मेवा खेतीबाटै लाखौं आम्दानी, कृषकहरु आकर्षित

महोत्तरी जिल्लाको माइस्थानका एक युवा मेवा खेतीबाटै लाखौं रुपियाँ कमाईरहँदा सो क्षेत्रका बासिन्दाहरु पनि यसको सिको गर्न थालेका छन् | माईस्थान–३ mebaका २५ वर्षीय सन्दीप मण्डलले कम लगानीमा मेवा खेती गरि मज्जाले आम्दानी लिन थालेपछि सो क्षेत्रका कृषकहरु पनि यसतर्फ विस्तारै विस्तारै आकर्षित हुन थालेको जनाइएको छ |

मण्डलले पुना शिलेक्सन ३ र पुसा डिलिसियस जातिका मेवा आफ्नै १० विघा जमिनमा गरीरहेका छन् | अहिले ती जातीका मेवाहरु खेतमा लटरम्म फलेका छन् | सानो सानो आकारको हुने र मनग्य फल्ने भएपछि यस क्षेत्रका अरु कृषकहरु पनि यसतर्फ आकर्षित भएको बताएका छन् |
स्थानिय उच्च माविबाटै बि.बि.एस द्वितीय वर्षसम्म शिक्षा हासिल गरेका  मण्डलले खेतमा ६/६ फिटको दुरीमा मेवाको बोट रोपेका छन | एउटा बोटले प्रति सिजन ५० किलोका दरले मेवा दिने गरेको छ | प्रति विघा २ हजारका दरले मेवाको बोट लगाइएको खेतमा ३० प्रतिशत भाले जातका विरुवाहरु रहेको मण्डलले जानकारी गराए |
प्रत्येक चार चार महिनामा गरि एक वर्षमा ३ पल्ट मेवा फल्ने सो बोटमा एक बर्षको तीन सिजनमा एउटा मेवाको बोटले डेढ क्वीन्टलभन्दा बढी उत्पादन दिने गरेको र यसको कारणले लाखौंको आम्दानी हुने गरेको उहाँले जानकारी गराए | उर्वर मलिलो माटो भएकाले थोरै मिहिनेतबाट नै बढी मेवा फलाउन थालेपछि स्थानीयहरु अन्य खेती भन्दा यसतर्फ आकर्षित हुन थालेका छन् |
महोत्तरीको प्रमुख व्यापारिक केन्द्र बर्दिवास भन्दा २ किलोमिटर पश्चिम तथा पूर्वपश्चिम राजमार्ग भन्दा एक किलोमिटर उत्तरको दुरीमा मण्डलको मेवा खेती रहेको छ |  उनले मेवा काठमाण्डौ, पोखरा, नेपालगन्ज, विराटनगर, इटहरी सहित विभिन्न शहरी क्षेत्रमा विक्रीको लागि पुर्याउने गरेका छन् |