* मैले कट्टु होइन, स्किन कलरको कट्राइज पाइन्ट लगाएकी थिएँ ।
* त्यो फोटो प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले खिच्नुभएको हो ।
* प्रधानमन्त्रीले लुंगी लगाएको अवस्थामा खिचेको फोटो तीन–चार वर्षअघि लन्डन जाँदाको हो ।
– मृदुला कोइराला, प्रधानमन्त्रीकी जनसम्पर्क सल्लाहकार
* के भनेर खण्डन गर्ने ? समाचार बनाउनेले कट्टु नै हो भनेर ठोकुवा गरेको थिएन, ‘कट्टुजस्तो देखिने’ भनेर जोगिन खोजेको थियो ।
– प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारी
प्रधानमन्त्री सुशील कोइराला अमेरिका भ्रमणमा रहँदा उनका केही तस्बिर इन्टरनेटमा भाइरल भए । तीमध्ये प्रधानमन्त्रीकी जनसम्पर्क सल्लाहकार मृदुला कोइरालासमेत देखिएको तस्बिरले सामाजिक सञ्जालमा ठूलै प्रतिक्रिया सिर्जना गर्यो । प्रधानमन्त्रीले विदेशी प्रतिनिधिहरूसित गम्भीर वार्ता गरिरहेका वेला सल्लाहकार कोइराला भने सर्ट र कट्टु लगाएर उभिएको जस्तो लाग्ने तस्बिर प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले सञ्चारमाध्यमहरूलाई पठाएका थिए ।
त्यस तस्बिरमाथि उत्पन्न प्रतिक्रियाले सल्लाहकार कोइराला निकै क्रूद्ध बनेकी छिन् । नयाँ पत्रिकासितको कुराकानीमा उनले आफ्नो तस्बिरको अपव्याख्या गरिएको भन्दै दुखेसो गरिन् ।
त्यसो भए फोटोको वास्तविकता के हो त ?
‘अमेरिकाको हायात होटलमा हामी बसेका थियौँ । अमेरिकी परराष्ट्र मन्त्रालयका अधिकारीहरू प्रधानमन्त्री बसेको रुममै भेट्न आएका थिए । म पनि होटलमै थिएँ । मैले त्यतिवेला स्किन कलरको कट्राइज पाइन्ट लगाएकी थिएँ । माथि कालो रङको तिघ्रासम्म आउने टिसर्ट र त्यसमाथि सेतो स्विटर पनि लगाएकी थिएँ । फोटोलाई जुम गरेर राम्रोसित हेर्नुभयो भने पाइन्ट प्रस्टै देखिन्छ ।
देशको प्रधानमन्त्री र त्यत्रा भिआइपीहरू भएको कोठामा कट्टु लगाएर बस्ने म के बहुलाही हुँ ? मेरो कमन सेन्स छैन ? अनि पत्रकारिताको चाहिँ कुनै धर्म हुँदैन ? कुरोको चुरोमा नपुगीकन, अर्को पक्षको भनाइ नराखीकन समाचार बनाउन पाइन्छ ? हावादारी समाचारले अरूको प्रतिष्ठामा कति हानि हुन्छ भन्ने सोच्नुपर्दैन ? एउटा टेलिभिजनले यसलाई विषय बनाएर दिनभरि डिबेट नै चलाएछ । एउटी महिलाको यसरी बेइज्जत गर्नुअघि सयचोटि सोच्नुपथ्र्यो । यो प्रकरणले मलाई भित्रैबाट दुखित तुल्याएको छ ।
महत्त्वपूर्ण भेटघाटमा टिसर्ट–पाइन्टको साटो फर्मल ड्रेस लगाएर बसेको भए पनि त हुन्थ्यो ?
उहाँहरू अचानक आउनुभयो । अब, होटलभित्र बस्दा कोट–पाइन्ट लगाएर त बसिँदैन नि । मैले लुगा चेन्ज गरिरहनु आवश्यक पनि सम्झिनँ ।
भ्रम उत्पन्न गराउन सक्ने फोटो नै किन प्रचारमा ल्याइयो ?
त्यो फोटो प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले खिच्नुभएको हो । मिडियाहरूलाई पठाउनुभएको पनि उहाँले नै हो । गलत मनसायले पठाउनुभएको थिएन होला । तर, गलत नियत भएकाहरूले यसलाई हल्का ब्लर गरेर मिडियामा फैलाए । सामाजिक सञ्जालमा पनि कुरै नबुझी मलाई गाली गरियो ।
वेलैमा खण्डन गर्ने काम किन गर्नुभएन ?
अमेरिकामा भए यस्तो इस्युमा मुद्दा हालेर मिलियन्स डलर क्षतिपूर्ति भराउन सकिन्थ्यो । नेपालमा पनि साइबार क्राइममा मुद्दा हाल्न सक्ने व्यवस्था छ । मैले पहिले सोचेकी पनि थिएँ । तर, मलाई नजिकका मान्छेहरूले के सल्लाह दिनुभयो भने मुद्दा हाल्दा झनै प्रचार हुन्छ । विषय लम्बिन्छ । यसमा चुप बस्नु नै ठीक छ भनेर मैले कुनै कदम नचालेकी हुँ ।
यसबारे प्रधानमन्त्रीलाई थाहा छ कि छैन ?
यो फोटोमाथि आएको विवादको विषयमा प्रधानमन्त्री पनि जानकार हुनुहुन्छ । तर, उहाँ यस्ता सानातिना कुराहरूलाई त्यति महत्त्व दिनुहुन्न । प्रतिक्रिया जनाउन पनि आवश्यक सम्झिनुहुन्न ।
अरू दुई फोटाको विषयमा पनि तपाईंलाई थाहा भएको कुरा भनिदिनुहोस् न ?
प्रधानमन्त्रीका अरू दुईवटा अमर्यादित फोटा पनि सामाजिक सञ्जालमा आए । त्यसमध्ये एउटा फोटो निकै पुरानो थियो । प्रधानमन्त्रीले लुंगी लगाएको अवस्थामा एकजना कांग्रेस कार्यकर्तासित खिचेको फोटोलाई लिएर पनि निकै टिप्पणी भए । तीन–चार वर्षअघि उहाँ लन्डन जाँदा खिचिएको फोटो हो त्यो । त्यस भ्रमणमा पनि म सहभागी थिएँ । हामी झापाका कांग्रेस कार्यकर्ता विज्ञान प्रसाईंका घरमा बसेका थियौँ । फोटोमा भएका व्यक्ति पनि उनै हुन् । जसको घरमा बसेको छ, उसले फोटो खिच्न आग्रह गरेपछि उहाँले नमान्ने भन्ने कुरा हुँदैन । फेरि सुशीलदा एकदमै सरल स्वभावको हुनुहुन्छ । कार्यकर्तालाई आफ्नै परिवारसरह मान्नुहुन्छ । जस्तो अवस्थामा पनि कार्यकर्ताले आग्रह गरेपछि फोटो खिच्न तयार भइदिनुहुन्छ । हामीले रोक्न खोज्यौँ भने उल्टै हप्काउनुहुन्छ ।
अर्को सुशीलदाले गर्दन कन्याइरहेको फोटो पनि आएको छ । त्यो फोटोचाहिँ अमेरिकाकै हो । फोटोमा भएका व्यक्ति कांग्रेसको जनसम्पर्क समिति सिकागो च्याप्टरका अध्यक्ष हुन् । नामचाहिँ बिर्सेँ । उनले प्रधानमन्त्रीलाई अँगालो मारेको जस्तो देखिए पनि खासमा सोफामा हात राखेका थिए । फोटो खिच्ने वेला सुशीलदालाई चिलायो होला । बुढो मान्छे, कन्याइदिनुभयो । फोटो खिचिरहेको भनेर हेक्का गर्नुभएन होला । त्यस्तो अमर्यादित फोटो फेसबुकमा हाल्नु नहुने थियो । तर, उनलाई पनि प्रधानमन्त्रीसित खिचेको फोटो अरूलाई देखाउन मन लाग्यो होला ।
तपाईं सल्लाहकार नियुक्त भएपछि प्रधानमन्त्रीको ड्रेसअप र गेटअपमा निकै सुधार आएको चर्चा छ । कति सत्य हो ?
यो यथार्थ कुरा नै हो । हामी महिलाहरू यस्ता कुरामा बढी कन्सियस हुन्छौँ । ड्रेसअप, हेयर स्टाइल, दाह्री सबै कुरामा विचार गर्छौँ । यो लुगा मैलो छ, दाह्री बढेको छ भन्छौँ । त्यसैको प्रभाव होला । फेरि उहाँलाई ड्रेससेन्स नै नभएको भने होइन । हलिउडमा हिरो बन्न जान खोजेको मान्छे पो त । केयर नगर्ने मात्र हो ।
तस्बिरले दुई सल्लाहकारको सम्बन्ध चिसियो
विवादित तस्बिरबारे प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीको भनाइ पनि सल्लाहकार कोइरालासित मिल्दोजुल्दो छ । उनले तस्बिरको वास्तविकता यसरी सुनाए :
हो, त्यो भेटघाटको फोटो मैले नै खिचेको हुँ । होटलको कोठा सानो थियो । सल्लाहकारज्यूलाई बस्ने कुर्सी पुगेन, त्यसैले उभिनुपर्यो । चर्चा भएजस्तो उहाँले कट्टु लगाएर उभिनुभएको होइन । तलसम्म आएको टिसर्ट कट्टुजस्तो देखिएको हो । आइमाईले लाउने कट्टु त्यस्तो हुन्छ ? फेरि त्यत्तिका भिआइपीहरू भएको ठाउँमा कट्टु लगाएर बस्ने भन्ने त प्रश्नै हुँदैन ।
मैले तत्कालै मिडियामा सूचना पुगोस् भनेर त्यो फोटो मेल गरेको हुँ । फोटो छान्दा मृदुलाजीपट्टि मेरो ध्यान गएन । मलाई त्यही राम्रो लाग्यो र पठाएँ । त्यो फोटो पठाउनुमा मेरो अरू केही दुराशय छैन । पछि त्यसैले हंगामा भएपछि मलाई टर्चर भयो । यसैले गर्दा मृदुलाजीसित मेरो सम्बन्ध चिसियो । मृदुलाजीले मलाई तस्बिरबारे प्रकाशित समाचारको खण्डन गर्न दबाब दिनुभयो ।
तर, के भनेर खण्डन गर्ने ? समाचार बनाउनेले कट्टु नै हो भनेर ठोकुवा गरेको थिएन, ‘कट्टुजस्तो देखिने’ भनेर जोगिन खोजेको थियो । त्यसैले मलाई खण्डन गर्न अप्ठ्यारो पर्यो । फेरि मृदुलाजीले खुट्टा किन कैँचीजसरी बटारेर उभिएको भनेर पनि प्रश्न उठ्यो । जवाफ दिएर साध्य नै भएन । यो घटनाले एउटा पाठचाहिँ सिकाएको छ कि, महत्त्वपूर्ण भेटघाटमा प्रोटोकलको ख्याल गरेर बस्नुपर्छ भन्ने । त्यतिवेला सिकाउने
कोही भएन ।
प्रधानमन्त्रीले कन्याइरहेको अर्को फोटो पनि फेसबुकमा छरिएको रहेछ । त्यो फोटोचाहिँ हामीलाई पनि आपत्तिजनक लागेको छ । फोटो खिच्नेहरूले कम्तीमा प्रधानमन्त्रीलाई राम्रो लुगा लगाउने मौका दिनुपर्ने । किन त्यस्तो हतार गर्नुभयो कुन्नि ? प्रधानमन्त्रीको सरलपनाको गलत फाइदा उठाउने काम भयो ।
म पनि पत्रकार नै हुँ । पत्रकारले समाचार लेख्दा कम्तीमा सम्बन्धित पक्षको भनाइ राख्नुपर्ने आधारभूत मान्यता हुन्छ । तर, यसमाथि समाचार बनाउनेहरूले त्यो आधारभूत मान्यतासमेत आत्मसात् गरेनन् । यसमा मलाई बडो दु:ख लागेको छ ।
– चिरञ्जीवी पौडेल/नयाँ पत्रिका