हिमालपारिका जिल्ला भनेर चिनिने जिल्लाहरू मुस्ताङ र मनाङको सौन्दर्य भिन्दै खालको छ। तिब्बत पश्चिमा पर्यटकहरूको निम्ति खुला नहुँदा अनेकन पश्चिमा पर्यटकहरू यीनै ठाउँहर घुमेर मन बुझाउँथे । गण्डकी प्रदेशको उत्तरमा अवस्थित मनाङ मुस्ताङको तुलनामा अझ कम भ्रमण गरिनेमा पर्छ।
पदयात्रीको गन्तव्य मार्ग अन्नपूर्ण पदमार्ग, बहुमूल्य जडीबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डको बेजोड संगम भएको मनाङ जिल्ला प्राकृतिकरुपमा धनी मानिन्छ।
मनाङको प्रसिद्ध स्थानका रुपमा रहेको तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्। चामेको तातोपानी, ताचैको घरबास (होमस्टे), कजिनसारा लेक (सिङ्गर ताल) लगायतका स्थान मनाङ आउने पर्यटकले छुटाउन नहुने स्थान हुन्।
मनाङका हरेक स्थान प्राकृतिक सौन्दर्यताले भरिएको छ। तर मनाङको यात्रा सहज भने छैन। यहाँको यात्रालाई साहसिक यात्राका रुपमा लिने गरिन्छ। साहसिक यात्रा रुचाउनेका लागि अनौठो अनुभव दिलाउने प्रकारको छ।
मनाङको अपनत्व हिमाल, हिमाली हावापानी, रमणीय वातावरण, हिमाली वन्यजन्तु मनमोहक छन्। जडीबुटी, फूल र जैविक विविधतामा पनि मनाङ धनी छ। दन्ते लहर झैँ फैलिएका सेता हिमाल, स्थानीय रहनसहन, मस्र्याङ्दी नदीको सुसाइ, चक्रीय अन्नपूर्ण पदमार्गमा जाने पर्यटकका प्राकृतिक साथी बन्नेछन्।
पदयात्रीका लागि आकर्षणको केन्द्र हो मनाङ। प्राकृतिक सौन्दर्यको भण्डार छ। हिउँ पग्लिएर बनेका पहाड हेरेर पर्यटक लोभिन्छन्। हिमाल हेरेपछि दंग पर्ने गर्दछन्। वातावरण, रहनसहन, हिमाली हावाको सुगन्ध र एकान्तले उनीहरू प्रकृतिमा हराउने गर्दछन्। सदाबहार देखिने हिमाल, खोलानाला र प्रकृतिले आधुनिकतालाई चुनौती दिएको छ।
मनाङ तिब्बतको संस्कृतिसँग मिल्ने जनजीवन, बौद्धमार्गी प्रत्येक गाउँमा गुम्बा, हिमाली जनजीवन र स्वतन्त्र परिवेशमा रहेको भूमि हो। मनाङमा गुरुङ, घले, लामा, थकाली र तिनै जातिसँग मिल्ने वेषभूषा र भाषा बोल्ने गरिन्छ।
यहाँ दलित, नेवारबाहेक अन्य जातिको भने बसोबास छैन। तर अहिले व्यापार र अन्य कारणले गर्दा केही जातिका व्यक्तिले मनाङलाई कर्म थलोका रूपमा लिन थालेका छन्
जिल्लाको सबैभन्दा ठूलो गाउँ मनाङबाट नै जिल्लाको नामकरण भएको पाइन्छ। मनाङ शब्द तिब्बती भाषाको ‘म्हनाङ्’ शब्दबाट अपभ्रंश भएर आएको मानिन्छ। तिब्बती भाषामा ‘म्ह’को अर्थ सहायता र ‘नाङ’को अर्थ देऊ भन्ने हुन्छ।
विकट भौगोलिक परिवेशमा रहेको र बाह्य सहायताविना जनजीवन अतिकष्टकर रहेको भन्ने अर्थमा बुझ्नुपर्ने हुन्छ। सन् १७८१ मा रणबहादुर शाहको शासनकालमा नेपाल राज्यमा एकीकरण हुनुअघि यो जिल्ला लमजुङ राज्यकै एक अंगका रूपमा रहेको थियो।
विसं २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा गण्डकी अञ्चलअन्तर्गत एउटा छुट्टै जिल्लाका रूपमा स्थापित भएको हो यो जिल्ला। त्यतिबेला मनाङको सदरमुकाम लमजुङ जिल्लाको बाहुनडाँडामा राखियो। बाहुनडाँडा मनाङ जाने मार्गमा पर्दछ। लामो समयपछि तल्लो भेगका मनाङवासीको जोडबलमा बल्ल सदरमुकाम मनाङ जिल्लाको थोँचेमा सारिएको थियो।
सदरमुकाम थोँचेमा रहे पनि उपल्लो मनाङेले पूर्णरुपले सरकारलाई समर्थन गरेनन्। पछि राजा महेन्द्रले मनाङ जिल्लाको भ्रमण गरी उपल्लो मनाङीलाई तेस्रो मुलुकमा विनाभन्सार व्यापार गर्न दिने व्यवस्था मिलाएपछि थोँचेको सदरमुकाम अहिलेको सदरमुकाम चामेमा सारिएको हो।
महेन्द्रको हुकुम प्रमांगीको आदेशमा विनाभन्सार तेस्रो मुलुकसँगको व्यापार गर्न पाउनेमा उपल्लो मनाङका बासिन्दा मात्र भए। मनाङको पनि अतिदुर्गम मानिने नार र फू गाउँ एवं तल्लो मनाङका बासिन्दा त्यो सुविधाबाट वञ्चित भएका थिए।
त्यसको परिणाम अहिले मनाङमा दुई खाले जनजीवन देखिन्छ। उपल्लो मनाङवासी आर्थिकरुपले सम्पन्न छन्। तर अन्य भूभाग अर्थात् तल्लो भेगका मनाङवासीको अवस्था भने सामान्य नै पाइन्छ। अहिले मनाङलाई चार स्थानीय तहमा विभाजन गरिएको छ। चामे, नासोँ, ङिस्याङ र नार्पाभूमि गाउँपालिका नामकरण गरिएको छ। मनाङको कुल क्षेत्रफल दुई हजार दुई सय ४६ वर्ग वर्गकिलोमिटर रहेको छ।
उचाइको हिसाबले मनाङ जिल्ला समुन्द्री सतहबाट एक हजार छ सय ८० मिटरदेखि आठ हजार एक सय ६३ मिटरसम्मको उचाइमा रहेको छ ।
यस जिल्लाको सिमानापूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ।
यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन्।