तातोपानीमा दैनिक सुन समातिन्छ

अवैध रुपमा  खासाबाट काठमाडौ लैजान लागेको अवस्थामा चार किलो सुन सिमा प्रहरी कार्यालय तातोपानीले मंगलबार पनि बरामद गरेको छ। सोमबार मात्रै खासाबाट जंगलको बाटो हुँदै तातोपानीतर्फ आउँदै गरेका कान्छा शेर्पाको कम्मरबाट १३ किलो सुन समातिएको थियो।
मंगलबार दिउँसो यात्रु बसमा यात्रारत शुष्माक्षमावृत्ति गाविस–९ दोलखाका २५ वर्षीय दावासोनाम शेर्पाको साथबाट प्रहरीले चार बिस्कुट सुन बरामद गरेको हो । शरीरमा लुकाएर सुन पास गराउने प्रयास गरेका शेर्पालाई सिमा प्रहरी कार्यालयको चेकपोष्ट नजिकै बसबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपकराज खरेलले बताए। खरेलका अनुसार बरामद सुन र शेर्पालाई तातोपानी भन्सार कार्यालयको जिम्मा लगाइएको छ।
२०७० मंसिर १९ गते तातोपानी भन्सारमा नौ किलो सुन बरामद भए यता मगलबारसम्म १४ पटक गरी तातोपानीदेखि बाह्रबिसेसम्म मात्र ९८ किलो भन्दा बढी सुन बरामद भइसकेको छ। काभ्रेको धुलिखेल र राजधानीका विभिन्न ठाउँमा समेत तातोपानी नाका हुँदै अवैध रुपमा चिनबाट नेपाल भित्रिएका सुन बरामद भएका छन्।