उसो त एनआरएन संघका अभियन्ताहरू विदेशमा रहेका नेपालीको संख्या ६० देखि ८० लाखसम्म रहेको बताउँदै आएका छन्। यो तथ्यांकमा कति सत्यता छ? बहश कै विषय हो। जनगणना २०७८ को तथ्यांकअनुसार करिब २२ लाख नेपाली पक्कापक्की रूपमा विदेशमा छन्। बर्षेनी विदेशिनेको संख्या बढीरहेको हुँदा र नेपालका आधिकारिक तथ्यांकहरू अन्डर इस्टिमेट जस्तो देखिने हुँदा २०८० को अन्तमा आइपुग्दा झण्डै आधा करोड नेपाली विदेशमा रहेको कुरामा धेरैले शंकाको सुविधा दिन्छन्।
नेपाल छोडेर विदेश जानेको संख्या दिनानुदिन ठूलो छ। २०६८ को जनगणनाको तथ्यांकअनुसार २१ लाख ९० हजार ५ सय ९२ जना विदेशमा बस्दै आएको देखिन्छ। यसमध्ये पुरुष १७९९,६७५ (८२.२ प्रतिशत) र महिला ३,९०,९१७ (१७.८ प्रतिशत) छन्। २०६८ को जनगणनामा १३ लाख ७८ हजार ६७८ (२५.४ प्रतिशत) परिवारहरूका १९ लाख २१ हजार ४ सय ९४ जना विदेश गएको तथ्यांक थियो।
बिदेसिनेमध्ये सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट १९.२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशबाट ४.३ प्रतिशत छन्। प्रदेशगत रूपमा विदेश गएका कुल संख्यामध्ये महिलाहरूको संख्या बागमती प्रदेशको २९.६ प्रतिशत र मधेस प्रदेशका ३.९ प्रतिशत छ।
जिल्लागत आधारमा हेर्दा ७७ वटै जिल्लाबाट बिदेसिएका छन्। परिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्ने) सबैभन्दा बढी भएका ५ जिल्लाहरूमा काठमाडौं, कैलाली, झापा, रूपन्देही र मोरङ छन्। ती जिल्लाबाट कम्तिमा ७० हजारभन्दा बढी व्यक्ति विदेश गएको देखिन्छ। यसैगरी विदेश कम जानेमा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ छन्।
बसाइँसराइका मुख्य कारण हुन्- शिक्षा, स्वास्थ्य, सहजता र रोजगारी।
महानगरको अवस्था
नेपालमा ६ वटा महानगर पालिका छन्। जसमा ३ वटा तराई र ३ वटा पहाडमा छन्। काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, वीरगन्ज र विराटनगर नेपालका महानगर हुन्। काठमाडौं महानगरपालिकाको पछिल्लो जनसंख्या ऋणात्मक देखिएको छ। काठमाडौं महानगरको जनसंख्या १.१८ प्रतिशतले घटेको छ। तथापि नेपालकै सबैभन्दा धेरै जनसंख्या भएको महानगरपालिका काठमाडौं नै हो। त्यसपछि पोखराको जनसंख्या धेरै छ। २.३३ प्रतिशत जनसंख्या पोखरा महानगरमा बढेको छ। जनगणना २०७८ अनुसार पोखरा महानगरको जनसंख्या ५ लाख १३ हजार ५०४ छ।
यस्तै तेस्रो धेरै जनसंख्या भएको महानगर भरतपुर हो। भरतपुरको जनसंख्या ३ लाख ६९ हजार २६८ छ। यहाँको वृद्धिदर २.१४ छ। ललितपुर महानगरको वृद्धिदर पनि धेरै छैन। महानगरभित्र खाली जग्गा नै नभएकाले वृद्धिदर नदेखिएको विज्ञहरू बताउँछन्। ललितपुर महानगरको जनसंख्या २ लाख ९४ हजार ९८ छ भने वृद्धिदर ०.३० छ।
काठमाडौं र ललितपुरको जनसंख्या उस्तै देखिनु, तर पोखरा र भरतपुरको उल्लेखनीय रूपमा बढ्नुको कारण स्वभावतः यी महानगरपालिकहरूको सीमा हेरफेर पनि हो।
यस्तै वीरगन्ज महानगरको जनसंख्या २ लाख ७२ हजार ३८२ छ। वीरगन्जको बृद्धिदर १.१८ प्रतिशत छ। सबैभन्दा कम जनसंख्या भएको महानगर भने विराटनगर हो। यहाँको जनसंख्या २ लाख ४३ हजार ९२७ छ भने वृद्धिदर १.२३ प्रतिशत छ। काठमाडौं र ललितपुर बाहेकका ४ वटै महानगरको वृद्धिदर मुलुकको औसत वृद्धिदरभन्दा बढी छ। यो तथ्यांकले महानगरहरूमा बसाइँसराइको प्रभाव अत्याधिक रहेको स्पष्ट पार्छ।
जनसंख्या वृद्धि दरमा कमी
नेपालमा जनसंख्या वृद्धिदरमा कमी देखिएको छ। जनसंख्याको अहिलेको (२०७८ को) वृद्धिदर ०.९२ प्रतिशत मात्र छ। २०३८ मा नेपालको जनसंख्या वृद्धिदर २.६२ प्रतिशत थियो। २०४८ मा २.०२, २०५८ मा २.२५, २०६८ मा १.३५ प्रतिशत थियो।
गाउँबाट सहर र सहरबाट विदेश
गाउँ छोडेर युवाहरू सहर आए। तर, त्यहाँ पनि उनीहरूले सोचेजस्तो नभएपछि बिदेसिएका छन्। शिक्षालाई रोजगारीसँग जोड्न राज्यले कुनै योजना नबनाएका कारण सहरमा युवाहरू विदेशिएका छन्।
विदेशबाट केही युवाहरू फर्किएर पनि आएका छन्। तर, उनीहरू यहिँ बस्ने वातावरण नभएको अध्ययनमा देखिएको छ। फर्किएर आएका पनि पुनः फर्कने योजनामा नै देखिन्छन्।
मानवीय स्वभाव नै हो सुखको खोजमा बसाइँ सर्नु। मान्छे उही ठाउँमा बस्नका लागि आशाको दियो बलिरहनु पर्छ। अन्यथा बसाइँसराइँ गरी विदेशिनेको संख्या रोकिँदैन।