भारत पुगेर प्रचण्डले स्विकारे तिन गल्ती

Puspakamal-Narendra-modiभारत भ्रमणमा रहनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा शान्ति प्रक्रियामा आएपछि आफूले गर्ने नहुने तीन गल्ती गरेको बताउनुभएको छ। उहाँले स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु, तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरणमा राजीनामा दिनु र संविधानसभालाई व्यवस्थापन गरेर संविधान दिन नसक्नु गल्ती गरेको बताउनुभएको हो।
prachanda-in-indiaबिहीबार जनता दल युनाइटेडका अध्यक्ष शरद यादवको नयाँ दिल्लीस्थित निवासमा भेला भएका भारतका विपक्षी दलका नेताहरूसँग प्रचण्डले स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर सबैभन्दा ठूलो गल्ती गरेको बताउनुभएको छ। प्रचण्डले त्यसको पश्चात्ताप अहिलेसम्म पनि रहेको बताउँदै भन्नुभयो– ‘गिरिजाबाबुलाई राष्ट्रपति नबनाउनु मेरो राजनीतिक जीवनको सबैभन्दा ठूलो भूल हो।’
प्रचण्डले त्यसपछि प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरणमा आफूले आवेशमा आएर राजीनामा दिनु अर्को गल्ती भएको बताउँदै भन्नुभयो– ‘आफूहरू सक्षम हुँदाहुँदै पहिलो संविधानसभालाई व्यवस्थापन गरेर संविधान दिन नसक्नु अर्को गल्ती भयो।’ प्रचण्डले अब आफू संविधान निर्माण र मुलुकको पुनर्निर्माणमा अघि बढिसकेकाले अब कुनै पनि हालतमा यो अभियानबाट पछि नहट्ने विश्वास व्यक्त गर्नुभयो।
सो अवसरमा जनता दल युनाइटेडका अध्यक्ष यादवसहित विपक्षी दलका नेताहरूले प्रचण्डलाई संविधान जारी गर्न जस्तोसुकै सम्झौता गर्न पनि तयार रहन आग्रह गर्दै अब प्रचण्डले नेतृत्व गरेर मुलुकलाई संविधान दिन भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। जवाफमा प्रचण्डले अबको एक महिनाभित्र नेपालले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान पाउने दाबी गर्दै सकेसम्म मधेसलाई मिलाएर सीमांकनसहितको संविधान जारी गर्न लागेको बताउनुभयो।
प्रचण्डले भारतीय शीर्ष नेतृत्वसँग भेटवार्तामा रहनुभएको छ। बिहीबार शरद यादव, केसी त्यागी, गुलाम नवि आजाद, डीपी त्रिपाठी, मोतीलाल बोहोरा, हन्ना मोला, जोगिन्द्र शर्मालगायत विभिन्न दलका वरिष्ठ नेताहरूसित सामूहिक भेटवार्ता गर्नुभएको छ।

शरद् यादवले आयोजना गर्नुभएको भेटवार्तामा अध्यक्ष प्रचण्डले १२ बुँदे सहमतिमा भारतको सहयोग र सद्भाव रहेकाले अब बन्ने संविधाननिर्माण प्रक्रियामा पनि सहयोग र सद्भाव रहनुपर्ने बताउनुभएको प्रचण्डका सहयोगी शिव खकुरेलले बताउनुभयो। भेटमा भारतीय नेताहरूले भारत सधैं नेपालको साथमा रहेको कुरा अवगत गराउँदै नेपालको संविधान निर्माणको प्रक्रिया पूरा हुन लागेकामा खुसी व्यक्त गरेका थिए। तपाईंकै अग्रसरताले मात्र यो सम्भव भएको भन्दै अध्यक्ष प्रचण्डको प्रशंसासमेत गर्नुभएको थियो।

आत्मकथा लेख्ने
त्यसै गरी प्रचण्डले प्रचण्डले नेपालका कम्युनिस्ट पार्टीहरूलाई एउटै छातामुनि एकीकरण गरेपछि आत्मकथा लेख्ने बताउनुभएको छ।
आफूलाई नेपालको कम्युनिस्ट आन्दोलन बिगारेको कतै सम्झौता गरेको र कतै आफ्ना एजेन्डा छाडेको जस्ता आरोप लगाउनेप्रति असन्तुष्टि व्यक्त गर्दै सबै कुरालाई खुलस्त पार्न आत्मकथा लेख्ने बताउनुभएको हो। भारतको राजधानी नयाँ दिल्लीमा तिसरी दुनियाँ पत्रिकाले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालका कम्युनिस्टहरू सैद्धान्तिक रूपमा एकै ठाउँमा रहे पनि व्यवहारगत रूपमा अलगअलग रहेकाले एकता सम्भव भएको दाबी गर्नुभएको छ।
आफूले मुलुकको हितका लागि सधैं दलगत स्वार्थ त्यागेको दाबी गर्दै शान्ति प्रक्रिया र संविधान लेखन कार्यलाई निष्कर्षमा पुर्याउने केही त्याग गरेको बताउनुभयो। उहाँले लिपुलेक, नेपालको संविधान निर्माण प्रक्रिया र पुनर्निर्माणको विषयमा भोलि हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा छलफल गर्ने जानकारीसमेत दिनुभयो। कार्यक्रममा भारतीय प्रगतिवादी बुद्धिजीवी, साहित्यकार, पत्रकारलगायतसँगको अन्तरक्रिया गर्दै पालको विकसित राजनीतिक घटनाक्रमको बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।