एनआरएन संघको अध्यक्षलाई अनुशासन समितिमा उजुरी, महासचिवलाई कार्यवाहीको माग

चुनावको मुखमा एनआरएन संघको विवाद:

गैरआवासीय नेपाली (एनआरएन) संघको विश्व सम्मेलनको पूर्वसन्ध्यामा एनआरएन संघ अमेरिकामा ह्वारह्वार्ती फैलिएको विवादले केन्द्रीय नेतृत्वलाई नराम्ररी फँसाएको छ । यो विवादमा केन्द्रीय अध्यक्ष र महासचिव राम्रैसँग टकराएपछि विश्वभरका एनआरएनकर्मीहरूमा पक्ष-विपक्षमा ध्रुविकरण हुन थालेको छ र यसले सन्निकट निर्वाचनमा थप मलजल पाउने र एनआरएन अभियानलाई बदनाम गराउने आशंका बढेको छ ।

संघका अध्यक्ष शेष घले र महासचिव डा. बद्री केसी बीचको टकराव यो पहिलो चोटी होइन । उनीहरूबीच विधानको आ-आफ्नै ब्याख्या गर्दै शक्ति बाँडफाँडको सवालमा पहिले पनि विवाद सतहमा आएको हो । तर यसपटकको विवाद सबैभन्दा ठुलो शाखा अमेरिकाको विषयलाई लिएर भएको छ र आइ.सी.सी. चुनावको मुखमा छ । यस चुनावमा उपाध्यक्षद्वय भवन भट्ट र कुमार पन्तबीच भिडन्त हुने परिस्थिति देखिँदै छ भने महासचिव केसीको नजर उपाध्यक्षमा रहेको  छ । त्यस्तै घलेपत्नि पनि उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने संभावना रहेको बताइन्छ । चुनावको तिन महिनाअघि भएका यी सारा विवाद र पक्षपोषणको सार चुनावी जोडघटाउ रहेको बताइन्छ ।

पदाधिकारीहरू स्वयं विवादको दलदलमा फँसेको घटनाक्रम देख्दा यो अझ बल्झिने संभावना रहेको चिन्ता एक एनआरएन अभियन्ताले इन्फोमालासँग बताए ।

समस्याको जरो

एनआरएन संघ अमेरिकाका अध्यक्ष पदका आकाँक्षी गौरी जोशीलाई कानूनी खेल खेलेर अस्वीकृत गरिएपछि यो खेलको पटाक्षेप भएको हो । उनलाई बचाउन संघका महासचिव डा. बद्री केसी सक्रिय भएपछि केसीको विरूद्धमा घले उत्रेका हुन् ।

हालसम्म कुनै कार्यकारिणी जिम्मेवारी पुरा नगरेकोले अध्यक्षको उम्मेदवार हुन लायक नहुने निर्णय एनआरएन संघ अमेरिकाको निर्वाचन समितिले दिएपछि त्यो बद्नियतपूर्ण रहेको भन्दै अमेरिकाको राष्ट्रिय समन्वय परिषदको कार्यकारी सदस्यको हैसियतमा गौरी जोशीले ‪२००७/२००९ को कार्यसमितिमा रहेर काम गरेको रेकर्ड रहेको पत्र महासचिव डा. बद्री केसीले उपलब्ध गराइदिएका थिए । त्यसअघि, अमेरिकाको निर्वाचन समितिले योग्यता नपुगेको भन्दै जोशीको नाम उम्मेदवार सूचिमा प्रकाशित गर्न अस्वीकार गरेको थियो । त्यसपछि जोशीले आफूले काम गरेको रेकर्ड उपलब्ध गराइदिन पत्राचार गरे र महासचिव डा. केसीले उनको रेकर्ड उल्लेख गरी पत्र पठाएका थिए । तर त्यस पत्रले गर्दा अध्यक्ष शेष घले र उनी निकट अमेरिका संयोजक सोनाम लामा आक्रोशित बने । किनकी जोशीलाई उमेदवार हुन नदिने खेलमा सोनाम लामा पनि थिए ।

महासचिवले पठाएको सो पत्रको वैधानिकतामाथि प्रश्न उठाउँदै अध्यक्ष घलेले अर्को पत्र पठाएपछि एनआरएन सँघ अमेरिकाको विवादको भुँमरीमा केन्द्रीय पदाधिकारी परेका हुन्। रेकर्ड सार्वजनिक गर्ने जस्तो गम्भीर विषयमा छलफल नगरिएको भन्दै अध्यक्ष घलेले पत्रको वैधानिकतामाथि प्रश्न उठाउँदै अर्को पत्र लेखेका थिए ।

डा. केसीले भने संघको अभिलेख राख्ने अधिकार एनआरएन विधानले महासचिवलाई दिएको छ भन्दै घलेका बारेमा अनुशासन समितिमा उजुरी गरेका छन् । संघको १४ वर्षको इतिहासमा केन्द्रिय अध्यक्षमाथि अनुशासन समितिमा कारवाहीको माग गर्दै उजुरी परेको यो पहिलो घटना भएको बताइन्छ । यसले गर्दा दोस्रो कार्यकाल सम्पन्न गर्नै लाग्दा घले विवादित बन्न पुगेका छन् । विवाद अझ उग्र बन्दा संघका महासचिव केसीलाई कारबाही गर्न अन्तर्राष्ट्रिय समन्वय समिति अमेरिका क्षेत्रका संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पाले माग गरेका छन् ।

भनिन्छ, अनुशासन समितिमा घलेको पक्षमा बोल्नेहरू अल्पमतमा छन् । र, घले भने आफू निर्वाचित अध्यक्ष भएकाले कार्यकारी अधिकार आफैमा रहेको र त्यसै नझुक्ने मूडमा छन् ।

फ्रेंकफर्टमा पानी संग्लिएला ?

यी घटनाहरूले गर्दा एनआरएन संघको साख गिरेको छ । संघले स्थापनाको दशकमा कमाएको प्रतिष्ठा र उँचाई धमिलिन थालेपछि एनआरएन संघका संस्थापक अभियन्ताहरू चिन्तित र लज्जित भएका छन् । यो विवाद बढ्दै गएर आई.सी.सी. निर्वाचन नै भद्रगोल हुने हो कि भन्ने डर उनीहरूलाई छ ।

यसरी पानी धमिलिएको बेला जर्मनीको फ्रेंकफर्टमा एनआरएन संघको युरोपेली क्षेत्रिय बैठक यही शनिवार र आइतवार आयोजित हुँदैछ । युरोपेली क्षेत्रिय बैठकमा संघका अभियन्ताहरू जमघट हुँदै छन् । त्यसै क्रममा विवाद मत्थर पार्न पहल होस् भन्ने अपेक्षा एनआरएन शुभेच्छुकहरूले गरेका छन् ।