सम्भोगबाट पनि सर्न सक्छ जिका भाइरस

लामखुट्टेको टोकाइबाट सर्ने भनिएको जिका भाइरस सम्भोगबाट पनि सरेको घटना सार्वजनिक भएको छ। अमेरिकाको टेक्सस राज्यका स्वास्थ्य अधिकारीहरुले मंगलबार एकजना बिरामीमा सम्भोगका कारण जिका भाइरस सरेको देखिएको बताएका छन्। डलास काउन्टी हेल्थ एण्ड ह्युमन सर्भिस डिर्पाटमेन्टका अनुसार भेनुजुयलाबाट आएका एक व्यक्तिसँग शारीरिक सम्पर्क भएपछि ती बिरामीमा जिका भाइरस सरेको देखिएको हो।
सम्भोगका कारण पनि जिका भाइरस सरेको भेटिएपछि यसले रोग नियन्त्रणमा थप जटिलता थपेको चिकित्सकहरुले बताएका छन्। डाक्टर विलियम स्याटनरले भने ‘यसले जिका रोकथाममा नयाँ कुरा बाहिर ल्याइदिएको छ।‘ सम्भोगबाट पनि जिका भाइरस सरेको भेटिएपछि स्वास्थ्य अधिकारीहरुले लामखुट्टेबाट बच्नुका साथै सुरक्षित यौनसम्पर्क गर्न मानिसहरुलाई सुझाव दिएका छन्।
उनीहरुले गर्भवती महिलालाई पुरुष शुक्राणुको सम्पर्कमा नआउन पनि सुझाव दिएका छन्। अघिल्लो हप्ता बेलायतका अधिकारीहरुले जिका फैलिरहेका देशबाट फर्केका पुरुषले शारीरिक सम्पर्कका बेला अनिवार्य रुपमा कन्डम प्रयोग गर्न सुझाव दिएका थिए। अमेरिकाको रेडक्रसले जिका फैलिरहेका देशबाट फर्केका मानिसलाई २८ दिनसम्म रक्तदान नगर्न भनेको छ।
यो रोग लागेमा ज्वरो आउने लगायतका लक्षण देखिन्छन्। क्यारेबियन र ल्याटिनी अमेरिकी देशमा जिकाको संक्रमण बढीरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।