अरबमा आत्महत्या गर्ने नेपालीको संख्या धेरै

suicideवैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका नेपालीहरु समुद्रमा हाम्फालेर आत्महत्या गर्ने क्रम बढेको छ। तीन वर्र् दुबईमा आत्महत्या र दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरुको संख्या २ सय २५ पुगेको छ। यो अवधिमा २९ नेपालीले आत्महत्या गरेका छन्। राम्रो कमाइ गर्ने र परिवारमा सुख समृद्धि ल्याउने उद्देश्यले दुबई आएका नेपालीहरुले सोचेअनुरुप कमाउन नसकेपछि निराश भई आत्महत्या गर्ने क्रम कहालीलाग्दो बनेको दुतावासका कर्मचारीहरु बताउँछन्। गएको ३ वर्षमा २९ नेपालीले आत्महत्या गरेको तथ्य बाहिर आएको छ। UAE स्थित नेपाली दुतावासले सन् २०१० यता २ सय २५ जनाले ज्यान गुमाएको बताएको छ। यसमध्ये झण्डै दुई दर्जनले विरक्तिएर समुन्द्रमा हाम फालेर आत्महत्या गरेका छन् भने केहीले झुण्डिएर त केहीले आफैलाइ छुरा प्रहार गरेर आत्महत्या गरेको जनाइएको छ। 
आत्महत्या गर्नेमध्ये सबैजसोले परदेश आएपछि समस्या समाधान हुनुको सट्टा झन बढ्दै गएपछि आत्महत्या गर्ने गरेको दुतावासका प्रथम सचिव लोकबहादुर क्षेत्री बताउनुहुन्छ। मृत्यु भएकाहरुको शव नेपाल पठाउने कार्यमा विगत ४ वर्षदेखि खटिरहनुभएका क्षेत्रीका अनुसार आत्महत्याको कारण आर्थिक विषयसँगै बढी जोडिने गरेको छ। नेपालमा मेनपावरले भने बमोजिम विदेशमा तलब नपाएको, सोचेअनुरुप काम नभएको र नेपालमा रहेका आफन्त एवं श्रीमतीले धोका दिएकै कारण अधिकांशले आत्महत्या गर्ने गरेको उहाँ बताउनुहुन्छ।
दुतावासको तथ्याड्क अनुसार सन् २०१० मा मात्रै १२ जनाले आत्महत्या गरेका छन्। सन् २०१० मा दुबईमा ८८ जना नेपालीले ज्यान गुमाएका थिए। यसैगरी सन् २०११ मा ११ जना र २०१२ मा ५ जना नेपालीले आत्महत्या गरेका छन्। हजारौ खर्च गरेर र साहुसँग ऋण गरेर विदेश आएकाहरुले कमाइको सट्टा ऋणको ब्याज नै तिर्न मुस्किल परेपछि आत्महत्या गर्ने गरेको राजदुत धनञ्जय झाले बताउनृभयो। राजदूत झाका अनुसार दुबईमा आत्महत्या गर्ने विदेशीहरु मध्ये नेपाली तेस्रोमा पर्छन्। दुबईमा भारतीय, फिलीपीनी, पाकिस्तानी र बंगलादेशी कामदार धेरै भए पनि र एउटै प्रकृतिको काम गरिरहेको भए पनि नेपालीहरु नै आत्महत्या गर्न बढी उक्सिने गरेको उहाँ बताउनुहुन्छ।
सडक सवारी नियमको जानकारी कम भएको र जानकारी भए पनि नियम उलंघन गरेकै कारण दुबईमा ३ वर्षमा ७५ जना नेपालीले अनाहकमा ज्यान गुमाएका छन्। दुबइमा सवारी साधन कम्तिमा १ सय देखि १ सय ४० किलो मिटर प्रतिप्रति घण्टा गुढ्ने गर्छ। तर, साँगुरो सडकमा सवार हुनेगरेका तथा विद्युतीय प्रणालीअनुरुप पैदल यात्रा गर्ने र सवारी साधन गुडाउन बानी नपरेका कारण वर्षेनी ठूलो संख्यामा नेपालीहरुले ज्यान गुमाउनु परेको उपनियोग प्रमृख दीपक अधिकारीको भनाइ छ।
विभिन्न खाडी मुलुकहरु भन्दा दुबईबाट नेपाल शव सहजरुपमा पुर्याइरहेको दतावासको दाबी छ। राजदुत झाका अनुसार परिवारले चाहेकै बखत शव नेपाल पुर्याउन सकिने बताउँदै कम्पनीमा बहाल रहेका र कानूनी प्रक्रिया पूरा गरेर आउनेको हकमा कुनै अप्ठ्यारो नपर्ने तर भगौडा एवं कम्पनीबाट छुट्टी लिएर घुमिरहेकाहरु दुर्घटनामा परे भने र नेपाल पठाउन गाह्रो हुने झाले बताउनुभयो। तर पीडित परिवारले लास लान चाहेर पनि अरबी विशेष पर्वहरुमा भने शव पठाउन ढीलो हुने गरेको झाको स्वीकारोक्ति छ। दूतावास कर्मचारीले शव चाँडै नेपाल पुग्ने दाबी गरे पनि सर्लाहीका एक नेपालीको शव परिवारले पाउन डेढ वर्ष लागेको थियो । सर्लाहीका ती व्यक्तिको शव ९ महिनापछि मात्रै फेला परेको थियो।अहिले दुबईमा २ जना नेपालीको शव उठेको छैन। बाराका कुलबहादुर मगरको शब २ महिनादेखि नेपालका रहेका परिवारले पाउन सकेका छैनन्।
धेरै नेपालीलाई शव नेपाल पठाउने कार्य दुतावासको नभएको कर्मचारीहरु बताउँछन्। दुतावासले सहकार्यमात्र गर्ने बताउदै प्रथम सचिव क्षेत्रीले भन्नुभयो– ‘बैदेशिक रोजगार प्रवर्द्धन बोर्डले यसमा पहल गर्नुपर्छ।’