जर्मनीमा जम्मा हुने भए कलाकार तथा साहित्यकारहरु

अप्रिल ३ र ४ मा जर्मनीको बोखुम शहरमा युरोपका कलाकार र साहित्यकारहरुको बिशाल भेला हुने भएको छ। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) ले आयोजना गर्न लागेको तेश्रो युरोप महादेश स्तरीय कार्यक्रममा कलाकार साहित्यकारहरुको धेरै ठूलो सहभागिता हुने भएको हो।

 

कार्यक्रमको तयारी लगभग पूरा भैसकेको जानकारी आयोजक पक्षले दिएको छ। दुई दिन सम्म लगातार चल्ने कार्यक्रमको पहिलो दिन अप्रिल ३ तारिक कलाकार समाजको तेश्रो युरोप महादेश स्तरीय भेला हुने र अप्रिल ४ तारिक युरोप स्तरीय नेपाली एकल नृत्य प्रतियोगिता, साहित्य वाचन, कलाकार र साहित्यकारहरुको अन्तराष्ट्रिय सम्मान र इनास फिल्म अवार्डको तेश्रो संस्करणको लागि छानिएका नेपाली चलचित्रहरुको नामावली सार्वजनिक गरिने आयोजक इनास युरोपले जनाएको छ।

 

युरोप महादेशमै बिशाल कार्यक्रमको रुपमा आयोजना गर्न लागिएको कलाकार समाजको तेश्रो सस्करणको युरोप महादेशस्तरीय कार्यक्रममा जर्मनी, बेल्जियम, युके, होल्याण्ड, स्विजरल्याण्ड, पोल्याण्ड, इटाली, स्पेन, आयरल्याण्ड, चेक रिपब्लिक लगायतका युरोपका अन्य विभिन्न देशहरुबाट सहभागीता हुने बताइएको छ ।