नोबेल साहित्य पुरस्कार अफ्रिकी मूलका गुरनाहलाई

यस वर्ष अर्थात २०२१ को नोबेल पुरस्कार साहित्यतर्फ तान्जानियामा जन्मेर बेलायतमा बसोबास गर्ने अब्दुलरजाक गुरनाहलाई दिने घोषणा गरिएको छ ।

उपनिवेशवादको असर तथा संस्कृति र महादेशहरूबीचको खाडलमा शरणार्थीको भाग्यको इमान्दार तथा सहानुभूतिशील चित्रण गरेकोमा गुरनाहलाई पुरस्कार दिइएको नोबेल एकेडमीले जनाएको छ ।

युरोपको राजनीतिदेखि अर्थनीतिसम्म अध्यागमन र विदेशी मूलका जनताको समिश्रणको सवाल केन्द्रीय बहश बन्दै गर्दा यो समाचार आएको छ । गुरनाहले साहित्यमार्फत उठाएका मुद्दाहरूले अन्तर्राष्ट्रिय मंचमा मान्यता पाएको रूपमा पनि यो निर्णयलाई लिन सकिन्छ । युरोपेली समाजको पाठकहरूले गरनाहका किर्तीहरू अझ पढ्ने र त्यसले त्यहाँको जनमतमा एक खालको प्रभाव पार्ने नै छ । शरणार्थी संकट, उपनिवेशवाद र प्रवासी जीवनबारे अरू चर्चा हुनेछ । यो कोणबाट यो प्रशंसनीय कुरा हो ।

गुरनाहका १० वटा उपन्यास र अनेकौं कथाहरू प्रकाशित छन् । शरणार्थीको समस्या उनका सबै कृतिमा भेटिन्छ । उनले इंग्ल्यान्डमा २१ वर्षको उमेरमा निर्वासनमा छँदा लेख्न थालेका थिए । स्वाहिली उनको मातृभाषा भए पनि अंग्रेजी उनको साहित्यिक भाषा बन्यो ।

गुरनाहको चौथो उपन्यास प्याराडाइज सन् १९९४ मा प्रकाशित भएको थियो र त्यसले उनलाई पहिचान दिलायो । यो एक उदास प्रेमकथा हो जसमा विभिन्न विश्व र विश्वास प्रणालीहरू जुधेका छन् ।

स्वीडिश नोबेल एकेडेमीले प्रदान गर्ने नोबल पुरस्कार एक करोड स्वीडिश क्राउनको हुन्छ जुन करीब ११ लाख ४० हज़ार डलर बराबर हुन्छ ।

सन् १८४८ मा जन्जिबार टापुमा जन्मेका गुरनाह शरणार्थीका रूपमा सन् १९६० को दशकको अन्त्यतिर बेलायत आएका थिए । उनी केही समयअघि मात्र बेलायतको केन्ट विश्वविद्यालयमा अंग्रेजी र उपनिबेशवादका प्राध्यापकबाट रिटायर्ड भएका थिए ।