एन. आर. एन. सँघको पछाडि भारतीय गुप्तचर ?

एन. आर. एन. सँघलाई टुक्राउन भारतीय गुप्तचर लागीपरेका हुन् ?

गैरआवासीय नेपाली (एन. आर. एन.) सँघलाई टुक्राउन भारतीय गुप्तचरहरू लागीपरेको कुरा सँघका महासचिव डा. हेमराज शर्माले हालै एउटा लेखमा उल्लेख गरेका छन् । उनको कथन छ- यो विषय अतिरञ्जित लाग्ला तर शंका गर्न मिल्ने संकेत देखिएका छन् । केही मान्छेहरू यसको निम्ति प्रयोग भइरहेका छन् ।

महासचिवको यो रहस्योद्घाटनमा कति दम छ ? महासचिव जस्तो पदाधिकारी ( जो आफै पूर्व अध्यक्ष जीवा लामिछानेको पालामा प्रवक्ता हुनुहुन्थ्यो) बाट व्यक्त चिन्ताले संस्थाको क्षयीकरणलाई खुलेआम स्वीकार गरेको छ र संस्थाको सुदूर भविष्यप्रति अनिश्चयको छायाँ झल्कन्छ ।

र, अचम्मको कुरा त महासचिवले यस्तो संवेदनशील कुरा बोलीरहँदा खासै ठूलो चिन्ता र चर्चा भएन । मेरो आशय, जुन घनत्वमा हुनुपर्थ्यो, भएन । महासचिवले यति गंभीर कुरा उठाउँदा एनआरएन वालाहरू चाहिँ तुच्छ कुराहरू मै अल्झीरहेका छन् । अर्थात्, आउँदो चुनावमा पद हत्याउने ध्याउन्न ।

शर्माको यो सुषुप्त-बोध तुष पक्कै होइन ।

उसो त सँघ आफै आपसी गलफत्तीमा रूमल्लीरहेकोले यो आरोप कोप्रति लक्षित छ भन्ने अन्दाज सँघको खिचलो बुझक्कडहरूका निम्ति त्यति अमूर्त पनि नलाग्ला। तर यो मित्र मण्डली र इतर मण्डलीको खेलभन्दा पर संस्थाको आयुसँग जोडिएको प्रसङ्ग हो ।

त्यसैले म यसलाई विस्मयी नजरले हेर्दैछु । तसर्थ मेरो मनमा यक्षप्रश्न तरङ्गित भएको छ- के एन. आर. एन. सँघको हालत धुलाम्य बादलमुनि भिजेको कुखुरा जस्तो भएको हो ? एन. आर. एन. सँघ टुक्राउने भित्री खिचडी पाकीरहेको छ ?

किनभने डा. शर्माले एनआरएन नेतृत्वको मनोविज्ञानबारे भनेका छन्- ‘उच्च नेतृत्वमा बस्नेको  त्रास छ- मेरो पालामा संघ फुट्छ कि ?’

निर्वाचनमा हार्नेहरूले सँघ फुटाउने धम्की दिने गरेको उनको गुनासो छ । र यस्तो धम्कीसँग अहिलेको नेतृत्व लाचार देखिन्छ । यसका अनेक आयाम छन् ।

सन् २००३ मा स्थापना भएको सँघको पहिलो दशक गरिमामय रह्यो । वास्तवमा शेष घलेको नेतृत्वसम्म सँघको गरिमा तेजस्वी नै रह्यो । त्यसपछि खस्कने क्रम शुरू भएको हो । यसबीच यो संस्था ८२ देशमा विस्तार भएर पनि यसका पुरानो मानसिकता भएका पदाधिकारीहरुको मनोविज्ञान परिवर्तन हुन  सकेन । फलतः एउटा आशलाग्दो संस्थाको हविगत नेपालको एउटा परम्परागत पेशागत संगठनको ठेट रूपान्तरण जस्तो हुन गयो ।

यो संघको क्षणभंगुर आलोचनाको कुरो होइन, दीगो अस्तित्वको सवाल हो ।

उसो त भन्नलाई राष्ट्रले गैरआवासीय नेपालीहरुको क्षमता भन्दा बढी अपेक्षा गर्नु र संघले आफ्नो औकातभन्दा बढी प्रतिबद्दता जाहेर गर्नाले संघले आलोचना खेप्दै आएको भन्ने गरिन्छ । तर यसको नेतृत्वले यो न्यारेटीभ दिन थालेको पनि ५/६ वर्ष भैसक्यो । यस्तै बहाना रटीरहने थोत्रो रेकर्डले कति दिन वा वर्ष धकेल्न सक्छ ? महासँघको प्रकृति सुहाउँदो अल्पकालिन र दीर्घकालिन कार्यक्रमहरू नल्याउने, अनि स्थापनाकालका एजेण्डाहरू मै हराउने कारणले सँघ दलदलमा फँसेको तथ्यलाई यसका पदाधिकारीहरूले आत्मसात गरेका छैनन् । संस्थामा प्रबुद्ध विज्ञहरू समाहित हुन सकेका छैनन् । समाहित हुन खोज्नेहरू पनि यहाँभित्रको गोर्खाली राजनीतिको चेपमा परेर भूमिका खेल्न नपाएर आफै तर्किएका छन्  । त्यो किनभने पैसा र राजनीति जब बोल्छ, विज्ञ र बुझक्कडहरू चूप लाग्छन् । पैसा र सस्तो राजनीतिले २/४ जना डाक्टर सापहरूलाई समेट्न त सकिएला, तर त्यसले संस्थाको नेतृत्व अलंकृत मात्र गर्छ, संस्था फेरिन्न ।

राजनीतिक ध्रुविकरण र पैसाको भरमा सँघमा वर्चस्व जमाउने, सिमित घेरामा टापटुपे पाराले सँघ चलाउने र संघबाट फाइदा लिनेहरुको गोलचक्करमा समझदार र विचारशील तप्का नेपालमा पनि निरिह छ । र, त्यही सरूवा रोगले एन. आर. एन. सँघलाई ग्रसीत बनाएको छ । एन. आर. एन. सँघको अहिलेको नेतृत्वलाई हेर्यो भने पनि केही अपवादबाहेक सबै एन.आरएन. सँघसँगको आबद्धता र त्यसको पदको पसल थापेर फाइदा लिनेहरू कै अनुहारले भरिएको छ । अझ दुक्का तिर्की त मानव तस्करीमा कुख्यात भैसकेका पनि छन् । यीनीहरूबाट नयाँ भिजन, नवीन विशेषण र बृहद् डायस्पोरिक सँस्था सुहाउँदो दीर्घकालिन कार्यक्रमहरूको आशा गर्नु अत्यधीक अपेक्षा हुन्छ ।

उसो त यसअघि केही प्रयास गर्न नखोजिएको होइन । शेष घलेले आफ्नो कार्यकालमा ‘भिजन २०२० एण्ड बियोण्ड’ को अवधारणासँगै संस्थाको आर्थिक दीगोपनका निम्ति केही कार्यक्रमहरू ल्याउन खोजेका थिए । तर त्यतिखेर संस्थापकहरूबीच मै मतैक्य हुन सकेन र पछि त्यो गुटगत र जातिगत राजनीतिको शिकार भयो । अहिले २०२१ मा आइपुग्दा पनि भिजन भएन भन्ने सुगा-रटाई भन्दा अरू प्रगति केही हुन सकेको छैन ।

पछिल्लो समयमा सँघले केही आशलाग्दो अन्तर्राष्ट्रिय संबद्धता र सहकार्य बढाउने अवसर बनाएको थियो ।  संयुक्त राष्ट्रसंघ अन्तर्गतको  अन्तर्राष्ट्रीय श्रम संगठन (आईएलओ) बाट प्राप्त १० करोड रूपैयाँको कार्यक्रमले मध्यपूर्वका हजारौँ श्रमिकहरु लाभान्वित हुने कार्यक्रमको पहल भएको थियो। तर संघका यीनै लोभीपापी प्रवृत्तिले आईएलओसँगको सहकार्य विवादस्पद बनेको छ । आईएलओको सहयोगले एन. आर. एन. सँघले माछो मार्यो की भ्यागुतो ? अहिले आईएलओले नै हिनामिनाको छानविन गर्दैछ । जुन एनआरएन सँघको छवि धूमिल बनाउने काम बाहेक केही होइन ।

८२ देशमा विस्तारित, संगठीत र एउटै नेतृत्वमा ब्यापक रूपमा परिचालित  डायस्पोरिक संस्था यो संसारमा दुर्लभै छन् ।  नेपाल राष्ट्र र प्रवासी नेपालीहरूका निम्ति यो ठूलो पुँजी हो । प्रवासी तन र नेपाली मनको समजोड हो, एन. आर. एन. सँघ । यति बृहद् र संभाव्यता बोकेको संस्था उँभो लाग्नु पर्ने हो । तर नेपालीहरूको नियति बारम्बार यस्तै हुने गर्छ ।

नेपालमा धेरै क्रान्ति भए तर आर्थिक क्रान्ति हुन सकेन । प्रवासमा नेपालीहरू इमानदार र मेहनेती भनेर प्रसिद्ध छन् तर प्रवासी संस्थाहरू अव्यवस्थित र पिछडीएको मानसिकताबाट संचालित छन् । हामीहरू भूपि शेरचनले भने जस्तै वीर त छौं, तर बुद्धू छौं । एन. आर. एन. सँघको सन्दर्भमा भन्दा, वीरतापूर्वक संस्था स्थापना  गरेर उठान त भयो तर बुद्धू व्यवस्थापनले संक्रमित भयो । र अहिले संस्था फुटाउने आन्तरिक धम्कीदेखि बाह्य रूपमा भारतीय गुप्तचरहरूसम्मको चलखेलले यसको नेतृत्व रूपमा बडेमानको भए पनि सारमा भिजेको कुखुरो जस्तो भएको छ । कतै ‘हाच्छ्यूँ’ मात्र सुन्दा पनि तर्सिन्छ ।

अचम्मको कुरा त महासचिवले यस्तो संवेदनशील कुरा बोलीरहँदा खासै ठूलो चिन्ता र चर्चा भएन । जुन घनत्वमा हुनुपर्थ्यो, भएन । महासचिवले यति गंभीर कुरा उठाउँदा एनआरएन वालाहरू चाहिँ तुच्छ कुराहरू मै अल्झीरहेका छन् । अर्थात्, आउँदो चुनावमा पद हत्याउने ध्याउन्न ।

भैगो, परोपकारी कामहरूको पक्षलाई अहिले यहाँ चर्चा नगरौं । कसैले यसबाट धेरै आशा गर्ने, कसैकसैले आफू नेतृत्वमा हुँदा सबै ठिक आफू नेतृत्वमा नहुँदा सबै बेठिक भनेर दुष्प्रचार गर्ने र कसैले यसलाई व्यक्तिगत प्रगतिको सिँढी मात्र ठान्नाले आशातीत काम गर्न नसकेको यथार्थलाई पनि थाँति राखौं । अक्षम पदाधिकारीहरू पनि अस्थाई समस्या हुन् भनी मानी दिऊँ । यी सबै कुरालाई सकेन्डरी मानिदिउँ, किनकी संस्थाको अस्तित्व प्राइमरी हुन्छ ।

एनआरएनएको आलोचना गर्ने ठाउँ धेरै होलान् तर अहिलेसम्म भए-गरेका प्रयास र प्राप्त उपलब्धिलाई आलोचनात्मक ढङ्गले विश्लेषण गर्दै यसको बृहत्तर उपदेयतालाई हेर्नुपर्ने हुन्छ ।

जे जे भएता पनि करिब ८२ देशमा फैलिएर विदेशमा बस्ने नेपालीका हितमा ‘लबिङ’ गर्न पनि एन. आर. एन. सँघको आवश्यकता छ । अझ त्यसबाहेक नेपालका एजेण्डाहरूलाई अन्तर्राष्ट्रिय मंचमा पक्षपोषण गर्न एन. आर. एन. सँघ एउटा ठूलो प्लेटफर्म र दबाब समूह पनि हो । जसलाई अर्को कुनै कुराले प्रतिस्थापन गर्न सक्दैन ।

नेपालको राष्ट्रिय क्षमता र कुटनीतिक सीमाका कारणले राष्ट्रले गर्न नसक्ने काममा एन. आर. एन. सँघ सहयोगी हुनसक्छ । नाकाबन्दी र कालापानी लिपुलेकको सीमा विवादमा संसारभरका भारतीय दुतावासहरूमा पारेको दबाबलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । नाकाबन्दीका बेला मोदी जहाँ-जहाँ पुगे, एन. आर. एन. वालाहरूले उनलाई आच्छु-आच्छु पारे । यी यावत पृष्ठभूमिमा भारतीय गुप्तचरहरूले कमजोर पात्रलाई प्रयोग गरेर संघलाई कमजोर बनाउने (वा टुक्राउने) खेल भएको दावी गरिएको छ । यो संवेदनशील कुरा हो । यो संस्थाको मानमर्दन र विघटनका निम्ति जुन पात्रहरू प्रयोग हुँदैछन्, अहिल्यै खबरदारी गर्नु जरूरी छ । यदी आफ्नो कमजोरी ढाक्नका निम्ति हल्ला मात्र चलाइएका हुन् भने यस्तो व्युह रचना गर्ने झुर मनोदशालाई छिमल्नै पर्छ । यो संघको क्षणभंगुर आलोचनाको कुरो होइन, दीगो अस्तित्वको सवाल हो ।

  • पंचम अधिकारी

  • Post category:TOP STORIES