बालबालिका बेचबिखनमा तिन पक्राउ

पैसाको लोभमा बालबालिका बेचबिखन गर्ने तिनजनालाई प्रहरीले पक्राउ गरेको छ | प्रकाउ पर्नेहरुमा सप्तरी सीतापुर–८ का ३१ वर्षीया रीता खड्का, झापा जलथल–८ की २९ वर्षीया पूजा पोखरेल र सप्तरी धरमपुर–८ की पुष्कर निरौला रहेका छन् | झापा जलथल–८ की पूजा पोखरेलले पैसाका लागि ३० जना बालबालिका भारत लगेर बेचेको स्वीकार गरेकी छिन् |

इलाका प्रहरी कार्यालय रानीको अनुसन्धानपछि कमिसन लिएर ३० बालबालिका बेचेको पोखरेलले स्वीकार गरेकी हुन् | बिक्री स्थलसम्म पुर्याएपछि एकजना बराबर रु एक हजारदेखि रु तीन हजार पाउने गरेको उनको भनाइ छ | सञ्चारकर्मीसँग कुरा गर्दै उनले ३० जना बालबालिकालाई भारत पुर्याइसकेको बताइन् | उनले नेपालबाट लिएर गएका बालबालिकालार्ई घरायसी काममा लगाउने गरेको दाबी गरिन् | काममा लगाएपछि भारतीय घरधनीले नेपालबाट बालबालिका लिएर जाने व्यापारीलाई प्रतिव्यक्ति मासिक एक हजार दिने गरेको उनको भनाइ छ |

एउटै व्यक्तिले तीन महिनाको अवधिमा ३० जनालाई भारतको राजस्थान पुर्याउनुले यसमा ठूलो गिरोह सक्रिय रहेको हुनसक्ने आशङ्का इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ओमप्रकाश खनालको छ |