रहेनन जनकवि केशरी धर्मराज थापा

जनकवि केशरी धर्मराज थापाको मंगलवार बिहान ९२ बर्षको उमेरमा निधन भएको छ | लामो समय देखि अस्वस्थ रहेका थापाको राजधानीको kesari-thapaस्वयम्भूस्थित निवासमा निधन भएको हो |

उनको पशुपति आर्यघाटमा मंगलबार अपरान्ह अन्तिम संस्कार गरिएको छ | त्यसअघि अन्तिम श्रद्धान्जलिका लागि उनको पार्थिव शरिर प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको थियो | श्रद्धान्जली दिन प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम लगायत बिभिन्न दलका नेताहरू, कलाकारहरू, सुरक्षाकर्मी  र शुभेच्छुक प्रज्ञाभवन पुगेका थिए |

पोखराको बाटुलेचौरमा वि.स १९८१ साल साउनमा जन्मिएका थापाले प्रजातन्त्रको मिर्मिरे (२००७) मा ‘प्रजातन्त्रको काफल पाक्यो बरी लै’, ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’, ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’, ‘आज मादल बजेको किन गाउँबेसी दुनियाँ बिउँझाउन’, ‘धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौंला’, ‘घर सम्झी रोएको होला, डाँडाकाटी गएको नेपाली’ जस्ता गीत गाउँदै कुनाकन्दरामा पुगेर नेपालीलाई बिउँझाएका थिए |

२०१३ सालमा राजा महेन्द्रबाट जनकवि केसरीको उपाधि पाएका थापा आम रुपमा जनगायकका रुपमा चिनिन्छन् | २००८ सालमा कर्मचारीलाइ उक्साएर हडताल गरेबापत गोर्खापत्रको मुखियाबाट खोसुवामा परेको थापा डाक्टर के.आइ. सिंहको बिद्रोहमा समर्थन गरेकोमा ३० दिन जेल परेपछि त्यसपछिको एक वर्ष भारतका देहरादून, भाक्सु, आसाम, दार्जिलिङ, सिक्किम लगायतका ठाउँमा लोक भाका गुञ्जाएका थिए |

त्यही बेला ‘नेपालीले माया मार्‍यो बरी लै’, ‘झमझम परेली’, ‘हाम्रो तेन्जीङ शेर्पाले’, ‘धुरुधुरु नरोऊ आमा’ लगायतका गीतहरु कलकत्ताको एचएमभी कम्पनीमा रेकर्ड गराएका थिए |

नेपाली लोकगीत, लोक संस्कृति र लोकजीवनको अध्ययन र प्रचार प्रसारमा जीवन विताएका थापाले गन्धर्व र सारङ्गी संसारसामु चिनाएका थिए|