बख्खु र स्याब्रु

काठमान्डुको बौद्धस्थित हायात चौर विहीबार दिउँसो कुनै हिमाली भेगमा छ कि भन्ने आभाष हुन्थ्यो। अधिकांश मानिसहरूले बख्खु पहिरिएका थिए । साथसाथै शेर्पा भाषाका गीत घन्किएका थिए। बालबाबिकादेखि युवा–युवती र वृद्ध–वृद्धासमेत बख्खुमै देखिएको दृश्य निकै मनमोहक थियो।

bakkhu Sherpa dressयो दृश्य शेर्पा जातिको नयाँ वर्ष २१४१ अर्थात् ग्याल्पो ल्होसारको अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले अयोजना गरेको ल्होसार गुथुक साँझ कार्यक्रममा देखिएको हो। कार्यक्रमको उद्घाटनसमेत निकै रोचक ढंगबाट गरिएको थियो। अतिथि तथा शेर्पा जातिका अग्रज व्यक्तित्वहरूले स्याब्रु नृत्य प्रस्तुत गरेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि पूर्व सभासद् तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपसिङ लामा, नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष पेमा सिरिङ शेर्पालगायत डेढ दर्जन अतिथिले गाउँदै स्याब्रु नृत्य प्रस्तुत गर्दा दर्शकको मुहारमा चमक देखिएको थियो।

सोही अवसरमा आयोजित प्रतिस्पर्धात्मक स्याब्रु नृत्य प्रतियोगितामा बख्खु र सेमुङसँगै १७ प्रतिस्पर्धी टिमले प्रस्तुती दिँदै साँझलाई रोचक बनाएका थिए। उक्त नृत्य प्रतियोगितामा एम्बू थामिछो शेर्पा किदुक प्रथम बनेको छ। त्यसै गरी युथ मल्टी भिजन ग्रुप द्वितीय, जुमिङ शेर्पा किदुक तृतीय र बुद्ध समाज सेवा केन्द्रले सान्त्वना स्थान हाँसिल गरेको छ। मञ्जुश्री सामुदायिक विद्यालयका १० वर्षभन्दा कम उमेरका विद्यार्थीहरूले शेर्पा पहिरनमा ठाँटिएर शेर्पा भाषाकै गीत गाउँदै नृत्य प्रस्तुत गरेर दर्शकलाई अचम्म तुल्याएको नृत्य प्रतियोगितामा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका पूर्वअध्यक्ष लाक्पा तेन्जे शेर्पा, डा. लाक्पा नोर्बु शेर्पा, कलाकार लाक्पा नोर्बु शेर्पा, शेर्पा केन्द्रका अध्यक्ष क्या. आङडेण्डी शेर्पा निर्णायक रहेका थिए। सोही अवसरमा आयोजित साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगितामा दाबा तेञ्जिङ शेर्पा प्रथम, पेमा रिञ्जी शेर्पा द्वितीय र सोनम डोल्मा शेर्पा तृतीय भएका छन्।