राष्ट्रपतिद्वारा जानकी मन्दिरमा पूजा

आज जानकी मन्दिरमा पूजापश्चात् उपस्थित साधुसन्तलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हाम्रो सभ्यता र सँस्कृतिको एक पक्षको रुपमा रहेको यो विवाह पञ्चमी महोत्सवलाई जीवन्तता दिनुपर्नेमा जोड दिनुभयो ।

जनकनन्दिनी सीताको विवाह अयोध्याका नरेश दशरथका पुत्र रामसँग भएको स्मरण गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक विवाहपञ्चमी महोत्सवमा सहभागी हँुदा आपूm गौरवान्वित भएको बताउनुभयो ।

आपूm बाल्यकालमा कैयाँैपटक जनकपुर आएको बताउँदै राष्ट्रपति भण्डारीले आफ्नी आमाको नाम मिथिला र ठूली आमाको नाम जानकी रहेको स्मरण गर्नुभयो ।

हाम्रो सभ्यता र सँस्कृतिको संरक्षण गरी जीवन्तता दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले अर्कोबर्ष फेरि आउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाली सेनाको हेलिकोप्टरबाट जनकपुर अञ्चल प्रहरी कार्यालयमा आउनुभएकी राष्ट्रपति भण्डारी विहान ११ः५५ बजे जानकी मन्दिरमा दर्शनका लागि पुग्नुभएको थियो ।

उहाँ जानकी मन्दिरमा आइपुग्दा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलगायतका साधुसन्तले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी जानकी मन्दिरमा पूजाअर्चना गरी आजै राजधानी फर्किनु भएको छ । उहाँका साथ भूमिसुधार मन्त्री रामकुमार सुब्बा, उपसभामुख गङ्गाप्रसाद यादव, नेपाली काँग्रेसका सांसद किरण यादव प्रधानसेनापति राजेन्द्र क्षत्रीसहित विभिन्न सुरक्षा निकायका प्रमुखसमेत आउनु भएको थियो ।

राष्ट्रपति भण्डारी जनकपुर आएपछि बिहानैदेखि जनकपुरमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय समावेशी मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शन गरेपछि जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । चौकचौकमा नेपाली सेनाको समेत उपस्थिति थियो ।

राष्ट्रपति भण्डारी मन्दिर परिसरबाट निस्कन लाग्दा मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा गर्ने प्रयत्नसमेत गरेका थिए । विभिन्न चौकचौकमा प्रहरीको कडा सुरक्षा रहेको भएपनि मोर्चाका कार्यकर्ताले टायर बालेर विरोध प्रदर्शन गरे ।

जनकपुरको जानकी मन्दिर, शिव चोक, जनक चोक, भानुचोकसहितका विभिन्न ठाउँमा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास पनि प्रहार गरेको थियो ।

त्यसैगरी, राष्ट्र्रपति फिर्ता भएपछि जानकी मन्दिरमा समेत प्रदर्शनकारीले गरेको विरोध रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीले त्यहाँ पेट्रोल बमसमेत प्रहार गरेको बताइएको छ । जानकी मन्दिरमा मेला भर्न आएका श्रद्धालुलाई सो बेला मन्दिर परिसरबाट बाहिर निकालिएको थियो ।

जनकपुरमा विवाह पञ्चमीका दिन तनाव बढेपछि मेला प्रभावित भएको छ । रासस