मेरो एउटा साथी छ । धेरै दौडिन्छ । उसको दौडने बानी अहिलेको मात्र होइन, पुरानो हो । हामी स्कुल पढ्दादेखि कै । हो ऊ मेरो हाइस्कुलदेखि कै साथी हो ।
स्कुलमा पनि ऊ अति दौडने ! वीरेन्द्र शिल्ड (त्यतिखेरको राष्ट्रपति कप) पाउन दौडनेहरू धेरै थिए । उ दौडन्थ्यो आशाको पछाडि (गोप्यताका लागि यहाँ नाम परिवर्तन है) । हो, त्यही आशा, हाम्रो पालाकी ‘मिस स्माइल’ !
आशाको वरिपरि ऊ फन्फनी दौडियो । यो भिन्दै कुरा हो की आशाको गन्तव्य अन्तै थियो । मेरो साथी अन्तै पुग्यो । तर त्यसपछि पनि दौडन उसले हरेश खाएन । ऊ भन्थ्यो- चरेश खाइन्छ तर हरेश खाइन्न ।
एकपटक, मैले उसलाई भनेको थिएँ- ‘हेर साथी, धेरै नदौड । पृथ्वी गोल छ । जति दौडे पनि पुग्ने एकै ठाउँ हो ।’
स्कुल सकियो । म आफ्नो जिन्दगीको गोरेटोमा हिँडे । ऊ आफ्नो जिन्दगीको हाइ-वेमा कुद्यो । बाटो फरक पर्यो ।
उसले मेरोबारे कति कति थाहा पायो ? थाहा छैन । म भने विभिन्न श्रोतबाट ऊबारे अपडेट थिएँ ।
ऊ धेरैको पछाडि दौडियो । भन्नै परेन, राम्री केटी देखे दौडी हाल्ने बालसुलभ स्वभाव उसले आशाको मामिलामा देखाइसकेको थियो । क्याम्पसमा ऊ कसको पछाडि दौडिएन ? ‘पछाडि दौडने केटो’ भनेर बदनाम हुँदा पनि उसले नानीदेखिको बानी छोडेको होइन । आदतले मजबुर ! ऊ ठाउँ फेरिफेरि दौडियो । ऊ नेताहरूको पछि पनि दौडियो । नेताहरूले उसलाई प्रयोग गरे र उसले पनि नेताहरूलाई उपयोग गर्यो ।
नेताहरू केको पछाडि दौडन्छन् ? त्यो पनि उसले बुझ्यो । अनि ऊ पनि द्रव्यको पछाडि दौडिन थाल्यो र दले भयो । सबैले दले भन्न थाले । ऊ पूर्णकालिन रूपमा जग्गाको दलाल बन्यो । स्वभावतः ऊ पैसाको पछाडि दौडन थाल्यो ।
पुलिसहरू माओवादीको बन्दुक खोस्न दौडिरहेका थिए । गाउँले साथीहरू दानापानी जुटाउन अरब र मलेशियातिर लाग्दै थिए । कोही नेपालमा भविष्य छैन भन्दै पश्चिमी देशहरूतिर पलायन हुँदै थिए । मेरो साथीले स्वदेश मै दौडिएर करोड कमायो । मेरो मतलब करोडौं कमायो । म गोवा जान सकिनँ । ऊ अस्ट्रेलिया र अमेरिका घुम्न गयो । ऊ धेरैको मालिक भयो र, म भएँ मास्टर ।
सरकारी स्कुलमा मास्टर हुने मेरो रहर थियो । तर सकिनँ । फोर्स पुगेन । दरबन्दी खुल्दा दरखास्त त हालेको हो । राम्रै लेखेको पनि हो । तर नेताहरूसँग मेरो पहुँच थिएन । नाम निस्केन । बोर्डिङ स्कुलको मास्टर भएरै बित्यो, बित्दैछ ।
तपाईं भन्नुहोला बोर्डिङ स्कुलको मास्टर भएपछि सरकारी स्कुल किन चाहियो ? अनि, घाम तापेर खान ?
त्यसो होइन हजुर । प्राइभेट स्कुलका मालिक मोटाए पनि मास्टर दुब्लाउने ! मास्टरको न पेन्सन न सुविधा ! सरकारी स्कुलमा पाए, पेन्सन त पाक्थ्यो भन्ने लोभ थियो । आकाश कै फल भो । प्राइभेट स्कुलमा जिन्दगीभर पढाउँदा पढाउँदा मेरो जोगीको चाल भो ।
अँ, मैले भन्न खोजेको के भने गत हप्ता त्यो साथीसँग मेरो भेट भयो । यसपाली मैले केही भन्न सकिनँ । मेरै शब्द सापटी लिएर उसले डायलग मार्यो- साथी जिन्दगीमा दौडनेले नै उछिन्छ ।
ऊ पछिल्ला दिनहरूमा डन नै बनेको छ भन्ने सुनेको थिएँ । ऊ सँग धेरै वादविवाद गर्नु म बबुराका निम्ति ‘रिस्की’ हुन सक्थ्यो । म ङिच्च हाँसे । लाचारीमा ङिच्च ।
मलाई थाहा छ, उसले दादागिरी देखाउने मजस्तो लाचारसँग होइन । त्यसमा पनि म त हाइस्कुले साथी । तैपनि किन, किन ! असजिलो लाग्छ । मैले यत्ति भनेँ- ‘दौड साथी दौड । अब हाम्रो भेट होला नहोला !’
अहिले पत्रिका पढ्दा म झल्याँस्स भएँ । त्यहाँ ‘इन्काउन्टर’ को समाचार छ । पत्रिका लिँदा हात काँपीरहेका छन् । म पत्रिका पढ्न असमर्थ हुन्छु । ठुलो साहस जुटाएर पढ्ने प्रयत्न गर्छु ।
यो सहरमा सयौं डन छन् । डन ?
यसो भनुँ की- यो सहरमा सयौं गुन्डा छन्, हजाराैं गुन्डा छन् । कुनै एउटा गुन्डाको मृत्युको खबर पढ्दैमा म यति आत्तिनु नपर्ने हो । कुनै एउटा मास्टर मारियो भने के सबै स्कुल बन्द हुन्छ ?