भारतीयका संसारभरि सयाैं फेक न्युज पोर्टलहरू

शक्ति राष्ट्रहरू प्रोपगन्डा गर्न कति सिपालु हुन्छन् भन्ने कुरा सामान्य मान्छेहरूलाई त्यति हेक्का नहोला तर समाचार केलाउने र खेलाउनेहरू राम्ररी बुझ्दछन् । शक्ति राष्ट्र ( अर्थात् भनौं, क्षेत्रिय शक्ति) बन्ने धुनमा भारतले पनि निकै पसिना बगाईरहेको छ र त्यसका निम्ति के-के हर्कत गर्दैछ भन्ने एउटो चलखेलको पर्दाफास हालै ब्रसेल्सको एउटा गैरसरकारी संस्थाले गरेको छ ।

डिस्इन्फो ल्याब, ब्रसेल्स

यु.एस., क्यानडा, बेल्जियम, स्विट्जरल्यान्ड, यु.के., अस्ट्रेलिया लगायतका ६५ देशबाट २६५ फेक न्युज पोर्टलहरू चलाउँदा रहेछन् भारतीय एजेन्टहरू । उस्तै उस्तै समाचार र फोटो प्रवाह गर्ने यी बहुदेशीय न्युज पोर्टलहरूको एउटै उद्देश्य रहेछ- यु.एन. र युरोपियन युनियन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूलाई प्रभावित पार्ने र पाकिस्तानको बदनाम गर्ने ।

फेक न्युज पोर्टलहरू चल्ने ६५ देशको लिस्टमा पाकिस्तान, बांग्लादेश र श्रीलंका पनि छन् तर नेपाल छैन । सायद नेपालमा त्यो आवश्यक पनि छैन किनभने भाइसापहरूको सेवा गर्ने अनेकौं न्युज पोर्टलहरू सस्तो ललीपपमा प्रायोजित भैरहेका छन् ।

यो समाचारले यौटा कुरा चाहिँ प्रष्ट पारेको छ भारतियहरूको नियत र पहुँच । नेपालमा केही पत्रकारहरू अरूबाट प्रयोग हुन चाहन्नँ भन्ने पनि छन् । ति पत्रकारहरूलाई यो समाचार एउटा सावधानीको पाठ हुन सक्ला । भारतियका समाचार हुबहु सार्नेहरूले कतै आफू प्रयोग भइँदै त छैन ? भन्ने प्रश्न आफैंलाई सोध्न सक्छन् ।

ब्रसेल्समा रहेको र  युरोपियन युनियनसँग नजिक रहेर काम गर्ने एउटा गैरसरकारी संस्था डिस्इन्फो ल्याबले लामो अध्ययन र अनुसन्धानपछि हालै प्रकाशित गरेको रिपोर्टबाट भारतियहरूको यो हर्कत सार्वजनिक भएको हो ।