अँध्यारो प्रभात !

Dipendra KCजव !
प्रशासनको हरेक टेवलबाट
अपमानित भएर फर्कनु पर्छ तिमीले,
जव !
तिम्रो पसीनाको ज्याला
शीर निहुराई कुनै भीखारी झैं थाप्नुपर्छ तिमीले,
र, भर्खरै स्वतन्त्रताको मृत्यु भएजस्तो
तर स्वतन्त्रता र समानताका मुर्दा साइनवोर्डहरु साक्षी वसेको
कहावतको स्वतन्त्र शहरको मध्य सडकमा
शँकाका काँडाहरुले घोचिनुपर्छ तिमीले ।

तव !
म ठोकुवा गरेर भन्छु
यो विरानो शहरमा
तिमी निदाएका हुदैनौ
मखमली सिरानीहरुमा,
अघाईरहेका हुदैनौ
महँगा केवाव वारहरुमा
र, झस्किरहेका हुनेछौ
खुल्ला आँखाहरुले देख्ने
पश्चतापका सपनाहरुमा !

त्यसै धावा बोल्दैनन् वैरीहरुले
तिमी कुँजिएको वेला
पूँजीवादको गल्लीमा पक्षघातको आक्रमणले थलिएको वेला
त्यसैले त
वीर छौ तर पराजित छौ
कुनै युद्धै नगरी !

आमा !
वेश हुने रहेछ आज
तपाईहरुले खुशी र सुखीको सपना नदेखेको भए
आफना सन्ततिहरुको,
थाहा छ नि तपाईहरुलाई
सतीको श्राप मेटिएको छैन अझै !
तिम्रो आँगनमा मखमली, हजारी फक्रिदा
तिमी ओइलाईरहन्छौ यहाँ,
समयले परेड खेलिरहन्छ छातीमा
यो जघण्य तुफानी आँधीको मौसमी रातमा ।

माफ गर्नु आमा ! हामीहरुलाई
सकेका छैनौ हामीले
हजुरको छातीभित्र वलेको उज्यालो जोगाउन
कति निरीह, कति अमूक हामी, निःशव्द यो आपतमा !
घाम लागेकै छ यो क्षितिजभरी सम्भावनाका कणहरु फैलाएर
तर पनि कति अँध्यारोमा छौं यो प्रभातमा ।
– दीपेन्द्र के.सी
बागलुङ, हाल लुभेन बेल्जियम ।