ध्वंसवादी प्रचण्डको नाम ‘कमरेड निर्माण’

Prachanda०४७ मा पार्टी एकता भएपछि ०४८ मङ्सिरको महाधिवेशनसम्म प्रचण्डको पार्टी नाम कमरेड ‘निर्माण’ थियो । करिब करिब सबैजसो नेता नै ध्वंसवादी (ध्वंस मात्र गर्न जान्ने, निर्माण गर्न नजान्ने) भएको देशमा अझ सबभन्दा धेरै ध्वंस गरेका प्रचण्डको नाम करिब दुई वर्षसम्म कमरेड निर्माण थियो भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ ।
महाधिवेशनअगाडि मशाल समूहमा पुष्पकमल दाहालको पार्टी नाम प्रचण्ड नै थियो । तर, सबैतिर ध्वंस र भताभुङ्ग देखेर तथा मैले निर्माण गर्न सक्छु भन्ने लागेर होला अथवा प्रचण्ड नाम चर्को उग्रवादी लागेर हुन सक्छ, प्रचण्डले नाम परित्याग गरेर ०४७ सालमा पार्टी एकता भएपछि कमरेड निर्माण राखे । निर्मल लामाले प्रचण्ड नामभन्दा पनि पुष्पकमल दाहाल अर्थात् सही नामबाट नै चिनाएर जानु उपयुक्त हुन्छ भन्ने सुझाव प्रचण्डसँग राखेका थिए तर प्रचण्डले निर्माण नाम राखे । यो निर्माण नाम ठीक छैन भनेर किरण, रवीन्द्र श्रेष्ठलगायतले असहमति जनाए । जनयुद्ध गर्न जाने हो भने निर्माण नाम हास्यास्पद हुने, बरु प्रचण्ड नाम नै सही हुने तर्क उनीहरूको थियो ।
०४८ को महाधिवेशनपछि कमरेड प्रचण्ड महासचिव बने । यसबेला प्रचण्ड ३७ वर्षका युवा नेता थिए, जब कि अहिले २०७० सालमा नेत्रविक्रम चन्द ‘विप्लव’ ४७ वर्षका र नन्दकिशोर पुन ‘पासाङ’ ४९ वर्षका भइसके । ३७ वर्षका प्रचण्डका अगाडि बडेबडे नेताहरू र नौजना भूतपूर्व महासचिवहरूलाई एउटै पार्टीमा राखेर नेतृत्व गर्नु सजिलो थिएन । प्रचण्डमा एकातिर आफू क्रान्तिकारी भएको अहमताबोध थियो भने अर्कोतिर युवा भएकोले हीनतावोध पनि थियो । यस्तै बीचमा उनले महाधिवेशनलगत्तै बसेको बैठकमा अर्को गल्ती गरे । सहरिया सङ्घर्ष गर्नका लागि भनेर निर्मल लामाको नेतृत्वमा केन्द्रीय सङ्घर्ष समिति बनाएर सङ्घर्षको नेतृत्व निर्मल लामालाई प्रचण्डले सुम्पे । एकातिर यो हीनताबोधको अभिव्यक्ति थियो भने अर्कोतिर अरूलाई अगाडि राखेर पछाडिबाट आफूले नेतृत्व गर्न खोज्ने चाणक्य प्रवृत्ति वा कृष्ण प्रवृत्ति थियो । यही चाणक्य प्रवृत्ति र हीनताबोधले गर्दा सङ्गठनात्मक रूपमा प्रचण्ड मुख्य नेता भईकन पनि पार्टीभित्र र जनतामा भने मुख्य नेताका रूपमा स्थापित हुन सकेनन् । चुनावमा संयुक्त जनमोर्चाका नामबाट भाग लिएकाले त्यसका संयोजक बाबुराम भने नेताका रूपमा स्थापित हुँदै गए भने अर्कोतिर पार्टीको केन्द्रीय सङ्घर्ष समितिको संयोजक निर्मल लामा बनाइएकाले (एकता केन्द्र)को नेता भनेर निर्मल लामा नै स्थापित भए । प्रचण्ड भने निर्मल लामा र बाबुरामका कार्यकर्ता मात्रै बन्न पुगे ।
 अर्जुन मल्ल