एन. आर. एन. नेदरल्याण्डमा पनि चर्को राजनीति

एन. आर. एन. नेदरल्याण्डको निर्वाचन नजिकिँदै गर्दा चुनावी ध्रुविकरण बाक्लिँदै गएको छ । यस्तो ध्रुविकरणमा राजनीतिक खेमाको आधारमा प्यानेल बन्दैछ भने मजबुत अवस्थामा रहेका काँग्रेससमर्थकहरू भने दुइ प्यानेलमा बाँडिएका छन् ।
नेदरल्याण्डमा करिब दुई हजारदेखि पच्चिस सयसम्म नेपालीहरू रहेको अनुमान गरिन्छ । त्यसमध्ये करिब ८ सय मात्र एन. आर. एन. सँघमा आबद्ध छन् । एन. आर. एन. नेदरल्याण्डमा पार्टीगत रूपमा काँग्रेससमर्थक जनसम्पर्कको बलियो प्रभाव रहेको छ । तर जहाँ रहे पनि इगोको झगडा गर्ने रोगले यहाँका काँग्रेसीजनहरू पनि सँक्रामित छन् । जनसम्पर्क कै दुई उमेदवारहरूले दुई प्यानलको नेतृत्व गरेर राजनीति तताइरहेका छन् ।
NLnrnएन. आर. एन. नेतृत्वको लागि जनसर्म्पर्क समिती नेदरल्याण्डको निवर्तमान अध्यक्ष ठाकुरप्रसाद शर्मा ‘मनोहरी’ र जनसम्पर्क समितीका सल्लाहकार तथा एन. आर. एन. नेदरल्याण्डका पूर्व उपाध्यक्ष कृष्णराज अधिकारी चुनावी मैदानमा उत्रिएका छन । शर्माको प्यानलबाट आइ.सि.सि. प्रतिनिधिमा फणिन्द्र पन्त र उपाध्यक्षमा प्रेमकाजी गुरूङले उमेदवारी दिने तयारी हुँदैछ । आइ. सि. सि. उमेद्वारको चर्चामा रहेका पन्त यसअघि दुइ पटक एन. आर. एन. नेदरल्याण्डको लागि अध्यक्षका प्रत्यासी रहेर पराजित भइसकेका व्यक्ती हुन्, तर समाज सेवाको नाममा राजनीतिको नशाले अझै उनलाई छोडेको छैन । शर्मालाई जनजाति, एमाले समर्थक एन. डि. एफ. तथा माओवादीसमर्थक प्रगतिशिल मंचले सघाउने बताइएको छ । त्यसैले शर्मा समूहले आफ्नो प्यानेललाई ‘समावेशी’ नाम दिएको छ ।
त्यस्तै, अधिकारी जनसम्पर्क समितीको पार्टी उमेदवार बन्दैछन् । उनलाई हल्याण्डमा रहेका सामाजिक सँस्थाहरूले सहयोग गरिरहेका छन् । त्यसमा देन हाग समाज अधिकारीको समर्थनमा खुलेर लागेको छ । अधिकारी समूहबाट श्रीराम कँडेलले आइ.सि.सि. प्रतिनिधिमा उम्मेदवारी दिने बताइएको छ ।
एन. आर. एन. नेदरल्याण्डको निर्वाचनमा नेताहरू मौसम झैं ताते पनि यहाँका नेपालीहरूमा एन. आर. एन.को सस्तो राजनीतिप्रति खासै चाख देखिँदैन । आगामी सेप्टेम्बर १ मा एन. आर. एन. नेदरल्याण्डको निर्वाचन हुने कार्यक्रम छ ।
– कृष्ण थापा