बिदेशीसँगको बिहे : ह्याप्पी इन्डीङ् होला ?

केटाकेटीमा गोरे टुरिस्ट देख्दा हामी ‘ह्वाट इज योर नेम ?’ भन्दै पछ्याउने गर्थ्यौँ । अहिले तिनै गोरेहरको देशमा बस्दा र गोरिनी केटीसँग बिबाहित जीवन शुरू गर्दा पुराना सम्झना अनौठो लाग्छ । नेपालमा अझै पनि अन्तर्जातिय बिबाह पचीसकेको छैन, मैले त अन्तर्देशिय बिबाह गरेको छु । यस्तो बिहेको आफ्नै प्रकारको मज्जा छ, भिन्दै अनुभव छ ।

अन्तर्देशिय बिहेलाई नेपालमा अझै अचम्मको रूपमा हेरिन्छ । त्यो नेपालमात्र होइन, युरोप-अमेरिकामा पनि हुँदोरहेछ । यहाँका मान्छेहरू आँखिभौँ उचालेर हेर्छन् । आफन्तका पार्टिहरूमा जाँदा, भेटघाटमा अन्तर्देशिय बिबाहमा हुने सँभावित जटिलताहरूबारे चाख राखेर प्रश्न गर्छन् । बेलाबखत हल्का जवाफ दिन्छु । तर मान्छेहरू गहिरीएर मीठा-नमीठा पक्षहरू कोट्याइरहन्छन्- ‘Happy ending होला ?’

आफूले अन्तर्देशिय सम्बन्ध बनाएकोले हाम्रो त्यस्तै खालका अरू जोडीहरूसँग दोस्ती छ । भिन्न-भिन्न सँस्कृति मान्नेहरूको जोडी-जोडी घुम्न जाँदा सबै महादेशको सँस्कृति एउटै समूहमा झल्किन्छ । सँस्कृति एकदम फरक भए पनि त्यहाँ गहिरो आत्मीयता हुन्छ । त्यो आत्मीयताको जड हो- माया । मायाले नै हामी सबैलाई बाँधेको छ ।

अन्तर्देशिय बिबाहका बारेमा मान्छेहरूको अनौठो हेराइ मलाई नै किन? जस्तो लाग्थ्यो । तर मेरा अरू साथीहरू पनि त्यस्तै हेराइबाट पट्यार मान्दा रहेछन् ।

बिदेशीसँगको बिहे, ह्याप्पी इन्डीङ् होला  त?करिब ५ वर्षअघि मैले सुजानलाई युनिभर्सिटीमा भेटेको हुँ । हाम्रो दोस्ती भने काफे र बारका कफी गफहरूमा मौलायो । गर्मीको एक दिन, हामी समुन्द्री तटमा घुम्न गएका थियौँ । प्रेमी बनेर घर फर्किँयौँ । समुन्द्री तटको घुमाइ त बहाना थियो, हामीभित्रको एकआपसको माया त्यसअघि नै हुर्किसकेको थियो । समुद्री हावाले हामीलाई रोमान्टिक बनायो र मनको कुरा भन्ने अवसर दिलायो ।
त्यसको केही महिनापछि हामी सँगै बस्ने निर्णयमा पुग्यौँ । एउटै अपार्टमेन्टमा बस्दा खर्च पनि किफायती हुन्थ्यो । हाम्रो ‘लिभिङ टुगेदर’ को निर्णयलाई सुजानका अभिभावकले खुशीको रूपमा लिएको बताए, तर उनीहरूको ‘रिजर्भेसन’ म कहिलेकाँही महशुश गर्न सक्थेँ । यो सम्बन्ध टिकाउ हुँदैन भन्ने आसय धेरैमा पाइन्थ्यो । उनीहरू अन्तर्देशिय सम्बन्धका समस्याहरू छरपस्ट पस्कन्थे । यस्तो-उस्तो भए के गर्छौ? भनेर तर्साउँथे । तर हामीलाई मायाको डोरीले बाँधेको छ, बेस्करी ।

मेरो युनिभर्सिटी सकियो । भिसा थपिने संभावना कम हुँदै गयो । सुजानसँग बिहेका निम्ति मुख खोल्न सकिन । धेरैले सुजानको कान फुकेका थिए- त्यो नेपाली केटोले तँसँग कागज (रेसिडेन्सी कार्ड) को लागि सम्बन्ध बनाएको हो भनेर । सुजानका बाबु-आमालाई पनि त्यही पिरलो थियो । त्यसैले होला, सुजान मसँग भन्थी- ‘हामी सधैँ गर्लफेन्ड/ब्वाइफ्रेन्ड मात्र भएर बस्ने । बिहे नगर्ने है !’

म ‘हुन्छ’ भनीदिन्थेँ ।

मेरो विद्यार्थी भिसाको सीमा उसलाई राम्ररी थाहा थियो । एक दिन उसैले मसँग बिहेको कुरा गरी । त्यसपछि त हामी गर्लफेन्ड/ब्वाइफ्रेन्ड नरहने भयौँ, कानूनको नजरमा दम्पति हुने भयौँ ।

हामीले बिबाहको प्रकृया अगाडि बढायौँ । तर यस्तैउस्तै कुरा काट्नेका कारण बिहेको बारेमा हामी धेरै हल्ला नगर्ने पक्षमा छौँ । पछि, नेपाल गएर साँस्कृतिक बिहे गर्ने हाम्रो सोचाइ छ ।
मान्छेहरू भने अहिले पनि हामीसँग अनेकन् प्रश्नहरू गरिरहन्छन् । सम्बन्ध टिक्छ/टिक्दैन, सजिलो/असजिलो शंकालु प्रश्नहरू । यसरी शंकालु प्रश्नहरू गर्नेमा जर्मन मात्र होइन, नेपाली पनि प्रशस्त हुन्छन् ।

उसो त जर्मनीमा आधाभन्दा ज्यादा बिबाह ‘लाइफ लङ’ चल्दैनन् । त्यसैले हाम्रो बिहे मृत्युपर्यन्त चल्छ भन्नु अतिसयोक्ती हुनसक्छ । जे भए पनि हाम्रो बिहे एकआपसमा इमान्दार बनेरै भएको हो । पट्यारलाग्दा प्रश्न गर्ने कतिलाई म के जवाफ दिउँ ? म आफै अचम्मित हुन्छु ।