त्रिभुवन र महेन्द्रबीच मेल थिएन

राजा त्रिभुवनको शब्दचित्र कोर्न बस्दा मलाई सबभन्दा पहिला उनले भनेका भनी मलाई मेरी आमाले सुनाउनुभएको यो वाक्यको स्मरण हुन्छ– ‘के यिनीहरूले दूधभात पनि खान पाउँदैनन् ?’ कुनै गरिब माग्नेलाई देख्दा सम्बोधित भएको यो वाक्यले उनमा यथार्थताबारे या त हदैसम्मको अज्ञानको अथवा उनको करुणामयी वात्सल्यको परिचय दिन्छ ।

arvind-rimal-historianपाँच वर्षको उमेरमा श्री ५ महाराजाधिराज घोषित भएपछि त्रिभुवनलाई सबभन्दा पहिले श्री ३ महाराज चन्द्रशमशेर जंगबहादुर राणाले दाम राखेर दर्शन गरे, र यसरी सलामी टक्रयाए । तर, वास्तवमा जंगबहादुर राणा कुँवरले कोतपर्वको हत्याकाण्ड गरेर शासनसत्ता आफ्नो हातमा लिएपछि श्री ५ हरू नाम मात्रका शासक रहने गरी स्थापित भएको चलनअनुसार त्रिभुवन पनि राणा प्रधानमन्त्रीले तोकेको काम गर्ने र खान्गी खाने व्यक्तिबाहेक अरू केही थिएनन् । जेठी र कान्छी गरी दुई–दुईजना बडामहारानीसँग विवाह भएर महेन्द्र, हिमालय, वसुन्धरा तथा अनेक छोरीका बुबा भइसक्दा पनि त्रिभुवन त्यही तोकिएको भत्ता खाने अपमानको जाँतोमै पिसिएकोपिसियै थिए । राजपरिवार दरबारको चार पर्खालभित्र र जनसाधारणहरूचाहिँ ‘सात ताल्चा मारिएको मुलुक’भित्र कैदीसरह जीवनयापन गर्थे । कवि लेखनाथ पौड्यालको ‘पिँजराको सुगा’ कविता राजा र प्रजाको यथार्थको चित्रण थियो । भलै त्यो कविता लेख्न बस्दा कवि शिरोमणिको ध्यान राजाको स्थितिप्रति गएको थियो कि थिएन, त्यो अनुमान मात्र गर्न सकिन्छ । यता, राजा जुद्धशमशेरको शासनकाल आइसक्दा त्रिभुवनले ‘रक्तपात मण्डल’ नामक गोप्य अर्ध–सैनिक षड्यन्त्रकारी संस्था खोले । धर्मभक्त माथेमामार्फत र उनी दरबारको सेवाबाट निवृत्त भएपछि कम्पाउन्डर चन्द्रमान सैँजूमार्फत क्रान्तिकारी राजनीतिक दल प्रजा परिषद्का अध्यक्ष टंकप्रसाद आचार्यसित सम्पर्क राखे । अनि उक्त दलको राजनीतिक घोषणापत्र तथा ध्येयसित ऐक्यबद्धता राख्न पुगे । राजा राणाहरूसँग कत्तिको सशंकित रहन्थे र तिनीहरूलाई घृणा गर्थे भन्ने कुरा कुन प्रसंगबाट पनि पुष्टि हुन्छ भने तत्कालीन चलनअनुसार जुद्धशमशेर वर्षको एकपटक राजा, युवराजाधिराज तथा अरू अधिराजकुमारलाई ‘डिनर पार्टी’का निम्ति सिंहदरबारमा निम्तो गर्थे । १९९७ सालपछि पनि त्यो चलन कायमै थियो । जुद्धशमशेरका प्रभावशाली हजुरिया जर्नेल बहादुरशमशेर आफैँ हातमा सुनको टुटी भएको चाँदीको करुवा लिएर र रुमाल काँधमा राखेर उपस्थित हुन्थे । तर, त्रिभुवन र उनका छोरा एक/दुई गाँसमात्र खाएर उठ्थे । यो कुरा जुद्धशमशेरका भारदार र आन्तरिक व्यक्ति सरदार भक्तलाल राजभण्डारीको परिवारका सदस्य बताउँछन् ।

राजनीतिक उपायबाहेक अर्को कुनै उपायबाट आफू मुक्त हुन नसक्ने यथार्थलाई राजाले बुझिसकेका थिए । प्रजापरिषद् आन्दोलनमा उनको संलग्नताको पुष्टि भएपछि राणाशासनले उनलाई देशनिकाला गर्ने धृष्टता गर्न लागिसकेको थियो । नेपालीहरू राजालाई विष्णुका अवतार मान्छन् र सेनामा उनी लोकप्रिय छन् भन्ने तथ्यसित अवगत भएको चतुर अंग्रेजशासन भारतमा रहेका र दोस्रो विश्वयुद्धका अनेक मोर्चामा लडिरहेका नेपाली–गोर्खा फौजमा समेत त्यसबाट गोलमाल हुनसक्ने आशंकाले भयभीत भयो । अत: अंग्रेज राजदूतको ‘सौम्य तर दृढ’ सल्लाहको फलस्वरूप जुद्धशमशेर त्रिभुवनप्रति उपरोक्त कठोर कारबाही नगर्न बाध्य भए । तथापि, उनले अर्कै किसिमले बदला लिने उपाय सोचे । फलत: प्रजापरिषद्का नेता र सयौँ नागरिकमाथि दण्डसजाय सुनाउने फौजी अदालतमा राजा त्रिभुवन र उनका तीनैजना छोरा महेन्द्र, हिमालय तथा वसुन्धरावीरविक्रम शाहलाई पनि उभ्याएर एक–एक गरी फैसला सुनाई उनीसँग बदला लिए । राजाले यस्तो फैसलाको प्रत्युत्तरमा यी शब्द भने– दण्डसजाय भनेको कुरा कठोर होइन, मत्थरखालको हुनुपर्छ । तर, चारैजना सहिदमाथि प्राणदण्डको फैसलामा राजाकै लालमोहर लाग्नु र मुलुकमा एकतन्त्रीय जहानियाँ शासनविरुद्ध संघर्ष गर्ने वीर नि:स्वार्थ देशभक्तलाई उनले बचाउन नसक्नुचाहिँ घोर विडम्बना थियो । यस मामिलामा राजा त्रिभुवन इतिहासको कठघरामा नउभिरहन सक्तैनन् ।

यसपछि राजदरबारभित्रको निर्वासित जीवन झन् कठोर भयो । तर, समय बडो बलवान् थियो । त्यसको अघिल्तिर अरूको के चल्ने ? स्वयं जुद्धशमशेरलाई श्री ३ महाराजको आठतारे बडेमाको हीराको ब्याज जडिएको टोपी फुकालेर र त्यसको ठाउँमा गुलाफी रंगको फेटा बाँधेर ‘स्वेच्छा’ले पाल्पा–रिडी लाग्नुपर्‍यो भने पद्मशम्शेर राजनीतिबाट काठमाडांैका सडक तात्नाले र ‘विनाशकाले विपरीत बुद्धि’ भनेझैँ राणाशासकबीच आन्तरिक कलहका कारणले गर्दा झन् ‘पागलको नगरी’ राँची नै लखेटिए ।

त्यसबारे वीरशमशेरको पालादेखि जुद्धशमशेरलगायत पछिका समयसम्म गरी राणा १७ भाइखलकबीच हुने गरेको खुनी एवं विविध षड्यन्त्रलाई न्यायाधीश टुकराज मिश्रले ‘रिडी र राँची’ शीर्षकको उपन्यासमा यथार्थझँै चित्रण गर्नुभएको छ ।

अनि रोमाञ्चक एवं नाटकीय वनभोज पार्टीको निहुँमा राजा त्रिभुवनले भारतीय दूतावासमा राजनीतिक शरण लिनाले त प्रधानमन्त्री मोहनशमशेरका रूपमा अन्तिम राणाशासकको शासन नै समाप्त हुनपुग्यो ।

जेठा छोरा श्री ५ युवराजाधिराज महेन्द्रसँग कहिल्यै रायविचार नमिल्ने भनी चर्चित भएका त्रिभुवनले त्यस्तो वनभोज पार्टीको नाटक पत्यारिलो तरिकाले कसरी रच्न सके होलान् ? अथवा, बाबुसँग मतभिन्नता हुँदाहुँदै पनि अब राणाशासनको समाप्ति हुनुपर्ने भन्ने सवालमा बाबु–छोरा दुवैजनामा एकमत थियो कि भन्ने अड्कल–अनुमानमा म लाग्न चाहन्नँ ।

संक्षिप्तमा यही भनूँ– राजा त्रिभुवनको त्यो अदम्य साहस थियो, साथै सर्वथा प्रशंसनीय पुरुषार्थ पनि । किनभने, राणाशासनको अन्त्यपछि आउने शासनव्यवस्थामा पूरै शाही शासनव्यवस्था पुनस्र्थापित हुन सक्तैनथ्यो भन्ने साधारण राजनीतिक ज्ञान नभएका व्यक्ति थिएनन्, उनी ।

राजनीतिक शरण विदेशमा लिनुपर्दा कत्तिको व्यथा, पीडा र अपमान हुन्छ भन्ने कुरा दोस्रो विश्वयुद्धताका लन्डनमा निर्वासित जीवन बिताउनुपर्दा हिटलरविरोधी फ्रान्सेली प्रतिरोध आन्दोलनका अगुवा नेता जर्नेल दे गालकै आत्मवृत्तान्तमा पढ्न सकिन्छ । राजा त्रिभुवनलाई पनि त्यस्तो केही अनुभव भएन होला त ? उनले आफूले चाहेकाजति राजनीतिक नेतालाई भेट्न पाए होलान् त ? उनी साँच्चै राणाशासकसँग नेपाली कांग्रेसको संयुक्त सरकार बनाउन सहजै सहमत भए होलान् त ? उनीसित कति संवेदनशील एवं राष्ट्रिय प्रभुसत्तासम्बन्धी रियायत वा सुविधा लिन खोजिए होलान्, कुन र कस्तो राजनीतिज्ञजन्य सुझबुझबाट उनले त्यस्ता प्रश्नलाई पन्छाइदिए होलान् भन्ने कुरामा के हामी सन्देह गर्न सकौँला त ? एकातिर, भारतको परराष्ट्र मन्त्रालयमा गिरिजाशंकर वाजपेयी र केपी एस मेननजस्ता घागडान कूटनीतिज्ञहरू र तिनका उत्तिकै कुशल सहायकहरू वैदेशिक विशेषज्ञका रूपमा कार्यरत थिए । अर्कातिर, भारतीय राष्ट्रिय एकीकरणका ध्वजावाहक सरदार बल्लभभाइ पटेल प्रबल एवं प्रभावी गृहमन्त्रीका रूपमा आसीन थिए । त्यस्तो दृश्यावलीमा राजा त्रिभुवनका सामु आएका दबाबको कोही साँच्चै अनुमान गर्न सक्ला त ? यसरी, तिनै राजा त्रिभुवन दिल्लीबाट गौचर हवाईअड्डामा कुनै विदेशी मुलुकका मुवक्किल होइन कि, राष्ट्रिय प्रजातान्त्रिक युद्धका विजेता भएर ओर्लिएका थिए । डा. केआई सिंहलाई उठाएर रचिएको रक्षादल विद्रोहकाण्डमा यिनैले राष्ट्रिय सेनालाई प्रहारात्मक र बदलाको कारबाही गर्न अनुमति दिएनन् । सार्वजनिक समारोहमा आफूनजिकै बस्ने गरेका विश्वेश्वरप्रसाद कोइरालाले प्राय:जसो खुट्टा उचालेर बस्दा र एकपटक २००८ सालमा टुँडिखेल खरीबोटको मञ्चमा आयोजित एउटा समारोहमा गृहमन्त्रीको जुत्ताको चुच्चो र राजा त्रिभुवनको नाक एकै लहरमा भएको फोटो खिचिएर राजधानीभरि फिँजिदा पनि कोइरालाप्रति आफूमा कुनै विद्वेष आउन दिएनन् । किनभने, उनले विश्वेश्वरप्रसाद कोइरालालाई आफ्ना प्रतिद्वन्द्वीका रूपमा कहिल्यै हेरेनन् । बरु पछि, राजा महेन्द्रले त्यस घटनालाई राजतन्त्रप्रति नै अनादर–अपमान ठाने होलान् ।

विलासी जीवनशैलीका सोखिन भएर पनि भद्रभलाद्मी राजा त्रिभुवन त कम्युनिष्ट कार्यकर्ताले जागिरेको नोकरीजस्तै गरी, ब्राह्मणले कुनै कर्मकाण्डी श्लोक पाठ गरेझैं रातो दिन आफूलाई सराप्दा पनि त्यस्ता कार्यकर्तामध्येको एकजना म स्वयंलाई राजदरबारमा त्यो विलक्षण भेट दिँदै नेपाली जनता समाजवादका पक्षमा आउँछन् भने पनि त्रिभुवनबाट त्यसको कदापि अवरोध हुनेछैन भने । उदाहरणका लागि, प्रतीकात्मक रूपमा त्यस वचनको पालन उनकै संस्कार पाई हुर्केका–बढेका उत्तिकै भद्रभलाद्मी नाति राजा वीरेन्द्रले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष मनमोहन अधिकारीलाई प्रधानमन्त्री बनाएर पालन गरे । कल्पना गरौँ, संसद्मा संख्याको दृष्टिबाट पहिलो बलियो दल भएप नि अल्पमतमै रहेको नेतालाई प्रधानमन्त्रीको शपथ गराउन नेपाली शाही सेना, प्रहरी, निजामती कर्मचारी, वैदेशिक कूटनीतिक नियोग अनि आफ्नै दरबारभित्रको बलियो गुटलाई मनाउन राजा वीरेन्द्रलाई कदापि सजिलो थिएन । तथापि, उनले राजाको संवैधानिक भूमिका निष्पक्ष रूपले निर्वाह गरे । अत: मेरो विचारमा यहाँ यस शब्दचित्रमा २००७ सालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको स्थापना गराउने हजुरबुबाका नातिले आफ्नै बुबाले २०१७ सालमा विस्थापित गरेको त्यो व्यवस्थालाई २०४६ सालमा पुनस्र्थापित गरेर अदम्य साहस एवं परम बुद्धिमत्ताको परिचय दिएको कुरा उल्लेख हुनैपर्छ ।

त्रिभुवन आफूबारे निकै संवेदनशील थिए । एकदिन आफ्नो कान्छो छोरा वसुन्धराको ताहाचलस्थित निवासस्थानबाट नारायणहिटी दरबार फर्किंदा नयाँ सडकमा अखिल–नेपाल विद्यार्थी फेडरेसनको जुलुसले ‘त्रिभुवन मुर्दावाद’ भन्ने नारा लगाउँदै गरेको उनले सुने । भोलिपल्ट नेपाल छात्र संघका अध्यक्ष सुरेन्द्रराज शर्मालाई दरबारमा बोलाउन पठाई सबभन्दा पहिले उनको भलोकुशल सोधी अनि चिया खुवाउँदै ‘मैले तपाईंहरूको के हानि गरेको छु र, मेराविरुद्ध जुलुसमा नारा लगाउनुभयो’ भनी दु:खमनाउ गरे । सुरेन्द्रराजले हिजोको जुलुस त ‘हाम्रो होइन सरकार, कम्युनिस्ट पार्टीको विद्यार्थी फेडरेसनको हो’ भन्ने सफाइ दिएपछि त्रिभुवनले ‘म तिनीहरूको पनि भलो चिताउने व्यक्ति हुँ । सक्नुुहुन्छ भने तपाईं उनीहरूलाई भनिदिनुस्’ भने । यो कुरा मलाई मेरा मित्र हरिचरण श्रेष्ठले सुरेन्द्रराज शर्माको हवाला दिँदै भनेका हुन् ।

त्रिभुवन उदार दिलका पनि थिए । गणेशमान सिंहलाई क्षेत्रपाटी चाक्सीबारीको घर किन्न ४० हजारको जरुरत पर्दा राजाले थाहा पाएर दुई लाख रुपैयाँ पठाइदिएका थिए । त्यसैगरी, धर्मरत्न यमीलाई पनि रुद्रशमशेरको डिठ्ठा भद्रमान चित्रकारको रक्तकालीको राम्रो ठूलो घर किन्ने बन्दोबस्त मिलाइदिएका थिए ।

त्रिभुवन भद्र, विनम्र एवं मृदुभाषी थिए । साथै, उनी भाषाप्रेमी पनि थिए । अंग्रेजी भाषामा उनको राम्रो दख्खल थियो र बोल्न पनि राम्ररी सक्थे । उनलाई नेवारी भाषाको पनि ज्ञान थियो जसलाई उनले दरबारको खेतबारीमा काम गर्ने किसानसँग कुरा गर्दै सिकेका थिए । आफ्ना व्यायामगुरु धर्मभक्त माथेमासँग उनी नेवारीमै कुरा गर्थे । कम्पाउन्डर चन्द्रमानसँग प्रजापरिषद्बारे राजनीतिक जानकारी राख्दा उनीहरूबीच संवाद नेवारी भाषामै भएको कुरा ‘जिउँदा सहिदहरू’ नामक पुस्तकमै उल्लेख छ ।

त्रिभुवन–महेन्द्र विवाद त्रिभुवनकालको एउटा बडो रोचक पक्ष हो । राजा त्रिभुवन र युवराजाधिराज महेन्द्रबीच रहेको पारिवारिक विवाद र त्यसपछिको कलह २००७ सालको क्रान्तिपछि शाहीसत्तालाई बलियो बनाउँदै लैजाने ‘रणनीति’अन्तर्गतको देखावटी नाटक हो भन्ने चर्चा त्यतिवेलै पनि राजनीतिक क्षेत्रमा चलेको हो । परन्तु, जानकार व्यक्ति त्यसलाई सत्य मान्दैनन् ।

राणा शासकमण्डलीको १७ भाइखलकलाई नारायणहिटी राजदरबारमा नाटक हेर्न बोलाएर तिनीहरूलाई बस्ने मेचमा बिजुली करेन्ट लगाएर सिध्याउने गोप्य योजना विफल भएपछि त्रिभुवनलाई युवराज्ञी इन्द्रराज्यलक्ष्मी त्यसका लागि दोषी भएको पत्यार पार्ने चेष्टा भयो । यसको ‘प्रमाण’का रूपमा युवराज्ञीले सिसाकलमले लेखिएको सानो कागजमा बुबा हरिशमशेरलाई त्यस दिन नाटक हेर्न नआउनू भन्ने समाचार पठाएको पनि बताइन्छ । यथार्थमा त्यस्तो सन्देश युवराज्ञीले पठाएको नभएर ‘श्री ३ महाराज’ जुद्धशमशेरले नारायणहिटी दरबारमा हुने गतिविधिको चियोचर्चो गर्न खटाएका एकजना मिश्र सुब्बाले पठाएका कुरा जानकार व्यक्ति बताउँछन् जसका लागि राजा त्रिभुवनले उनलाई कहिल्यै माफ गरेनन् । तथापि, युवराज्ञीमाथिको सन्देह पूरै हटेको थिएन ।

यता राजा त्रिभुवनलाई १९९७ सालको फैसलापछि गोर्खा धपाएर महेन्द्रलाई राजा बनाउने राणाशाही योजना प्रकाशमा आयो । त्यसपछि बाबुले छोरालाई राणाको मान्छे भन्ने ठहर्‍याएर प्राय: आफू छोराबाट अक्सर टाढै रहन थालेका थिए । यो कुरा मेरा ठूलोबुबा सरदार कविराज शिवनाथ रिमालले मेरा पिताजीलाई माथिको प्रसंगसहित बताउनुभएको मैले पछि २००८ सालतिर थाहा पाएको हुँ । त्रिभुवन जुद्धशमशेरकै पनातिनीहरू बिहे गर्ने आफ्ना माहिला छोरा हिमालय र कान्छा छोरा वसुन्धरासँग राम्रो सम्बन्ध राख्दथे । तर, जेठा छोरा महेन्द्रको तिनै जुद्धशमशेरकी नातिनी रत्नराज्यलक्ष्मीसँगको प्रेमविवाहप्रति आफ्नो विरोधलाई सार्वजनिक तबरले घोषणा गर्नुको पछिल्तिर महेन्द्रलाई ‘राणाको मान्छे’ ठान्नु नै प्रमुख कारक रहेको बताइन्छ । त्यसैको फलस्वरूप जेठो छोराको विवाहमा अनुपस्थित रहेर त्रिभुवन राष्ट्राध्यक्षको कूटनीतिक मानमर्यादाको ख्यालसमेत नगरी कलकत्तास्थित नेपाली कन्सुलेट जनरल भवनमा साधारण नागरिकसरह बस्न गएका थिए ।

आफू सर्वेसर्वा राजा भएपछि महेन्द्रले आफ्ना प्रमुख राजनीतिक सल्लाहकारमा मोहनशमशेर राणाका साहिँला भाइ केशरशमशेर र अन्य प्रकारका सल्लाहकारका रूपमा मुख्यत: राणा खलकका मानिस राखेबाट पनि राणाप्रति उनको ‘नरम कोण’ रहेको बताइन्छ ।

२००८ सालको डा. केआई सिंह विद्रोहकाण्डमा युवराज महेन्द्रले बुबा महाराजविरुद्ध षड्यन्त्रको गोटी चालेको पुष्ट शंका भएपछि बाबुछोराबीच बोलचाल पनि प्राय: बन्द भएको कुरा स्वयं टंकप्रसाद आचार्यले मेरो जिज्ञासामा बताउनुभएको थियो । जेम्स फिसरलाई लेखाउनुभएको आफ्नो कथा ‘जिउँदा सहिदहरू‘मा आचार्यले उपर्युक्त काण्डमा महेन्द्रको हात भएको ठोकुवा नै गर्नुभएको त स्मरणीय नै छ ।

माथिका सबै कुराबाट त्रिभुवन–महेन्द्र विवाद एवं कलह सत्ता उद्देश्यसित नै सम्बन्धित रहेको प्रस्ट हुन्छ ।

त्रिभुवन विनोदी स्वभावका पनि थिए । यो पनि मलाई मित्र हरिचरण श्रेष्ठले आफ्नो पिताको हवाला दिएर सुनाएका हुन् । एकदिनको कुरा, आफू २०/२२ को उमेरमा छँदा उनले दरबार धाउने एक ब्राह्मणलाई जागिर खाऊ भनी चाँदतोडा दिए । तर, घर पुग्दा त ब्राह्मणपत्नीले त्यो त दमाईं नगर्चे (दरबारमा बाजा बजाउने) को तोडा हो भनी त्यसलाई तुरुन्तै फर्काउन पठाइन् । ब्राह्मण रिसले चूर भई राजाकहाँ गई बाहुनलाई दमाईंको तोडा दिई जात गिराउने भनी तोडा राजाकै खुट्टामा फालिदिए । सो देखेर राजा र उपस्थित सबैजना पेट मिचिमिची हाँसे र राजाले डिट्ठाको असली चाँदतोडा मगाई ब्राह्मणलाई आफैँले लगाएर पठाइदिए ।

राजा त्रिभुवन कसैप्रति पनि दागाधर्ने व्यक्ति होइनन् भन्ने कुरा मैले एकपटक मेरा पिताजीबाट सुनेको थिएँ । ‘श्री ३ महाराज’ मोहनशमशेरले बोलाएका सभामा त्रिभुवनलाई गद्दीच्युत गर्ने निर्णयमा सहीछाप गर्नेमध्ये धेरैलाई उनले माफी दिएका थिए । तर, उनका निजी चिकित्सक एवं मेरा ठूलोबुबाले अनुरोध गर्दागर्दै पनि र ठूलोबुबाप्रति उनको ठूलो स्नेह एवं विश्वास हुँदाहुँदै पनि सरदार पशुपतिभक्त पन्त र सुब्बा विश्वराज मिश्रलाई उनले आखिरसम्म क्षमा गरेनन् ।

अन्त्यमा भन्नुपर्दा, राणाशासनको समाप्तिपछि पनि मुलुकमा प्रजातान्त्रिक परिपाटीको विकास हुने लक्षण नदेखिएको अवस्थामा राजा त्रिभुवनमा आफू सबल शासक बन्ने महत्त्वाकांक्षा जाग्यो । त्यसैक्रममा न्यायालयको अधिकार सीमित गरियो । त्रिभुवनलाई यस्तो भूमिका लिन लगाउन उनका आफ्नै भिनाजु केशरशमशेरको ठूलो हात रहेको कुरा केही राजनीतिक विश्लेषक बताउँछन् । यसै सिलसिलामा उनीहरू केशरशमशेरले शाहवंश र साथै प्रजातान्त्रिक शासनव्यवस्था दुवैलाई धराशायी गर्ने चाल चलेको कुरा पनि थप्छन् ।

यही वृथा महत्त्वाकांक्षाको सिकार भएर नै राजा त्रिभुवनले आफैँले घोषणा गरेको संविधानसभाको चुनाव आफू सत्तामा छँदै गराएनन् । यसबाट मुलुकको समग्र राजनीतिमा अस्थिरताको जुन लामो ग्रहण लाग्यो त्यसको असर आजसम्म पनि नेपाली जनताले भोग्नुपरिरहेको छ । यस कुकर्मका लागि इतिहासले उनलाई कदापि क्षमा गर्नेछैन ।
– अरविन्द रिमाल, इतिहास अन्वेषक
(रिमालको किताब ‘१९९७ सालदेखि १७ सालसम्म’बाट)