अमेरिकी नेपालीको चाहना: ‘दोहोरो नागरिकता र अमेरिकी मूलधारमा पहिचान’

स्थापनाकाल देखि नेपाली अमेरिकनहरुको पहुँचबाट बाहिर रहेको गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिका यति बेला सबैको पहुँचमा पुगेको छ, अर्थात् सामुहिक नेतृत्व स्थापित गर्ने अभियान अन्तर्गत निर्वाचनको माहोलमा होमिएका छन् नेपाली अमेरिकनहरु । आगामी जून महिनाको दोस्रो साता नेपाली अमेरिकनहरुले निर्वाचन मार्फत गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिकाको नयाँ नेतृत्व चयन समेत गरीसकेका हुने छन् ।

NRN_logoझन्डै झन्डै नेपालको निर्वाचनसंग मेल खाने भड्किलो प्रचार शैली, खर्चिलो चुनावी अभियान र राजनीतिक रंगले रंगिएको गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचन यति बेला व्यक्तिगत गालीगलोज र चरित्र हत्याको तह सम्म पुगेको छ । पाँच दर्जन भन्दा बढी नेतृत्वका आकांक्षीहरु यति बेला मूल थलोको राजनीतिक संगठन मार्फत आफ्नो बिजय सुनिश्चित पार्न निर्वाचनलाई राजनीतिक कलेवर र फ्लेभर दिन जोड तोडले लागेका छन् । गैर आवाशीय नेपाली अभियानका एक अभियन्ताले हामीसंगको कुराकानीमा भने, ‘निशुल्क सेवा प्रदान गर्नु पर्ने नेतृत्वको लागि भड्किलो प्रचार शैली, खर्चिलो चुनावी अभियान र जित्नै पर्ने मानसिकताले उम्मेदवारहरुको प्रतिबद्दता माथी संसय पैदा गरेको छ ।’ उहाँ, ‘चरम भ्रष्टाचार र बेथितिमा गुज्रेको नेपाली अमेरिकनहरुको संघ संस्थाहरुमध्य गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिकाको नेतृत्व निर्वाचनबाट हुनु सुखद खबर भन्नु हुन्छ तर समान मुद्दा र समान हैसियत भएका नेतृत्वको आकांक्षीहरु बीच हुने निर्वाचनले आगामी दिनमा नेपाली अमेरिकनहरुलाई जोड्न सक्ला, उनीहरुको मुद्दा सम्बोधन गर्न सक्ला भन्ने आशंका पनि व्यक्त गर्नु हुन्छ ।’

हामीले उत्तर पूर्वी राज्यहरु न्युयोर्क, मेरिल्याण्ड, भर्जिनिया, पेन्सलभानिया देखि पश्चिमका प्रभावशाली राज्यहरु टेक्सास देखि क्यालिफोर्निया सम्मका मतदातासंग सोधेका थियौ । आंसिक सर्वेक्षण पनि गरेका थियौ । गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचन र तपाइले चाहेको नेतृत्व कस्तो हो भनेर । एक लाखको हाराहारीमा रहेका नेपाली भाषी अमेरिकन भुटानीहरुलाई गैर आवाशीय नेपाली अभियानमा समेट्नु पर्छकी पर्दैन, हाम्रो साझा एजेन्डा के हो र कसको नेतृत्व सवल र सक्षम छ ? प्रस्तुत छ हाम्रो सवाल उनीहरुको जवाफ जस्ताको तस्तै ।

डा. तारा निरौला: १. नेपाली अमेरिकनहरुको साझा एजेन्डा भनेको पहिलो अमेरिकामा बस्ने नेपालीहरुलाई एकत्रित र संगठित गर्दै एनआरएनलाई नेपाली अमेरिकनहरुको साझा संस्थाको रुपमा विकास गर्ने । २. अमेरिकामा बस्ने नेपालीहरुको आर्थिक, सामाजिक र राजनीतिक पहिचान बनाउन प्रोत्सहान गर्ने । ३. नेपालमा बन्न लागेको संबिधानमा एक पटकको नेपाली सधैको नेपाली अर्थात् दोहोरो नागरिकताको प्राबधान सम्बोधन गराउन प्रभावकारी भूमिका निर्बाह गर्न सक्ने नेतृत्व चयन गर्ने ।

होमनाथ सुबेदी: दोहोरो नागरिकता र नेपाली भाषाको संबर्दन नेपाली अमेरिकनको मूल मुद्दा हो र यो मुद्दामा समुदायको हिसाबले शिब कुमार राई प्रभावकारी देखिए पनि खगेन्द्र क्षेत्रीको अनुभव र दक्षता उपयोगी हुन सक्ने ।

बन्दिता शर्मा: दोहोरो नागरिकता नेपाली अमेरिकनको मूल मुद्दा हो भने अर्को महत्वपूर्ण बिषय अमेरिकामा बस्ने नेपालीहरुको आर्थिक, सामाजिक र राजनीतिक पहिचान बनाउनु हो यसको लागि खगेन्द्र क्षेत्रीको नेतृत्व उपयुक्त हुने ।

निमा शेर्पा: दोहोरो नागरिकता हाम्रो मूल मुद्दा हो र यो मुद्दामा शिब कुमार राईले लामो समय देखि कम गरेको हुदा शिब कुमार राईलाई जिताउनु पर्छ ।

शान्ता बस्नेत: दोहोरो नागरिकता कार्यन्वयन नेपाली अमेरिकनको मूल मुद्दा हो यसको लागि खगेन्द्र क्षेत्रीजिताउनु पर्छ ।

डा. अमृता रेग्मी: हाम्रो साझा एजेन्डा भनेको अमेरिकामा बस्ने नेपालीहरुलाई एकत्रित र संगठित गर्दै अमेरिकन मुलधारमा समाहित गर्नु हो साथै अमेरिकामा बस्ने नेपालीहरुको आर्थिक, सामाजिक र राजनीतिक पहिचान बनाउन हो र यी मुद्दाहरुमा एनआरएन अमेरिका केन्द्रित हुनु अहिलेको आवश्यकता हो ।

डा. श्याम कार्की: १. भिषाको सहजीकरण र दोहोरो नागरिकता नेपाली अमेरिकनको मूल मुद्दा हो । २. अमेरिकामा बस्ने नेपालीहरुको आर्थिक, सामाजिक र राजनीतिक पहिचान बनाउन सामाजिकीकरणको अभियान सुरु गर्ने । ३. अमेरिकामा बस्ने नेपालीहरुको मुद्दाहरु सम्बोधन गर्न खगेन्द्र क्षत्रीको नेतृत्व सक्षम रहेको ।

गोपाल विश्वकर्मा: अमेरिकाम बस्ने सबै नेपाली भाषीहरुको साझा संगठनको रुपमा विकाश गर्ने र एक पटकको नेपाली सधैको नेपाली अर्थात् दोहोरो नागरिकता कायम गराउन खगेन्द्र खत्रीको उम्मेदवारी र नेतृत्व उपयुक्त देखिन्छ । एनआरएन अमेरिकाले नेपाली भाषा र संस्किर्तीलाई प्रबर्दन गर्नुको साथै अमेरिकी मुलधारको आर्थिक र राजनीति मुद्दामा नेपाली अमेरिकनलाई जोड्ने र सामाजिकीकरण गर्ने प्रयास गर्नु पर्छ ।

हामीले उत्तर पूर्वी राज्यहरु न्युयोर्क, मेरिल्याण्ड, भर्जिनिया, पेन्सलभानिया देखि पश्चिमका प्रभावशाली राज्यहरु टेक्सास देखि क्यालिफोर्निया सम्मका मतदातासंग सोधेका थियौ । आंसिक सर्वेक्षणका क्रममा झन्डै २०० नेपाली अमेरिकनहरूसंग गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचन र तपाइले चाहेको नेतृत्व कस्तो हो ?, एक लाखको हाराहारीमा रहेका नेपाली भाषी अमेरिकन भुटानीहरुलाई गैर आवाशीय नेपाली अभियानमा समेट्नु पर्छकी पर्दैन, हाम्रो साझा एजेन्डा के हो र कसको नेतृत्व सवल र सक्षम छ ? भनेर सिधा सवाल गरेका थियौं । अधिकांस मतदाताले दोहोरो नागरिकता, साझा संगठन र नेपालको राजनीति प्रभाव सुन्य गैर आवाशीय नेपाली संघ (एनआरएन) अमेरिकाको संस्थागत विकासमा जोड दिएका थिए भने केहि मतदाताले दल विशेषका उम्मेदबार मात्र हुनुले नेपाली अमेरिकनलाई फेरी पनि ठग्ने चाल भएको प्रतिक्रिया दिएका थिए ।
– पुरुषोत्तम ढकाल, अमेरिका