एनआरएन सँघको ओसियाना वैठक न्यूजिल्याण्डमा सम्पन्न

गैरआवासीय नेपाली संघको ओसियाना क्षेत्रिय वैठक न्यूजिल्याण्डको अकल्याडमा शनिबार सम्पन्न भएको छ । बैठकले नौ  बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

वैठकले माघ ८ गते नयाँ संबिधान जारी गर्ने दलहरुको घोषित प्रतिबद्धता पुरा हुन नसकी दलहरुवीच झनै तिक्तता बढ्ने अबस्था सिर्जना भएकोप्रति दुःख ब्यक्त गर्दै संबिधानमार्फत् स्थायित्व कायम भई मुलुकको आर्थिक सम्बृद्धिका लागि हातेमालो गर्ने अबसरका लागि गैरआवासीय नेपाली प्रतिक्षारत रहेको बताएको छ ।
बैठकले नेपालमा एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापना गर्ने गैरआवासीय नेपाली संघका अध्यष शेष घले एवं उनकी पत्नी जमुना गुरुङको घोषणाप्रति आभार प्रकट गर्दै गैरआवासीय नेपालीहरुलाई नेपालमा परोपकारी तथा सामाजिक कार्यमा लगानी बढाउन हार्दिक आह्वान गरेको छ ।

साथै वैठकले बिदेशमा आर्जन गरेको ज्ञान, शीप र पूँजीलाई स्वदेशमा लगानी गर्ने गैरआवासीय नेपालीहरुको प्रमुख उद्देश्यअनुरुप संघले सुरु गरेका सामुहिक तथा ब्यक्तिगत लगानीको अभियानमा सामेल हुन आहृवान गरेको छ ।

NRNA-Oceanवैठकले ओसियाना क्षेत्रभित्र रहेका बिभिन्न नेपाली संघसंस्थासँग सहकार्य गर्दै जाने र गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति स्थापना नभएका देशहरुमा संजाल विस्तार गर्ने निर्णय गरेको छ । साथै न्यजिल्याण्डमा गैरआवासीय नेपाली संघको महिला फोरम स्थापना भएकोमा संघले खुसी ब्यक्त गरेको छ ।

उद्घाटन वैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बिगत १५(२० बर्षमा बिश्वमा नेपाली समुदायको बिकाश र विस्तार निकै उत्साहजनक रहेको बताए । ‘सायद सर एडमण्ड हिलारी पनि यो तिब्र विस्तार देखेर छक्क पर्नुहुन्थ्यो होला’ अध्यक्ष घलेले भने, ‘वास्तवमै कसैको कल्पनाभन्दा धेरै नेपाली समुदायले बिश्व मानचित्रमा आफुलाई विस्तार गरिरहेको छ ।’

एडमण्ड हिलारीकै कारण नेपाल र न्यूजिल्याण्डवीच जनस्तरमै बिशेष सम्बन्ध रहेको भन्दै अध्यक्ष घलेले न्यूजिल्याण्डमा नेपाली समुदायले गरेको प्रगतिप्रति सन्तोष ब्यक्त गरे । गैरआवासीय नेपाली संघले गैरआवासीय नेपालीहरुवीच सम्पर्क संजाल बढाउनुका साथै बिदेशमा सिकेको सीप र पूँजी नेपालमा लगानी गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

वैठकमा बिभिन्न सेसनमा गैरआवासीय नेपाली संघका मुद्दा, प्रगति विवरण र प्राथमिकतामाथि छलफल भएको थियो । ओसियाना क्षेत्रीय संयोजक बिष्णु हमालले सहभागीहरुलाई स्वागत गरेको कार्येक्रममा ओसियाना संयोजक भोमा देवी लिम्बु र दिलु रिमालले संचालन गर्नुभएको थियो भने गैर आबसिय नेपाली संघ अस्ट्रेलिया र न्यूजिल्याण्डका अध्यक्ष्यद्वय महेन्द्र ओली र चक्र थापा, रे एभरी, मनोहर श्रेष्ठ, बाबुराजा महर्जन, रेबत बस्नेत, भरत पोखरेल, सपना हमाल लगाएतले पनि आफ्ना धारणा राखेका थिए।

बैठकमा न्यूजिल्याण्डका मन्त्री पासेता साम, सांसद फिल गोफ, अष्ट्रेलिया र न्यूजिल्याण्डका लागि नेपाली राजदुत रुद्रकुमार नेपाल, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले, संरक्षक इन्द्रा बन, उपाध्यक्ष भवन भट्ट, सचिब रन्जु थापा, प्रबक्ता मन के सी लगायत ओसियाना क्षेत्रमा रहेका एक सयभन्दा बढी एनआरएन प्रतिनिधिहरुको सहभागिता थियो ।

भवन निर्माणका लागि १५ हजार डलर
यसैवीच गैरआवासीय नेपाली संघको काठमाण्डौमा बन्न लागेको केन्द्रीय कार्यालयका लागि न्यूजिल्याण्डमा १५ हजार डलर संकलन भएको छ ।

एनआरएन न्यूजिल्याण्डलाई ५ हजार डलरको लक्ष्य दिइएकोमा शनिवार साँझ आयोजित डिनर कार्यक्रममा १५ हजार डलर संकलन भएको एनआरएन ओसियाना क्षेत्रका बिल्डिङ फण्ड रेइजिङ संयोजक गणेश केसीले जानकारी दिए । उनका अनुसार एनआरएन न्यूजिल्याण्डले कम्तीमा २० हजार डलर संकलन गर्ने प्रतिबद्धता जनाएको छ ।

गैरआवासीय नेपाली संघले आफ्नो केन्द्रीय कार्यालय भवन निर्माणका लागि काठमाण्डौको बालुवाटारमा जग्गा खरिद गरिसकेको छ भने केही समयपछि नै भवनको शिलन्यास गर्ने तयारी गरिरहेको छ ।