जनजाति आन्दोलन र डायस्पोराबाट हैंसे

nepal villageलामो समयपछि एक पुराना मित्रसँग भेट भयो । हाम्रो पुरानो दोस्तीताका उनी निकै चल्तापुर्जा थिए, अहिले पनि उस्तै रहेछन् । उनको सोच भने बेस्करी फेरिएछ । उनी जातिवादी आन्दोलनमा लागेका रहेछन् । उनका थुप्रै तर्कहरू रमाइला लागे । मित्रको सोचन कला परिवर्तन भएकोले पनि रोमान्चित बनायो । उनका कथनका ३ तर्क यस्ता थिए-
१- पृथ्वीनारायण शाहले राज्य एकिकरणको नाममा अन्य जनजातिको पहिचान र सँस्कृतिमा धावा बोले ।
२- राज्यको हरेक निकायमा खस जातिको पहुँच र वर्चश्व छ । त्यसैले खस जाति शोषक हुन भने अन्य जातिहरु सबै शोषित छन ।
३- अन्य जनजातिले सकी नसकी/जानी नजानी खस भाषामा बोल्नु पर्छ,लेख्नु पर्छ । यो पनि शोषण हो ।
उनको मर्मले तत्कालै मलाइ मर्माहत बनायो । एक कोणबाट हेर्दा उनी भयानक रूपमा पिडित बनाइएका छन् ।
कुराले मोड लियो र मर्मलाई हेर्ने कोण पनि फेरियो । कुरा भए- पुराना दुःख-सुख र व्यवहारिकताका ।
पुराना लाहुरेका पुत्र यी मित्र अहिले युरोपमा बस्छन् र यतै रमाएका छन् । यता युरोपको कुरा गर्दा यतैका समस्या छन् ।
युरोपमा नेपालीहरूको बसाइँ उच्च जीवनस्तरको रहरमा थुप्रै बाध्यताहरूले थिचिएको छ । सन्ततिहरूमा यतैको भाषा र चालचलनप्रतिको मोह छ । जुन झ्वाट्ट हेर्दा स्वाभाविकै लाग्छ ।
मेरा मित्रको घरपरिवारको अवस्था देख्दा मलाइ लाग्यो-
– नयाँ पुस्ता नेपालको पहिचान र सँस्कृतिबारे उदासिन छ । अभिभावक पनि यताको यस्तै आवस्यकता भन्ने ठान्छन् ।
– राम्रो ठाउँमा गोरे जातिको पहुंच र वर्चश्व छ । नेपालको भन्दा आर्थिक जीवनस्तर राम्रै भए पनि यताको हालत भने दोस्रो दर्जा कै नागरिकहरूको जस्तो छ ।
– अँग्रेजी अन्तर्राष्ट्रिय भाषा भएपछि यसैमा भविष्य छ । यसैलाई अपनाउनुपर्छ ।
सबै कुराको आ-आफ्नै पक्ष हुन्छ भन्छन् । कोही स-साना कुरा मै हराइरहेका हुन्छन् । कोही बृहद अवलोकन गर्छन् । मेरा मित्रको नेपालका बारे आफ्नै गुनासा छन् तर फिरीङ्गीको देशमा छुट्टै वास्तविकता छ । सरसर्ति हेर्दा उनको विचारमा दोहोरो मापदण्ड देखिन्छ । तैपनि पिडीतको कुरा सुन्नै पर्छ । त्यसमा पनि पुराना मित्र । सबैले व्यापक दृष्टि राखेर व्यवहारमा उतार्छ भन्ने छैन । यो संसारमा सबै प्राज्ञ हुन पनि सक्दैनन् । त्यसैले त डेमोक्रेसीमा भद्रगोल पनि बेस्करी हुन्छ ।
– हिमाल शर्मा