एकातिर मूलधारका नेपाली फिल्ममा नयाँ नयाँ खोज र प्रयोग भइरहेको छ भने अर्कातिर गुरुङ कलाकारहरू आफ्नो मौलिक संस्कृति जोगाउन सामुदायिक फिल्म बनाउन व्यस्त छन्।
उनीहरूको मुख्य उद्देश्य गुरुङ समुदायको मौलिक संस्कार, संस्कृति, भेषभूषाको संरक्षण र प्रचारप्रसार गर्नु रहेको सिनेमाकर्मी प्रीतम गुरुङ बताउँछन्। ‘गुरुङ गाउँबस्तीको संस्कृति, रहनसहन, भाषा, भेषभूषाको संरक्षण गर्न गुरुङ सिनेमा बनाइन्छ’, २२ वर्षदेखि गुरुङ चलचित्र क्षेत्रमा काम गर्दै आएका उनी भन्छन्, ‘गुरुङ समुदायको बाक्लो बस्ती भएको गाउँको ‘ल्यान्डस्केप’ खिचेर राख्दा सयौं वर्षसम्म सुरक्षित हुने भयो।
त्यहाँका लोपोन्मुख मौलिक गीतसंगीत जोगाउन पनि फिल्मले मद्दत गर्छ।’ विदेशमा काम गरेर पर्याप्त पैसा कमाएकाहरूले आफ्नो गाउँमा चलचित्र बनाएर विश्वव्यापीकरण गर्नु नै गुरुङ फिल्मको मुख्य उद्देश्य रहेको उनी बताउँछन्।
लगानी उठाउन विदेशमा च्यारिटी सो गर्नुपर्ने बाध्यता रहेको अर्का कलाकार वीरबल घले बताउँछन्। ‘गुरुङ युवा धेरै रहेका देशहरूमा च्यारिटी सो गर्योध भने लगानी उठ्छ’, उनले भने, ‘नेपालबाट मात्र त लगानी उठ्दैन।’ यस्ता चलचित्र विशेष गरी गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत लगायतका जिल्लामा सीमित रहने गरेका छन्। उनीहरूको बसोबास रहेको काठमाडौं, पोखरा, नारायणगढमा पनि गुरुङ चलचित्र प्रदर्शन गरिन्छ।
गुरुङ चलचित्रले व्यावसायिक कलाकार पनि उत्पादन गरेका छन्। प्रीतम, अनुता, रजनी, जनक, माओत्से, बलबहादुर गुरुङ र गमन घले व्यावसायिक कलाकारका रूपमा स्थापित भइसकेका छन्। ‘एक वर्षमा १०÷१२ वटा गुरुङ फिल्म बन्छन्’, निर्देशकसमेत रहेका प्रीतम भन्छन्, ‘अहिलेसम्म तीन सयभन्दा धेरै गुरुङ फिल्म बनिसकेका छन्। व्यावसायिक कलाकारलाई त भ्याइ नभ्याइ छ।’
दुबईमा काम गर्दै आएका स्याङ्जाका युवाले तयार गरेको ‘स्याङ्जाली ठिटो’ चलचित्र गुरुङको बाक्लो बस्ती रहेको गोरखा, कास्कीको ताङतिङ, पर्वतको भोर्लेहिले, स्याङ्जाको भीरकोट नगरपालिका-३ पखेरेगाउँमा र बयरघारी बजारमा प्रदर्शन गरिएको छ। प्रदर्शनीमा नायक प्रीतम गुरुङ, कलाकार तथा उत्पादनकर्ताहरू स्याङ्जाका खेम गुरुङ, मिलन गुरुङ, तिलक गुरुङ, इन्द्र गुरुङ, खममाया गुरुङ र वीरबल घले उपस्थित थिए।