कुरा बेल्जियमबाटै शुरू गरूँ । हजुर, म बेल्जियम मै बस्छु । नयाँ ब्लग शुरू गर्ने हुटहुटी जाग्यो । तर कस्तो खालको कुरा लेख्ने ? मेरो दिमागमा एकै चोटी बत्तिस थरिका बाझिएका विचार आए । यो बबुरो धरतीका हरेक कुरामा चाख राख्छ तर विशेषज्ञ केहीको भइएन । सोसल मिडियामा सेयर भएका ब्लगहरू यसो हेर्दा चिट्टचाट्ट ब्लग लेख्नेहरू देखिए । कसैले नक्कलझक्कल गरेर मौसमी पहिरन पोष्टङ गरेका, कोही गीत गजल लेख्ने, कोही नयाँ प्रविधिको ‘गुरू’ रे !
लौ, धेरै ग्लेमरस भनुँ वा ज्याद्री भावनात्मक भएर धेरै ठप्पा पार्नेवाला म परिनँ । जस-जसले यो ब्लगमा नजर डुलाउनु भयो उहाँहरूलाई मेरो सलाम, नमस्कार, जय नेपाल । आफूलाई मन परेको शब्द छानेर सिउसिनु होला ।
फूल टाइम काम, समाचार/लेखहरू पढीरहनु पर्ने रूचि भएको मान्छे, त्यसमाथि दुइटा कलिला बच्चाबच्चीको बाउ ! ब्लग लेखेर बस्ने विशेषाधिकार छैन मेरो हजुर ।
सोचे जस्तो कहाँ छ र जीवन ? तैपनि भन्छन् नि- जहाँ इच्छा त्यहाँ उपाय ।
यही हप्ता म कामबाट निर्बन्ध भएँ । पाँच वर्षे छोरो र ढाई वर्षिया छोरीको एक हप्ते छुट्टी यही बेला परेछ । केटाकेटीको बिध्वंसका बिच नाकको टुप्पामा रिस पालेर म ब्लगिङ शुरू गर्न तम्सिएको छु । हो, मैले यस्तै विषम परिस्थितिमा लेख्नु पर्नेछ । कतैतिर कसैलाई गाली गरेँ भने रिसानी माफ है !
…………..
उसो त आलोचना गर्नेहरू के भन्छन् ? मलाई मतलब लाग्दैन । हो, बाल मतलब लाग्दैन । अनि मतलब नगर्नु मै मलाई मज्जा लाग्छ । त्यसैले कसैलाई गाली गरेँ भने रिसानी माफ है भन्नुको खास तुक म आफै देख्दिन । कहिलेकाँही सामाजिक शिष्टाचारका शब्दहरू फुस्किहाल्छन् ।
बरू रमाइलो लाग्छ, निःशुल्क मनोरंजन दिनेहरूप्रति । नेपालीहरू संस्कुतिप्रेमी छन् । सारै राम्रो पक्ष हो । तर अर्को तितो पक्ष के भने नेपालीहरू विकसीत देशमा वर्षौं बसे पनि बेला कुबेला सस्तो हँसाउन खोज्छन् । सारै सस्तो बन्छन् । म बस्ने ठाउँतिर पनि कमेडी गर्नेहरू थुप्रै भेटिन्छन् । तर सस्ता प्रहसनहरूमा म सितिमिति हाँस्दिनँ । उही कथा तर पात्र फेरिएका लाल बुझक्कडहरूको प्रहसनहरूमा कति हाँस्नु ?
भन्ठान्नु होला, यो त हाँस्न नजान्ने मान्छे रहेछ । कुरो त्यसो होइन । आज मेरी छोरीले धेरै हँसाई पनि ।
हाम्रो खेल थियो, टुकटुक के होला?
खेलको एक झलक-
टुकटुक के होला?
गाई होला !
कस्तो गाई ?
मुःमुः गर्छा ! हाहा ।
अर्को-
टुकटुक के होला?
क्याट होला !
कस्तो क्याट ?
म्याउ म्याउ गर्छा ! हाहा ।
फेरि-
टुकटुक के होला?
लायन होला !
कस्तो लायन ?
ङर्रङर्र गर्छा ! हाहा ।
अनि अर्को-
टुकटुक के होला?
मामु होला !
कस्तो मामु ?
म्वाई गर्छा ! हाहा ।
अनि यो पनि-
टुकटुक के होला?
पापा होला ! (रोटी पापा होइन, बाउ पापा)
कस्तो पापा ?
पिपि-काका ! हाहा ।
मेरी छोरी जब मातिन्छे, पिपि-काका भन्छे । (काका भनेको चाहिँ आची ।)
अनि ऊ हाँस्छे, अनियन्त्रित ।
कहिलेकाँही उसको पिपि-काकाले मेरो रिस नाकको टुप्पोमा थुप्रिन्छ । अनि कहिले राैनक अर्कै बन्छ र मै हाँस्छु, अनियन्त्रित ।