नेपाल विश्व क्रिकेटको पाँचौं स्थानमा

नामिबियालाई कीर्तिपुर क्रिकेट मैदानमा ३ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी विश्व क्रिकेट लिग cricket-team-nepalच्याम्पियनसिपको पाँचौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड र पपुवा न्युगिनीसंगका चार खेल गुमाइसकेको अवस्थामा नेपालले लगातार दुई खेल जितेर चार अंक बटुलेको हो। पहिलो खेलमा ५ विकेटको जित पाएको नेपालले दोस्रो खेल ३ विकेटले जितेको हो।

तर निकै तनावपूर्ण बनेको खेलमा नेपालले अन्तिम ओभरमा एक बल खेल्नु अगाडी मात्र जीत हात पारेको थियो। नेपालका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले १० हजार बढी दर्शकहरुका माझ विजयी रन बटुलेका थिए।

पहिलो खेलाडी आउट भएपछि मैदानमा प्रवेश गरेका शरदले अन्तिम समयसम्म क्रिजमा डटेर अविजित ७४ रन बनाउदै टोलीलाई जिताउन मुख्य भूमिका खेले। उनको यो च्याम्पियन शैली दुई दिन अगाडीको जीतको निरन्तरता समेत थियो। पहिलो खेलमा ५ विकेटले जित्दा उनले यसरी नै अर्धशतक खेल्दै टोलीलाई जिताउनमा भूमिका खेलेका थिए। उनले यो जीतलाई आफ्नो जीवनको उत्कृष्ट खेलमध्येको एक भनी बताए।

अघिल्लो खेलमा जस्तै जीतमा मुख्य भूमिका खेल्दै अविजित ७४ रन बनाएका शरदको कप्तान पारस खड्काले खुलेर प्रशंसा गरे। उनले भने,” शरदले निकै राम्रो खेले। दुवै पटक खेल जिताएर मात्र फर्किए। हाम्रो साझेदारी पनि राम्रो भयो। उनले आगामी दिनमा पनि यसरी नै खेल्नेछ भन्ने विश्वास गर्छु”

खेलको आकर्षण भने कप्तान पारसको शतकीय इनिङ थियो। २४० रनको कठिन मानिएको लक्ष्य पछ्याउन आएको टोलीका लागि पारसले १०३ रनको महत्वपूर्ण इनिङ खेले।

यो उनको क्रिकेट जीवनको दोस्रो शतक हो भने लिस्ट ए को खेलमा पहिलो शतक हो। यो संगै उनी लिस्ट ए मा नेपालबाट सवैभन्दा उच्च रन बनाउने खेलाडी बनेका छन्। यसअघि नेपालबाट अनिल मण्डलले १०० रनक उच्च स्कोर बनाएका थिए।

पारसले शरद र पारसले मिलेर बनाएको १६७ रनको साझेदारीले जीतको आधार बनाएको थियो।

पारसले भने,” मैले पहिलो शतक बनाएको खेलमा नेपाल हारेको थियो। आजपनि कता कता त्यो डर पनि लाग्यो। तर खुशी छु। तर त्यो भन्दा टिमको जीत महत्वपूर्ण छ।”

लगातार २ जीत संगै नेपाल ८ राष्ट्र सहभागी प्रतियोगिताको पाँचौं स्थानमा उक्लेको छ। यो संगै नेपाली टोलीको प्रतियोगितामा शीर्ष चार स्थानमा रहने बाटो खुलेको छ।

नेपालले नेदरल्याण्डसंग उनीहरुकै मैदानमा आगामी अगस्ट महिनाको १३ र १५ तारिखमा खेल्नेछ।

प्रशिक्षक जगत टमाटाले अव आफ्नो ध्यान नेदरल्याण्ड्ससंग हुने खेलमा केन्द्रित हुने बताए। उनले भने,” अर्को खेल चार महिना पछि नेदरल्याण्डससंग छ। त्यहांको पीचको अवस्था फरक छ। त्यसैले केही दिन आराम गरेपछि प्रशिक्षणमा लाग्नु जरुरी छ।” नेदरल्याण्डस प्रतियोगिताको शीर्ष स्थानमा छ। त्यसपछि अर्को वर्षसम्ममा नेपालले हङकङ, केन्या र यूएईसंग खेल्नेछ।