खड्काको निधनप्रति प्रधानमन्त्री कोईरालाद्वारा दुःख व्यक्त

प्रधानमन्त्री सुशील कोइरालाले संबिधान सभाका सदस्य हरिबहादुर  खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन्। बुधवार दुर्घटनामा परी घाइते भएका सभासद खड्काको उपचारको क्रममा आइतवार निधन भएको थियो।

सोमवार विज्ञप्ती निकालेर कोइरालाले दुर्घटनापछि सभासद खड्काको उद्धार, जीवनरक्षा, तथा स्वास्थ्योपचारको लागि प्रयास गर्दागर्दै ज्यान गएको भन्दै कोइरालाले त्यसपछि दुःख व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीले जारी गरेको विज्ञप्तीःSushil-Koirala

बाग्लुङ् क्षेत्र नं १ बाट संविधानसभाको सदस्य पदमा निर्वाचित नेपाली कांग्रेसका सभासद् एवं नेपाली कांग्रेस बाग्लुङ् जिल्ला कार्य समितिका सचिव हरि खड्काको आइतबार साँझ असामयिक निधन भएको दुःखद खबरले मलाई स्तब्ध बनाएको छ । यस दुःखद् घडीमा उहाँको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुखःद घडीमा शोकसन्तप्त परिवार र स्वजनहरुप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु।
दुर्घटनाको खबर मेरो जानकारीमा आउने वित्तिकै उहाँको उद्धार, जीवन रक्षा र स्वास्थोपचारका लागि तुरुन्त कदम चाल्न मैले निर्देशन दिएको हुँ । स्वजनहरु, नेपाल सरकार र नेपालका उत्कृष्ट चिकित्सकहरुले उहाँको जीवन रक्षाका लागि भगीरथ प्रयास गर्दागर्दै उपचारको क्रममा उहाँलाई गुमाउन पर्दा मलाई अत्यन्त दुःख लागेको छ ।

संविधान निर्माणको निर्णायक घडीमा राष्ट्रियता ,लोकतन्त्र,समाजवादप्रति समर्पित आफ्नै पार्टीका सहयोद्धा गुमाउन पर्दा म वेदनाले मर्माहत भएको छु । यसले परिवारका सदस्यहरु जत्तिकै मलाई दुखित बनाएको छ । उहाँको निधनले समस्त लोकतन्त्रवादीलाई गहिरो चोट पुगेको छ । यस दुःखद् घडीमा उहाँप्रति पुन श्रद्धा सुमन अर्पण गर्दै समस्त शोक सन्तप्त परिवारजन र स्वजनहरुलाई भगवानले धैय धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामनाका साथ उहाँका सपना साकार पार्न आ–आफ्नो स्थानबाट मन,वचन र कर्मले सहयोग गर्न सबैलार्ई म हार्दिक अपील पनि गर्दछु ।

जय नेपाल !
२२ मंसिर २०७१