शिक्षकले पिट्दा कानको जाली फुट्यो

अर्काको टिफिन खाएको भन्दै अनुशासन शिक्षकले पिट्दा काठमाडौंको एक विद्यालयका विद्यार्थीको कानको जाली फुटेको छ ।

student beaten upस्वयम्भूको दि एक्सेलसियर बोर्डिङ स्कुलका अनुशासन शिक्षक महेश मल्लले पिट्दा ७ कक्षामा अध्ययनरत सचिन बुढाथोकीको कानको जाली फुटेको हो । प्रहरीका अनुसार शुक्रबार दिउँसो साथीको टिफिन खाइदिएको विषयमा मल्लले सचिनलाई गालामा थप्पड हान्दा कानको जाली फुटेको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी दयानिधि ज्ञवालीले बताए । उनका अनुसार बुढाथोकीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

बुढाथोकीका बुवा दीपेशका अनुसार विद्यालयबाट घर आउँदा उनको गाला सुन्निएको थियो । राति कानबाट रगत बग्न थालेपछि अस्पताल लगिएको हो । ‘छोरालाई पढ्न पठाएका थियौं, गल्तीको सजाय दिने अन्य तरिका थिए,’ उनले भने, ‘अब कान सुन्छ कि सुन्दैन थाहा छैन ।’ उनले प्रहरीमा छोरालाई पिट्ने शिक्षकविरुद्ध उजुरी दिएका छन् ।