म जापान आएको तीन वर्ष भयो । नेपालबाट करिब पाँच महिना भाषा पढेर आएकी हुँ । दुई महिनाजति धरानमा र तीन महिना काठमाडौंमा भाषा सिकेर आएँ । यहाँ आएर एक वर्ष भाषा कक्षा पढेँ । त्यसपछि अहिले सेनमुन पढिरहेकी छु । अबको तीन महिनापछि अर्थात् सन् २०१८ को मार्चमा ग्य्राजुयट हुन्छु । त्यसपछि मैले पनि वर्कपर्मिट भिसाका लागि प्रक्रिया अगाडि बढाउन सक्छु । त्यसका लागि तयारी धेरै गर्नुपर्छ ।
मलाई जापान आएपछि खासै गाह्रो भएन । किनभने यहाँ मेरा साथी, आफन्तहरू पनि हुनुहुन्थ्यो । उहाँहरूबाट यहाँको अवस्थामा धेरै जानकार भएर नै आएकी हुँ । त्यसैले पनि मैले त्यहीअनुसार आफ्नो सोच बनाएर आएकी थिएँ । धेरैजना विद्यार्थी यहाँको वास्तविकता राम्रोसँग नबुझी आउनाले गाह्रो हुन्छ ।
कतिपयचाहिँ सुनेर पनि दुःख गर्नकै लागि भए पनि आउँछन् । त्यही पनि उनीहरूलाई गाह्रो हुन्छ । किनभने सुन्नु र गर्नुमा धेरै फरक हुन्छ । यहाँ दैनिक चार घन्टा पढाइ र हप्ताको २८ घन्टा काम गर्न पाइन्छ । त्यहीअनुसार काम गर्छन् । दुई समय काम गर्नसम्म सकिन्छ । त्योभन्दा बढीचाहिँ समय व्यवस्थापन गर्न गाह्रै हुन्छ ।
रातभर नसुती काम गर्ने विद्यार्थी पनि छन् । काम गर्न पाउने अवधिभन्दा बढी गर्नेलाई समस्या हुने नहुनेचाहिँ सम्बन्धित व्यक्तिको मुडअनुसार पनि भर पर्छ । खास नियमचाहिँ २८ घन्टा नै हो, तर त्यसभन्दा बढी गर्नेहरू पनि छन् । अहिलेसम्म उनीहरूलाई समस्या भएको छैन ।
नेपालमा नै स्नातक पास गरेर आउने विद्यार्थीले यहाँ एक वर्ष भाषा पढ्नुपर्छ । भाषा महत्वपूर्ण भएकाले भाषा नजान्नेलाई नराम्रो मान्छ । अझ भनौँ हेप्छन् । नेपालबाट स्नातक नगर्नेले दुई अथवा चार वर्ष कोर्स गर्नुपर्छ । त्यसलाई ‘सेनमुन’ भनिन्छ । त्यसपछि ग्य्राजुयट भइन्छ । यो दुई वा चारवर्षे विद्यार्थीले आफैँ छान्न पाउँछ ।
नेपालबाट आउने विद्यार्थी स्नातक गरेका भए एक वर्ष भाषा पढिसकेपछि ‘वर्कपर्मिट’ भिसाका लागि प्रक्रिया अगाडि बढाउन सक्छन् । स्नातकोत्तर गरेको भए एक वर्ष भाषा पढ्नैपर्ने जरुरी हुँदैन । त्यसभन्दा अगाडि नै पनि ‘वर्कपर्मिट’का लागि प्रक्रिया अगाडि बढाउन सक्छन् । तर, यहाँ भाषा महत्वपूर्ण भएकाले काम गर्न नेपालबाट सिकेर आएको भाषा पर्याप्त हुँदैन । त्यसैले एक वर्ष भाषा कक्षा पढ्नैपर्ने अवस्था हुन्छ ।
- नुनुता रार्इ