भारतको बाटो अवैध रूपमा खाडी मुलुक जाने महिला धेरै

भारतको बाटो प्रयोग गरी रोजगारीका लागि अवैधरूपमा खाडी मुलुक जाने महिलाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ ।

Nepali_women_rescueविगत दुई वर्षको अवधिमा खाडी मुलुक गएर वेपत्ता भएका मध्यपश्चिमाञ्चलका करिब चार हजार महिलाका आफन्तले यहाँस्थित माइती नेपालको कार्यालयमा खोजीका लागि दिएको निवेदनको खाँदले पनि अवैधरूपमा रोजगारका लागि खाडी मुलुक जाने महिलाको सङ्ख्या बढ्दै गएको देखाउँछ ।

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, खाडी मुलुक गएर वेपत्ता भएकामध्ये हालसम्म ३०० भन्दा बढी महिलाको उद्धार गर्न सकिएको छ । उद्धार गरिएका अधिकांश महिलामाथि शारीरिक, मानसिक तथा यौन शोषण भएको पाइएको छ ।

“वेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरूपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरिबी नै हो भन्न सकिन्छ,” संयोजक कोइरालाको भनाइ थियो ।

अवैधरूपमा विदेशिएका महिलामध्ये ७० प्रतिशत खाडी मुलुक र बाँकी भारतमा वेपत्ता भएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । संयोजक कोइरालाका अनुसार, विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिलाको उद्धार प्रतिशत बढेको छ ।

राम्रो तथा सुरक्षित काम दिलाई दिने प्रलोभनमा पारी महिलालाई अवैधरूपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेको संयोजक कोइरालाले बताउनुभयो ।

“महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उहाँको भनाइ थियो ।