आफ्नै नेताले उल्टो बोलेपछि एमाले बेलायतले ‘नागरिकता बचाउ अभियान’ थाल्ने

प्रवासी नेपाली मञ्च युकेले नेपाली नागरिकताको निरन्तरताका लागि विश्वव्यापी अभियान थाल्ने भएको छ । मञ्च नेकपा एमालेको भातृसंस्था हो । गैरआवासीय नेपालीले उठाउदै आएको दोहोरो नागरिकताको मागलाई अगामी संविधानमा सुनिश्चत गर्न यो अभियान सञ्चालन गर्न लागिएको मञ्चका अध्यक्ष रामशरण सिम्खडाले बताएका छन् ।

यसअघि मञ्चको दोस्रो अधिवेशनलाई गत महिना सम्वोधन गर्दै नेकपा एमाले नेता भीम रावलले गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता दिन नसकिने अभिब्यक्ति दिएपछि नेकपा एमालेको आलोचना भइरहेको छ । आफ्नै नेताले उल्टो बोलेर धेरैको मन कुँडाएपछि भातृसँस्था प्रवासी नेपाली मञ्च युके सक्रिय हुन लागेको हो ।

uk-NDFअभियानलाई विश्वव्यापी बनाउन मञ्चको गत हप्ता सम्पन्न बैठकले भक्त गुरुङको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
समितिमा डा. अच्युतम गौतम, डा. रामकुमार अधिकारी, डा. बिष्णु घिमिरे, आङ कल्जंग लामा, डा. कृष्ण रेग्मी, ई. राजेश पाठक, डा. पदम सिम्खडा, शुष्मा राई, रामहरि भुसाल, दिनेश घिमिरे, राजेन्द्र पुडासैनी र कृष्ण भट्टराई सदस्य छन् । समितिलाई प्रभावकारी बनाउनका लागि अन्य सदस्य थप गर्ने अधिकार संयोजक गुरुङलाई दिएको प्रचार विभाग प्रमुख कुमार केसीले जानकारी दिएका छन् ।

रावलको अभिव्यक्ति सम्पूर्ण गैरआवासीय नेपालीहरुको भावना र स्वयम नेकपा एमालेको घोषणापत्र विपरित छ, केसीले भने– ‘दोहोरो नागरिकताको मागलाई पार्टीभित्र र संविधानसभामा कसरी प्रभावकारी रुपमा प्रस्तुत गर्ने भन्ने सम्बन्धमा सो समितिले काम गर्नेछ ।’