काजीबा जसले प्रचण्डलाई कम्युनिस्ट बनाए

Khamba-Shing-prachanda guru

प्रचण्डलाइ कम्यनिष्ट पार्टीको सदस्यता दिने व्यक्तित्व  हुन्-खम्बासिंह कुँवर अर्थात् काजीबा । धेरैले प्रचण्डको गुरू भनेर मोहन वैद्यलाइ चिन्छन् । यथार्थमा प्रचण्डको प्रथम कम्यनिष्ट गुरू हुन् – काजीबा ।

रोगले ग्रस्त शरीर । पिसाब नरोकिने अनि नशासम्बन्धी समस्याले हिँडडुल गर्न नसक्नु । यी समस्या अब सामान्य भइसके खम्बासिंह कुँवरका लागि । उनको तेजिलो चेहरा देख्दा लाग्छ– शरीरको रोगलाई मुहारको चमकले जितेको छ । अधिकांश समय उज्याला देखिन्छन् उनी, निरोगीजस्तै ।

‘काजी सा’प वा ‘काजीबा’ उनको क्रान्तिकारी नाम हो । क्रान्तिका योद्धाहरूबीच यही नामले चर्चित छन् । अहिले पनि खम्बासिंह कुँवरको पहिचान ‘काजीबा’ थपिएपछि मात्रै पूर्ण हुन्छ । ‘काजीबा’ अहिले पनि हरबखत क्रान्ति चिन्तनमै डुबिरहेका हुन्छन् । आफ्नो चिन्तनलाई सिद्धान्तले बलियो बनाउन माओ, लेनिन, स्टालिनजस्ता कम्युनिस्ट दार्शनिकहरूका पुस्तकमा दृष्टि सोझ्याइरहन्छन् । अनि, चिन्तित हुन्छन्– आफ्नै देशमा अघि बढेको क्रान्ति सोचे जसरी निष्कर्षमा पुग्न सकेन ।
मुलुकको परिवर्तनका लागि सञ्चालित क्रान्तिको सुरुआती दिनका प्रवर्तकमध्ये एक हुन्, काजीबा । २००७ सालदेखि भारतीय कम्युनिस्टबाट प्रभावित भएर नेपालमा पनि कम्युनिस्ट आन्दोलन प्रवर्द्धनको बाटो रोजेका थिए उनले । उनै काजीबाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई क्रान्तिको मार्गमा ताते गराए । अहिले प्रचण्ड शक्तिशाली नेता बनिसकेका छन् । तर, प्रचण्डमा निहित नेता बन्ने गुण चिनेर उनलाई कम्युनिस्ट पार्टीको साधारण सदस्यता दिने यी पथप्रदर्शकलाई चिन्ने व्यक्ति विरलै होलान् ।
२०३४ सालमा प्रचण्ड शिक्षक थिए । उनको पहिचान गोरखाको आरुघाटमा रहेको एक विद्यालय र त्यहीँका विद्यार्थीबीच मात्र सीमित थियो । त्यतिबेला नेपालमा कम्युनिस्ट पार्टीको सदस्यता विस्तार गर्ने अभियान तीव्र थियो । काजीबा सम्झन्छन्, ‘म गण्डक क्षेत्रको इन्चार्ज भएर गएको थिएँ । आरुघाटमा माक्र्सवादबारे प्रशिक्षण चलिरहेको थियो । शिक्षक पुष्पकमल पनि त्यहाँ पुगेका थिए । उनको क्षमता तथा नेतृत्व गर्नसक्ने गुण देख्दा मलाई लाग्यो– यिनले कम्युनिस्ट पार्टीलाई योगदान गर्न सक्छन् । त्यही बेला उनलाई कम्युनिस्ट पार्टीको सदस्यता दिएको थिएँ ।’
आफूले क्षमता चिनेको व्यक्तिले आज अध्यक्ष भएर सिंगो पार्टीकै नेतृत्व गरेकोमा काजीबा गौरव पनि गर्छन् । प्रचण्डले सदस्यता पाउँ भनेर दिएको निवेदनमा उल्लिखित बेहोरा उनको स्मरणमा अझै ताजै छ । सम्झन्छन्, ‘कम्युनिस्ट पार्टीप्रतिको लगाव अनि सदस्यता लिन चाहेको कारण सबै खुलाएर दाहालले निवेदन दिएका थिए । उनको व्यक्तित्व तथा सिर्जनशीलताले मलाई आकर्षित गर्‍यो । प्रस्ट निवेदन आएपछि अन्य कमरेडसँग पनि छलफल गरी सदस्यता दिएको हुँ ।’
चितवनको भरतपुरमा रहेको डेरामा बसेर खम्बासिंह आफ्ना शिष्यको राजनीतिक व्यवहार नियालिरहेका छन् । नेकपा माओवादीले सशस्त्र युद्ध हुँदै शान्तिप्रक्रियामा आएर सत्तासमेत सम्हालिसकेको छ । खम्बासिंह आफूले योग्य ठानेको बाटोमा हिँडेर देशकै मुख्य शक्ति बनेका प्रचण्डबारे अनावश्यक टिप्पणी गर्न चाहँदैनन् । चिन्तासहितको मुस्कान मुहारमा ल्याउँछन् । अनि, भन्छन्, ‘क्रान्तिको बाटो एक दिन अवश्य सफल हुन्छ ।’
खम्बासिंह प्रचण्डलाई ‘अग्रज नेता’ को उपमा दिन्छन् । तर, आफ्नो योगदानको कदर नभएकोमा चिन्ता परेजस्तो भान अलिकति पनि पर्न दिँदैनन्, मुहारमा । बरु, भन्छन्, ‘माओवादीको सक्षम नेतृत्वले जनताको वर्गीय समानताको चाहना पूरा गराओस् ।’
काजीबाको जन्मथलो लमजुङको बान्द्रे गाविस–७ हो, १९८४ साल अर्थात् ८५ वर्षअघि जन्मिएका । बाबुले डेढ वर्षमा छाडेर हिँडेपछि आमाको एकल अभिभावकत्वमा हुर्किए । उनले उति बेलाको गुरुकुल शिक्षा लिने मौका पनि पाएका थिए । तर, बाल्यकालदेखि नै स्वभाव भने क्रान्तिकारी थियो । उनी प्रस्ट्याउँछन्, ‘हामी बालनरसिंह कुँवरका सन्तान हौँ । त्यतिबेला नामको पछाडि ‘जंग’ जोड्ने चलन थियो । तर, मलाई मन परेन । गुरुबालाई ‘जंग’ हटाएर ‘सिंह’ राख्न लगाएँ । अन्तत: मेरो परिवारकै नामका पछाडि ‘जंग’ राख्ने चलन हट्यो ।’
क्रान्तिका सिद्धान्त नबुझ्दैदेखि परिवर्तनको बाटोमा लागिसकेका थिए खम्बासिंह । लमजुङ छाडेर परिवारसहित २०१५ सालमा चितवन झरे, सामान्य कृषकको जीवन बिताउन थाले । चितवन झर्नुअघि नै पहाडमा पखेरा खोस्रिएर हुने उब्जनीले परिवार धान्न नसकेपछि उनी भारत छिरेका थिए । भारत गएर सम्पत्ति कमाउने सोच थियो उनको । तर, त्यहाँबाट सम्पत्ति होइन, मुलुकको परिवर्तनका लागि क्रान्तिको सुन्दर सपना बोकेर पो फर्किए उनी ।
२०११ सालमा भारत छिरेका उनी त्यहाँ ‘स्पेसल अर्मान्ड फोर्स’ को जागिरे भए । त्यति बेला कमाइ राम्रो हुन्थ्यो । कामकै सिलसिलामा तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका महासचिव श्रीपाद अमृत डाँगेसँग उनको भेट भयो । डाँगे भन्थे, ‘सबै सर्वहारा वर्गको मुक्तिको बाटो सच्चा कम्युनिस्टले मात्रै खोल्न सक्छ ।’ डाँगेको त्यही सिद्धान्तले खम्बासिंहभित्र क्रान्तिको बीजारोपण गर्‍यो । परिवारमा खान/लाउनकै धौ–धौ भएर भारत पसेका उनी क्रान्तिको हस्ती बनेर निस्किए । आफूजस्तै सर्वहारावर्गको मुक्तिमा लाग्ने उद्देश्यले २०११ सालमा औपचारिक रूपमा भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएको उनी सुनाउँछन् ।
क्रान्तिको बिउ नेपालमा पनि उमार्नुपर्छ भन्ने बोध भएपछि उनी स्वदेश फर्किए । भारतबाट फर्किएपछि पाँच जना मिलेर कम्युनिस्ट पार्टीको झन्डा बोकेका थिए । उनको परिकल्पना थियो, ‘कार्लमाक्र्सले भनेजस्तै वर्गविहीन समाजको निर्माण ।’ अभियानलाई सार्थक बनाउन परिवारबाट टाढा रहेर भूमिगत बन्दै क्रान्तिको सन्देश बाँड्दै हिँडे । सात सन्तानको अभिभारा जीवनसंगिनी धीरा कुँवर एक्लैलाई सुम्पिएर सच्चा क्रान्तिकारी कम्युनिस्ट जन्माउन उनी नेपालका अधिकांश कुनाकन्दरा चहार्न थाले ।
जीवनको ऊर्जाकालमा उनले व्यक्तिगत प्रयोजनका लागि निकै कम मात्रै काम गरे । घरघडेरी, सम्पत्तिको मोह कहिल्यै पलाएन । न त आफूले रोजेको क्रान्तिको बाटो नै परिवर्तन गरे । उनीभन्दा पछि राजनीतिमा लागेकाहरूले पनि आर्थिक रूपमा गतिलै प्रगति गरिसके तर उनी अझै भरतपुरमा भाडाको कोठामै बस्छन् ।
नेपालमा कम्युनिस्ट पार्टीलाई संस्थागत गर्नेमध्ये एक हस्ती खम्बासिंह हुन् । उनको सक्रिय राजनीतिक जीवनमा कम्युनिस्ट पार्टी पटकपटक टुक्रिने र पुनः एक हुने भइरह्यो । उनी पनि आफ्नो विचार मिल्ने समूहतिर आकिर्षत हुँदै गए । अन्तत: माओवादी कार्यकर्ता बने । उनको जीवनको ऊर्जावान समय मुख्य गरी गण्डकी अञ्चलमा कम्युनिस्ट कार्यकर्ता उत्पादन र प्रशिक्षणमा व्यतीत भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहदेखि तत्कालीन चौथो महाधिवेशन, मशाल हुँदै अहिले उनी एकीकृत नेकपा माओवादीका केन्द्रीय सल्लाहकार छन् ।
क्रान्तिकारी बनेर सक्रिय रूपमा हिँडेको राजनीतिक जीवनकाल उनले भुलेका छैनन् । सम्झन्छन्, २०१८ सालमा कांग्रेसी भएको शंकामा सेनाको कब्जामा परेर झन्डै जीवन गुमेको थियो । त्यति मात्रै होइन, जनताका झुपडीमा कयौँपटक भोकै रात बिताएका अनुभव पनि उनले भुलेका छैनन् । संगठनभित्रका अन्तर्विरोधमा पटकपटक पुलको काम गरेर समाधान गराएका थिए उनले । यद्यपि पछिल्लो समयको अन्तर्विरोधपछि माओवादीमा आएको फुट भने उनले मिलाउन सकेनन् । सबै माओवादी कुनै दिन फेरि एक हुने आशा भने पालिरहेकै छन् ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्दाको दु:ख अनि यहाँका गरिब बस्तीको अभाव सबै बुझेका छन् खम्बासिंहले । पार्टीले महिनावारी दिने खर्चबाट उनले बस्ने कोठा र खाने व्यवस्थाको जोहो गर्दै आएका छन् । तिनै प्रचण्ड, जसलाई काजीबाले वर्गीय विभेद हटाउने नेतृत्व खडा गर्न अघि बढाएका थिए, आज उनी काठमाडौंमा करोडौंको सुविधासम्पन्न महलमा दिन बिताउँछन् । तैपनि, काजीबा अझै आफूले सुरुआत गरेको क्रान्तिले निष्कर्ष पाउने विश्वसमा छन्, ‘नेपालमा एक दिन सबै वर्ग एक भएको समाज अवश्य बन्नेछ ।’
– सौर्य