जनसम्पर्क अमेरिका कस्को पकडमा जाला ?

जनसम्पर्क समिति अमेरिकाको आगामी नेतृत्वका लागि आधा दर्जनले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन्। आधा दर्जनको उम्मेदवारी तयारीसँगै एकताको अधिवेशन सबैलाई एकतावद्ध बनाउनेमा विश्वास गर्नेहरु भेटिएका छैनन्। नोभेम्बर २२ र २३ मा टेक्ससको डालसमा हुने अधिवेशनका लागि अहिले अमेरिकामा रहेका कांग्रेसमा कार्यकर्ताहरु प्रचार प्रसारमा लागिसकेका छन्। आगामी नेतृत्वमा लागि सबैभन्दा अगाडि देखिएका आनन्द विष्ट यतिखेर दौडाहामा छन्। उनले यसै साता अधिवेशनस्थल डालस पुगेर स्थानीय कांग्रेसका कार्यकर्ताहरुसँग छलफल समेत गरिसकेका छन्। विष्टको पछिपछि वर्तमान अधिवेशन आयोजक समितिको संयोजक विष्णु सुवेदीले पनि टेक्सस पुगेर उम्मेदवारी घोषणा गरेका छन्।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। स्रोतका अनुसार अहिलेसम्म जनसम्पर्क समितिको सभापतिमा विष्ट, सुवेदीका अतिरिक्त प्रमोद सिटौला, अर्जुन बञ्जाडे र कृष्ण लामिछाने प्रचारमा लागिसकेका छन्। तर प्रतिस्पर्धा भने विष्ट र सुवेदीकै बीचमा हुने चर्चा अमेरिकामा रहेका कांग्रेसी कार्यकर्ताहरुले गरेका छन्।

विष्ट जनसम्पर्क समिति अमेरिकाका संस्थापक संयोजक हुन् । सन् २००४ देखि निरन्तर सकृय विष्टलाई वर्तमान प्रधानमन्त्री सुशील कोइराला विगतमा विरामी भएर न्यूयोर्क आउँदा पालनपोषण गर्ने व्यक्तिमा रुपमा धेरैले चिन्छन्। तर स्रोतका अनुसार अहिले विष्टलाई कांग्रेसको संस्थापक र देउवा दुबै खेमाले पाखा लगाउने काम गरेका छन्। संस्थापन पक्षले देउवा पक्षको मान्छे भन्ने आरोप लगाएको छ भने विगतमा कोइरालालाई न्यूयोर्कमा राखेका कारण देउवा पक्षले कोइराला पक्षको भन्ने आरोप लगाएको छ। तर कांग्रेसवृत्तमा भने अमेरिकामा रहेका नेपाली कांग्रेससँग निकटहरुलाई एकजुट बनाउनसक्ने व्यक्तिका रुपमा उनलाई लिइन्छ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका सुवेदी वर्तमान अधिवेशन आयोजक समितिमा संयोजक छन् । झण्डै दुई बर्षसम्म अधिवेशन गराउन नसकेर तदर्थकै रुपमा समितिलाई राखेको आरोप उनलाई कांग्रेसकै कार्यकर्ताहरुले लगाएका छन्। गत महिना प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आएको समयमा तस्विर खिचेर सार्वजनिक गरेपछि उनी विवादमा परेका छन्। प्रधानमन्त्रीले शरिरको भित्री भागमा हात घुसाएर कन्याइरहेको तस्विर त्यतिखेर खिचेर सार्वजनिक गरिएको थियो।

यो अधिवेशनबाट चयन हुने २१ सदस्यिय जनसम्पर्क समितिमा १६ जना निर्वाचित हुनेछन् । अध्यक्ष सहित दुई उपसभापति, महासचिवको समेत निर्वाचन हुने भएको छ । अहिलेसम्म कसैले पनि औपचारिक रुपमा महासचिवमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।

पहिलेदेखिनै फुट र जुटको विवादमा पर्दै आएको यहाँको कांग्रेसी संगठनको अधिवेशनपछि एकजुट हुने अपेक्षा लिएर झण्डै पाँचसय नेपाली आउँदो दुई सातापछि डालसमा भेला हुँदैछन्। अमेरिकाका बिभिन्न राज्यबाट नौसय प्रतिनिधि छनौट भएतापनि व्यक्तिगत व्यस्तताले गर्दा पाँचसयको मात्र सहभागिता रहने अपेक्षा आयोजकको छ।