अपहरण गरेर हत्या गरिएका व्यापारी मित्तलको शव फेला

कपिलवस्तुमा दुई महिना अघि अपहरणमा परेका कृष्णनगर नगरपालिका–४ का व्यापारी श्यामसुन्दर मित्तलको शव प्रहरीले फेला पारेको छ ।

गत साउन २८ गते अपहरणमा परेका मित्तलको शव आज कपिलवस्तु नगरपालिका–५ जमुवार टोलस्थित ज्ञानचन्द्र कसौधनको सेफ्टी ट्याङ्कीबाट निकालिएको हो । साउन २८ गते घरबाट चन्द्रौटा हँुदै तौलिहवातर्फ लागेका मित्तलको सोही दिन नै अपहरण भएको परिवारले जनाएको थियो ।

मित्तल अपहरण घटनामा फितलो देखिएको कपिलवस्तु प्रहरी अनुसन्धान नयाँ प्रहरी उपरीक्षक विक्रम गुरुङ आएपछि घटनाको अनुसन्धान तिब्र पारिएको थियो ।

अपहरणमा परेका कपडा व्यापारी मित्तलको घटना अनुसन्धानका क्रममा र पक्राउ परेका अभियुक्तहरुको बयानका आधारमा प्रहरीले त्यहाँबाट सडेको अवस्थामा शव निकालेको हो ।

जिल्ला प्रहरी कार्यालयले मित्तलको अपहरणपश्चात परिवारले रकम दिन आनाकानी गरेको र प्रहरीसमक्ष अपहरण घटना दर्ता भइसकेपश्चात उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरी उपरिक्षक विक्रम गुरुङले अपहरण तथा हत्यामा प्रत्यक्ष संलग्न कपिलवस्तु नगरपालिका–४ बस्ने बब्लु मुराउ, कपिलवस्तु नगरपालिका–२ बस्ने शतिश कसौधन र कृष्ण कसौधनलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको बताउनु भयो ।

दुई महिना अघि कृष्णनगर निवासी ४५ वर्षीय मित्तल चन्द्रौटाबाट दुई जना साथीसँग मोटरसाइकलमा तौलिहवा जान लागेको भनि आफूलाई खबर गरेको उनका छोरा नितिन मित्तलले जानकारी दिए । त्यसपछि बुबा सम्पर्क बिहीन भएपछि वडा प्रहरी कार्यालय चन्द्रौटामा उनले जाहेरी दर्ता गरेका थिए । मित्तल अपहरण घटनामा प्रहरीले फितलो अनुसन्धान गरेको भन्दै पटकपटक कृष्णनगर तथा चन्द्रौटा क्षेत्रका व्यापारीहरुले प्रशासन तथा जिल्ला प्रहरी कार्यालयमा दबाब दिँदै आएका थिए ।

घटनाबारे प्रहरीले घटनाको विस्तृत विवरणसहित सोमबार पत्रकार सम्मेलन गर्ने जानकारी दिएको छ ।