एक गाउँबाट बर्षमा एक करोड मूल्यको सुन्तला निकासी

व्यावसायिक रुपमा सुन्तला खेतीमा लागेका पाल्पा जिल्लाको पश्चिमी भेग छहरास्थित अमलाबास गाउँका सबै किसानको बगैंचाबाट सुन्तला बिक्री गरेर Orangeएक वर्षमा एक करोड मुल्य पर्ने सुन्तला निकासी भएको छ| सुन्तला, जुनार, अमिलो जस्ता फलफुलबाट गाउँलेले एक वर्षमा करोड आम्दानी गर्ने स्थानीय सुन्तला किसानहरुले बताएका छन्|

अमलाबास गाउँभित्र रहेका ३५ घरधुरी सबैले मकै खेती छाडेर सुन्तला, जुनार, अमिलो खेती गरेका छन् | ३५ घरपरिवार मध्ये १० घरपरिवारले सुन्तला बिक्री गरेर वार्षिक चार लाख भन्दा बढी र अन्य २५ परिवारले वार्षिक एक लाख देखि दुई लाख रुपियाँसम्म आम्दानी गर्छन् |
अहिले यहाँका किसानले एक घरले ५० देखि सात सय सुन्तलाका बिरुवाबाट आम्दानी लिईरहेको उनीहरू बताउँछन् | यसैगरि जुनार, मुन्तला, अमिलो खेतीले पनि यहाँका किसानलाई आम्दानी दिईरहेको छ भने यहीबाट वार्षिक ५० हजार बढी सुन्तलाका बिरुवा बाहिरी जिल्लामा जाने गरेको छ| किसानले घरमा भएको सुन्तलाको एक बोटले कम्तीमा ३० किलोदेखि डेढ क्वीण्टलसम्म दाना दिइरहेको छ |
सुन्तला तथा जुनारको बजार भाउ राम्रो भएकाले पनि किसानको आम्दानी बढेको उनीहरूको भनाई छ | यहाँका किसानले उत्पादन गरेको सुन्तलाजन्य फलफुल तानसेन तथा बुटवलका बजारमा प्रतिकिलोको थोकमा ३० देखि ४० रुपियाँ बगैंचाबाटै बिक्री गरेको विष्णुमाया भण्डारीले बताईन|
वि.स. २०४२ सालदेखि केही किसानले दुईचार वटा सुन्तलाका बोट ल्याएर सुन्तला खेती सुरु गरेका यहाँका किसानले २०५५ सालदेखि व्यावसायिक खेती थालेका हुन् | पहिले एक दुई घरले मात्र व्यावसायिक खेती गरेकोमा आम्दानी राम्रो भएपछि सबैले मकै नलगाई सुन्तला, जुनार तथा अन्य फलफुल लगाउन थालेको किसानहरु बताउछन| मकैं खेतीबाट हुने आम्दानीको तुलनामा दश गुणा सुन्तला खेतीबाट फाइदा लिन सकेको उनीहरुको भनाई छ|
सुन्तला खेतीबारेमा तालिम तथा शिक्षा नलिए पनि यहाँका किसानहरू अहिले सुन्तला खेतीमा पोख्त भईसकेका छन् | सुन्तला खेती कसरी गर्ने कसरी फाइदा लिन सकिन्छ भनेर १५ देखि २० वर्षसम्मको अनुभवले राम्रो पाठ सिकाएको उनीहरूको भनाई छ |
अहिले जीप तथा बसको हुट(क्यारियर) हटाउदा भने सुन्ताला किसान मर्कामा परेका उनीहरूको गुनासो छ | गाउँमा उत्पादन भएको सुन्तला बजारसम्म ल्याउनका लागि सवारी पाउन मुस्किल हुँदा समस्या भएको किसानको गुनासो छ|