श्रीलंकाको राष्ट्रपति निर्वाचनमा पनि ‘र’ को भूमिका

mahinda-rajapaksaश्रीलंकाको हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा भारतीय गुप्तचर संस्था ‘र’ का कोलोम्बो प्रमुखलाई निस्कासन गरिएको तथ्य उजागर भएको छ । राष्ट्रपति निर्वाचनमा ‘र’ का प्रतिनिधिले छरिएका विपक्षीलाइ एक बनाउँदै साझा उमेदवार खडा गर्न भूमिका खेलेको आरोप लगाइएपछि सो निस्कासन भएको समाचारमा जनाइएको छ । भारतको एक प्रमुख दैनिक ‘द हिन्दू’ ले यस बारेमा आइतवार विस्तारमा समाचार दिएको छ । समाचारमा श्रीलंकाको सन्डे टाइम्स् पत्रिकाले यस बारेका पहिल्यै समाचार दिइसकेको पनि ‘द हिन्दू’ ले उल्लेख गरेको छ ।
पूर्व राष्ट्रपति महिन्दा राजपक्षलाइ ‘र’ ले हराउन खोज्नुको प्रमुख कारण उनी चीनसँग झुकाव राखेको बताइएको छ । गत वर्ष चीनको २ सबमरिनलाइ श्रीलंकन बन्दरगाहमा रोकिन दिएको र त्यसबारे नयाँ दिल्लीलाइ कुनै खबर नगरिएकोमा भारत रूष्ट रहेको खबरमा जनाइएको छ ।
यसै क्रममा, राष्ट्रपति निर्वाचनमा विपक्षी उमेदवार सिरीसेनाले जितेको नतिजा आएको केही घण्टामा नै भारतीय राजदूत (हाइ-कमिस्नर) ले ठूलो फूलको गुच्छाले स्वागत गरेको तर चिनियाँ राजदूतले ६ दिनपछि मात्र भेटेको तथ्य पनि सान्दर्भिक देखिएको छ ।