व्यावसायिक रुपमा सुन्तला खेतीमा लागेका पाल्पा जिल्लाको पश्चिमी भेग छहरास्थित अमलाबास गाउँका सबै किसानको बगैंचाबाट सुन्तला बिक्री गरेर एक वर्षमा एक करोड मुल्य पर्ने सुन्तला निकासी भएको छ| सुन्तला, जुनार, अमिलो जस्ता फलफुलबाट गाउँलेले एक वर्षमा करोड आम्दानी गर्ने स्थानीय सुन्तला किसानहरुले बताएका छन्|
अमलाबास गाउँभित्र रहेका ३५ घरधुरी सबैले मकै खेती छाडेर सुन्तला, जुनार, अमिलो खेती गरेका छन् | ३५ घरपरिवार मध्ये १० घरपरिवारले सुन्तला बिक्री गरेर वार्षिक चार लाख भन्दा बढी र अन्य २५ परिवारले वार्षिक एक लाख देखि दुई लाख रुपियाँसम्म आम्दानी गर्छन् |
अहिले यहाँका किसानले एक घरले ५० देखि सात सय सुन्तलाका बिरुवाबाट आम्दानी लिईरहेको उनीहरू बताउँछन् | यसैगरि जुनार, मुन्तला, अमिलो खेतीले पनि यहाँका किसानलाई आम्दानी दिईरहेको छ भने यहीबाट वार्षिक ५० हजार बढी सुन्तलाका बिरुवा बाहिरी जिल्लामा जाने गरेको छ| किसानले घरमा भएको सुन्तलाको एक बोटले कम्तीमा ३० किलोदेखि डेढ क्वीण्टलसम्म दाना दिइरहेको छ |
सुन्तला तथा जुनारको बजार भाउ राम्रो भएकाले पनि किसानको आम्दानी बढेको उनीहरूको भनाई छ | यहाँका किसानले उत्पादन गरेको सुन्तलाजन्य फलफुल तानसेन तथा बुटवलका बजारमा प्रतिकिलोको थोकमा ३० देखि ४० रुपियाँ बगैंचाबाटै बिक्री गरेको विष्णुमाया भण्डारीले बताईन|
वि.स. २०४२ सालदेखि केही किसानले दुईचार वटा सुन्तलाका बोट ल्याएर सुन्तला खेती सुरु गरेका यहाँका किसानले २०५५ सालदेखि व्यावसायिक खेती थालेका हुन् | पहिले एक दुई घरले मात्र व्यावसायिक खेती गरेकोमा आम्दानी राम्रो भएपछि सबैले मकै नलगाई सुन्तला, जुनार तथा अन्य फलफुल लगाउन थालेको किसानहरु बताउछन| मकैं खेतीबाट हुने आम्दानीको तुलनामा दश गुणा सुन्तला खेतीबाट फाइदा लिन सकेको उनीहरुको भनाई छ|
सुन्तला खेतीबारेमा तालिम तथा शिक्षा नलिए पनि यहाँका किसानहरू अहिले सुन्तला खेतीमा पोख्त भईसकेका छन् | सुन्तला खेती कसरी गर्ने कसरी फाइदा लिन सकिन्छ भनेर १५ देखि २० वर्षसम्मको अनुभवले राम्रो पाठ सिकाएको उनीहरूको भनाई छ |
अहिले जीप तथा बसको हुट(क्यारियर) हटाउदा भने सुन्ताला किसान मर्कामा परेका उनीहरूको गुनासो छ | गाउँमा उत्पादन भएको सुन्तला बजारसम्म ल्याउनका लागि सवारी पाउन मुस्किल हुँदा समस्या भएको किसानको गुनासो छ|