एन.आर.एन. बेल्जियम- अन्तर्राष्ट्रिय बेइज्जती ?

nrnघटीमा ६ हजार ( केहीको अनुमानमा १० हजार, गैर कानूनी रूपमा रहेकाको गणना मुस्कील भएकोले यकीन सँख्या भन्न नसकिने)  नेपालीहरूले भरिएको युरोपको सानो र समृद्ध राष्ट्र बेल्जीयममा नेपालीका ६० भन्दा ज्यादा सँघ- संगठनहरू सक्रिय छन् । यी सँस्थाहरूमा जिल्लागत, जातिगत र राजनीतिक पार्टीगत रूपमा नेपालको प्रतिबिम्ब देखिन्छ र, प्रष्टै रूपमा घरदेशको जस्तै नेतागिरी र भाटगिरी चल्छ । त्यसबाहेक भाषा, संस्कृति, च्यारिटी र खेल क्षेत्रमा सक्रिय सँस्थाहरू पनि चाँदीको घेरा झैं नेपाली समुदायमा रहेका छन् ।

यी ६० सँस्थाका ६० ‘अदक्ष’ हरूको आसनमाथि अर्को ठूलो ‘अदक्ष’ को सिंहासन छ । अर्थात एन. आर. एन. । एन. आर. एन. अभियानको यात्रा लम्बिंदै जाँदा थुप्रै देशहरूका राष्ट्रिय कमिटीहरू कुहिरोको काग जस्तै बन्दै गइरहेका छन् । च्याउ उम्रे झैं खुलेका सँस्थाहरूको हुलमा एन. आर. एन.को भूमिका के हुने भन्ने अन्यौल देखिन्छ । अनि यी एन. आर. एन. का राष्ट्रिय कमिटीहरू जताततै हात हाल्ने र कतै काम गर्ने र कतै सिर्फ सिनेमा देखाउने बनेका छन् ।

यहाँ सन्दर्भ छ, बेल्जियमको । यहाँको एन. आर. एन. पनि कुहिरोको काग जस्तो लाग्छ । काम गर्ने जाँगर र रहर भएका तर मेलोमेसो र तारतम्य नमिलेका देखिन्छन् । नेपाल भवन बनाउनेदेखि इपरमा स्मारक निर्माण गर्ने कुरासम्म, एन. आर. एन. ले हात रंगाएको छ, र विवाद मात्र बढेको छ । बढेको विवादलाई खुला बजारमा पस्कने पत्रकारहरूसँग कसरी सरोकार राख्ने र आफ्नो कुरा ब्यक्त गर्ने ढङ्ग नहुँदा आगोमा घ्यू थप्ने काम मात्र भएको छ । जुन फुर्सदको क्षणको हँसीमजाक बन्न पुगेको छ । अहिले मिडियामा एन.आर.एन. बेल्जियमको चर्चा ‘अँध्यारो पक्ष’ को मात्र भइरहेको छ । यस्तो किन भइरहेछ ?

एन. आर. एन. को प्रमुख उद्देश्य प्रवासी नेपालीहरूको चाखलाई साझा मञ्चका रूपमा मुखरित गर्नु हो । हरेक देशहरूमा थुप्रै सँस्थाहरू खोलिएको सन्दर्भमा ती सबै सँस्थाहरूबीच समन्वयकारी भूमिका खेल्दै एन. आर. एन.ले नेतृत्व दिन सक्नु पर्ने हो । तर कतिपय सन्दर्भमा एन. आर. एन. को भूमिका नेतृत्वदायीभन्दा झगडालुको जस्तो देखिंदो छ ।

अर्कोतर्फ, सामाजिक संस्थामा सवैभन्दा महत्वपूर्ण कुरा ‘आर्थिक अनुशासन’ हो ।’ त्यसमा पनि एन. आर. एन. जस्तो सँस्थामा सबैको आँखा परिरहेको हुन्छ । यदि आर्थिक पक्षलाई पारदर्शी रूपमा संबोधित गरिएन भने बात लाग्छ नै ।

नेतृत्वको रहर गर्नु र क्षमता हुनु २ भिन्न वास्तविकता हुन् । रहरै रहरमा पद खोज्नेहरूले एन. आर. एन.को राष्ट्रिय समिति जम्बो बनेको छ । उसो त एन. आर. एन. बेल्जियमको अध्यक्ष बन्ने जति परिश्रम नेपालको चुनावमा लगाउने हो भने ‘सांसद’ बन्ने निर्वाचन जीतिन्थ्यो भनिन्छ । रवाफ पनि त्यस्तै देखिन्छ ।समाज सेवा गर्न यति ठूलो लगाव र उत्साह हुनु निश्चित रूपमा स्तुत्य छ । तर, यति ठूलो प्रतिस्पर्धाबाट छानिएकाहरूमा सँस्था चलाउने ढङ्ग नहुनु चाहिँ चिन्ताको विषय हो । एन. आर. एन.-आइ. सी. सी.ले एन.सी.सी.का छोटे नेतृत्वलाई प्रशिक्षण दिनु पर्ने पो हो की ? अन्यथा, कुहिरोका काग बनेका एन.सी.सी.हरूले ‘अन्तर्राष्ट्रिय बेइज्जती’ गर्दै जानेछन् ।