडिने कुरा हो ? अझ अनलाइन पत्रकारिताको कुरा गर्दा पत्रकारिताको सफलता भनेको क्लीकसँग जोडिने कुरा हो ?

वास्तवमा, पत्रकारिताको मर्म ‘ब्यापक जनादेश’ सँग जोडिएको छ । तसर्थ यसलाई राज्यको चौथो अङ्ग पनि भनिन्छ । कान्तिपुर र नागरिकका पाठकका भोक अनुसन्धानात्मक रिपोर्टिङ् पढ्ने हुन्छ । अर्कोतर्फ तिनै समाचारलाई क्षणभरमा ‘कपी-पेस्ट’ गरेर अर्को सोसल मिडियाले ‘लाइक’ खान्छ ।

कुनै अनलाइन समाचारको ‘पपुलर हिट’ केलायौं भने त्यो या त मनोरञ्जनात्मक समाचार हुन्छ वा यौनसँग सम्बन्धित हुन्छ । अर्थात्, अनलाइन आधार भएका मिडियाले सामाजिक दायित्व निर्वाह गर्ने भन्दा ‘ज्यादा भन्दा ज्यादा’ क्लिक मात्रै खोजेका पाइन्छन् । यस तथ्यलाई विश्लेषण गर्दा पत्रकारिताको मर्यादा परिवर्तित हुँदैछ, जसरी अश्लिलताको पुरानो सोच-विचार बदलिंदैछ ।

तैपनि फेरि प्रश्न उठ्छ, पत्रकारिता के का निम्ति ? सर्वप्रियता वा सामाजिक जनादेश !