मलाई नेपाली वैदिक-साहित्यका यी मूर्धन्य महारथीको जीवनका अनेकौँ आरोह-अवरोहहरू सँगालीएको एउटा लामो अन्तरवार्ता ‘यू-ट्यूव’का विभिन्न खण्डहरुमा हिजो लामो समयसम्म हेर्ने मौका मिल्यो। अत्यन्त केटौले-शैलीमा कुनै अध्ययन एवं पूर्व-तयारी पनि नगरी उरन्ठेउलो र असभ्य लाग्नेगरी सोधिएका प्रश्नहरू, हातको घडीसम्म र ओठको अन्तरा-कुन्तरा तथा कमिजका टाँकहरूसमेत आउने गरी अती सम्वेदनहिन तरिकाले ‘जूम’ गरिएर खिचिएका अत्यन्त भद्रगोले ‘फूटेज’हरूमापनि दीक्षितज्यूको शालीन र सौम्य व्यक्तित्व प्रष्ट देखिन्थ्यो। केटाहरू दीक्षितज्यूले भनेका उत्तर नबुझेर हाँसोलाग्दो प्रति-प्रश्न गर्थे र पनि उहाँ सरल तरिकाले पुन: प्रष्ट्याउनुहुन्थ्यो। अनेकौँ परिस्थितीहरूमा मान्छेहरूको ‘डाइरेक्ट’ नाम लिन नहुने अप्ठ्याराहरूमा उहाँले ईतिहास बताउँदा ती केटाहरू ‘ए फलानो’ भनेर प्वाक्क बोलिहाल्थे र उहाँ मुस्कुराउनुहुन्थ्यो।
यी सम्पूर्ण नालीवेली हेर्दा मलाई लगभग पाँच वर्षअघी उहाँकै घरमा आदरणिय सोमनाथ घिमिरेमार्फत भेट्दा र कुरा गर्दा भएका अनेकौँ मर्म- क्षणहरू याद आयो। यो मेरो जीवनका थोरै श्रेष्ठ क्षणहरू मध्येको एउटा क्षण थियो। तिनताका मैले ‘माधवी’ चार-पाँच पटक र ‘भूमि-सूक्त’ तीन पटक पढिसकेको थिएँ। उहाँप्रति अगाध श्रद्धा र स्नेह थियो। हाम्रा लामा गफहरू भए। प्रसंगबस् मैले आफू विज्ञान र बातावरणको विद्यार्थी भएको तर साहित्य, कला, धर्म, सभ्यता, मानव-विकास, भाषा, ईतिहास, राजनीति, दर्शन आदीमा चाख रहेको र आफ्नै बूताले सके जती धेर – थोर अध्ययन गरेको बताएँ। मेरो समाज-शास्त्रीय एवं मानव-सभ्यता तथा हिन्दू-धर्म संबन्धि थोरै ज्ञानले ‘माधवी’ को परिवेस ‘उत्तर-बैदिक’ कालिन नभै ‘पूर्व-वैदिक’ कालिन होइन र गुरुदेव! भनेर राखेको जिज्ञासामा उहाँले मलाई सप्रेम धन्यवाद दिनुभयो र उहाँ आफूले पनि सो मनन गरिसकेको र अब अर्को सँस्करण प्रकाशित हुँदा ‘पूर्व-वैदिक’कालिन राख्ने कुरा भइसकेको कुरा बताउनुभयो। मलाई थोरै लज्जाबोध पनि भयो तर धेरै गर्वबोध पनि भयो, आफ्नो धेर-थोर पढाइप्रति !!
हामीले शेक्सपियर, दाँते, होमर, चेकव, दस्तोवस्की, प्रेम-चन्द, देवकोटा, भिष्म साहनी, सर्व-पल्ली, विपी, विश्वबन्धु, तुलसी गिरी, प्राचिन कविलाहरू, मह-मातृकाहरू, आदि-मातृकाहरू, विम्व-प्रतिकहरू, वनारस -वास सब कुराहरु गर्यौ। कसरी ‘समिक्षा’ले दु:ख पायो, कसरी मैले मेरी निलिमा लेखेँ, किन आत्म-दाह गर्न चाहेँ, उहाँले हर कुराहरु बताउनु भयो। म श्रोता बनेर उहाँको जीवनको यी सारा कुराहरुको रसोस्वादन गरेँ। मैले ‘देवकोटा’जी ले ‘मदनमणिजी भेँडो बन्ने” भनेर सोध्नुभएको प्रसँग उठाएँ, उहाँले कहाँ पढ्नुभयो भनेर मुस्कुराउनुभयो। मैले बताएँ। र भनेँ गुरुदेव, मलाई ‘तपाईँ’ नभन्नुहोस्, मलाई लज्जाबोध हुन्छ। उहाँले मेरो शिरमा आशिर्वाद दिनुभयो। एकपटक शेक्सपियरको ओथेलो ‘पात्र’ वारे कुरा गर्दा भिष्म शाहनीको प्रसँग आयो र उहाँले आफ्ना रसाएका आँखाहरूलाई पुछ्नुभयो। उहाँ र भिष्म शाहनी सँगै पढ्नुभएको थियो।
धेरै प्रसँग छन्, यहाँ लेखेर अट्दैनन्। जाने वेलामा “आजसम्म विज्ञान, गणित पढेकाहरुले मसँग साहित्यको बारेमा, मेरा रचनाका पात्रहरूका बारेमा यती लामो कुरा गरेका थिएनन्, मलाई तिमीसित कुरा गर्दा बेग्लै आनन्द आयो, तिमी आइरहनु है” भन्नुभयो। मलाई पुन: आफ्नो छोटो ज्ञानप्रति लज्जाबोध भयो। म सादर्-प्रणाम गरी बिदा भएँ।
आज म शरीरले क्यानडामा छु। ती ‘अन्तरवार्ताकार’ हरूको वेथिति-जन्य प्रस्तुती भए पनि आज यती टाढा पाँच बर्ष-अघिको त्यो भेटवार्ता अक्षरस: मेरो आँखामा नाचिरहे ।
गुरुदेवको लामो आयू होस्। यो वाहेक यी ज्वाज्वल्यमान् ब्यक्तित्वलाई केही पनि भन्न मेरो कद साह्रै सानो छ।
आदर सहित
– बिकास अधिकारी गीतानगर-१, उज्ज्वलनगर, चितवन (हाल- क्यानडा)