फाँडी सपनाहरूसँग विनिमय

जनवरी सकियो र फ्रेब्रुअरीको यौवन पनि हर्लक्क भयो । हेर्दाहेर्दै फेब्रुअरी बिदा भएर मार्चको आँगनमा बाई-बाई विन्टर भन्ने बेला आयो । एकपटक जनवरीलाई फर्केर हेराैं ।

मलाई मेरा फाँडी सपनाहरूको एउटा किताब लेख्ने रहर छ । बकम्फुसे सपना बोक्नेहरूको निम्ति मेरो किताब एउटा ‘रियलाइजेसन’ को कथा बन्न सक्छ ।

गएको जनवरी पहिलो हप्ता धेरै मेरा मित्रहरूको एउटै प्रश्न थियो, के हो तेरो ‘न्यु इयर रिजोलुसन ?’

भुत्राको न्यु इयर रिजोलुसन !

कुनै राम्रो काम गर्न छ भने जहिले गरे पनि हुन्छ । राम्रो प्लान छैन भने चूप बसे भैहाल्यो । तर सीधा र सफा कुरा धेरैलाई दिक्कलाग्दो लाग्छ । बार-सत्ताइस गफ घुमाए चिया-गफ बन्छ । दिमाग भुट्ने गफ ।

अनि, समाजमा बसेपछि आडम्बरको कुरा हुन्छ । संगतको हावाले फरक पार्छ नै ।

न्यु इयर रिजोलुसनमा म चाहिँ विश्वास गर्दिन । अनेक थरिका कसम खान्छन् मान्छेहरू । जँड्याहाले पचासौं पटक, लुः अब जाँड छोड्ने, भने जसरी । लु, अब यसो-त्यसो गर्छु भन्नु, केही दिन फलो गर्नु र फेरि आफ्नै कसम तोड्नु पनि एकप्रकारको ब्यस्तता र रमाइलै हो । यी सब रमाइला, तर बकबास हुन् । तर त्यो जँड्याहालाई बकबास भनिदियो भने उसको चित्त दुःख्छ । तर किन कुरा तन्काउनु ? म आफै सानोतिनो बकबास हुँ !

पछिल्लो समयमा मैलै सिकेको एउटा सत्य के हो भने, स-साना कुरामा आनन्द लिने । हो, सानो कुराको प्राप्तिमै धेरै आनन्दित हुने । मज्जा भन्ने कुराको साइज हुँदैन । बस्, हिम्मत लिउँ, बोल्ड भएर आफ्नो रोजाईमा रम्न सिकुँ, यसैमा छ मज्जा । अरूले के सोच्छ भन्न थाल्यो भने खुट्टा लुलो हुन्छ । त्यसैले अरूको चिन्ता नगरेकै बेस ।

मुख्य कुरा आफैलाई खुलस्त राख्नु पर्यो । यो वा त्योको जालमा दपेटिनुभन्दा जायज कुरामा ‘रिसेप्टिप’ भैरहनु पर्यो । ग्रहण गर्ने भन्ने कुरा मान्छेको आफ्नो क्षमता र अभिरूचिमा पनि निर्भर हुने कुरा हो । सफलता सधैं हुन्छ भन्ने छैन । घोडा नचढ्ने मान्छे लड्छ ?

मेरो निम्ति रिजोलुसन गर्नुपर्ने केही छैन ! त्यसो पनि होइन । धेरै छन् । धेरै थोक छन् ।

अरू के कुरा ? एउटै कुरा, तर धेरै पटक मनमा आको पनि छ ।

जस्तो की, यो युरोपको मेसिनरी जिन्दगी त्यागी दिउँ भनेर धेरै चोटी मनमा आयो । बिस वर्ष सानो समय होइन । सोची सोची समयलाई बुढो बनाइयो तर रिजोलुसन कार्यान्वित भएन । यो खसखस अहिले पनि बेलाबखत मनमा आउँछ । ब्रेक्जिटको चिन्ता गर्नेलाईभन्दा बढी आउँछ । यो मेरो मनभित्रै सलबलाइरहने हेडलाइन टाइटल हो ।

कहिलेकाँही आफैसँग हाँसो लाग्छ । युरो, डलर र रूपैयाँको भाउसँग हामी कति लपेटिएका छाैं !

पाउन्डको भाउ घट्न थाल्यो । यो युरोको भाउ घट्ने कहिले हो ? यो युरो र मेरो सपनाकोबिचमा घटिया सम्बन्ध छ । युरोको भाउ घटबढ हुँदा सपनाको विनिमय दर तलमाथि हुन्छ । (अदर थिङ्स् रिमेनिङ द सेम ।)

सट्टा बजारको सेयरभन्दा बिछट्टको छ सपना । सपनाको संसार ।

मलाई मेरा फाँडी सपनाहरूको एउटा किताब लेख्ने रहर छ । किनभने म जस्तो फाँडी सपना बोक्नेहरू सगरमाथाको देशमा अनगिन्ती छन् । अनि हामी छाैं- सगरमाथा शिरमा राखेर सामुद्रीक किनारमा बरालिनेहरू । यी सब बकम्फुसे सपना बोक्नेहरूको निम्ति मेरो किताब एउटा ‘रियलाइजेसन’ को कथा बन्न सक्छ । बस, हामी त कथाको पात्र मात्र हौं । एउटा भ्रम र अर्को उद्देश्यमा बाँचेका पात्र ।