११ महिने बच्चा मारेको आरोपमा यू.ए.ई.मा नेपाली महिला पक्राउ

संयुक्त अरब इमिरेट्स (यूएई)मा एक नेपाली महिला हत्या आरोपमा पक्राउ परेकी छन् ।

दुबई सहरको अलनादा भन्ने ठाउँमा घरेलु कामदारको रुपमा काम गर्ने नेपाली महिलालाई एघार महिने शिशु हत्या गरेको आरोपमा यसै साता प्रहरीले पक्राउ गरेको हो ।

womanदुबईबाट प्रकाशन हुने ‘सेभेन डेज’ नामको पत्रिका अनुसार नेपालस्थित आफ्नो घरमा आमाको मृत्यु भएकोले अन्त्येष्टि गर्न जान उनले मालिकसँग अनुमति मागेकी थिईन् ।

तर, मालिकले जाने अनुमति नदिएपछि उनले मालिकको छोरीको घाँटी थिचेर मारेको उनले प्रहरीलाई बयान दिएको दुबईका प्रहरी अधिकृत अल मुजैनालाई उद्धृत गर्दै पत्रिकाले समाचार लेखेको छ । मृत बच्चाका अभिभावक दुबै काम गर्ने हुँदा आफूले नेपाल जान छुट्टी नपाएको ती आरोपित महिलाले बताएको प्रहरीले जनाएको छ ।

अभिभावकहरूले भने बच्चीको एक वर्ष पुगेको जन्मदिनको तयारी हुँदै गर्दा यो घटना भएको भन्दै दुःखमनाउ गरेका छन् ।

नेपाली महिलाको नाम, ठेगाना भने समाचारमा खुलाइएको छैन ।