कुटनीतिमा एक देशको कमजोरीलाई समातेर अर्को देशले त्यो संवेदनासँग जिस्किने र त्यसबाट फाइदा लिने प्रयाश गरेका अनेकन उदाहरण पाइन्छन् । नेपाल कै सन्दर्भमा पनि भारतले मधेशीहरूको एक टुकुडीलाई समातेर यस्तै खेल खेलीरहेको जगजाहेर छ । नेपाल भूगोलवरिपरीको अन्तर्राष्ट्रिय राजनीतिमा तिब्बत र सिक्किम यस्तै अर्को उदाहरण हो । चीनले तिब्बत लिने र भारतले सिक्किम विलय गर्ने, अनि एक अर्कालाई साइजमा राख्न त्यही संवेदनशील भूभागलाई कार्डको रूपमा प्रयोग गर्दै आएका छन्- यी दुई ठुला देश ।
यो कार्ड खेलाई फेरि चर्कने संभावना देखिएको छ र यसले नेपाललाई प्रत्यक्ष असर गर्नेछ ।
हालैका दिनहरूमा गोर्खाल्याण्डको आन्दोलन चर्कंदा र सिक्किममा पश्चिम बंगाल सरकारले नाकाबन्दी गरेको घटनापछि यो क्षेत्रको भूराजनीति अझ तरल बनेको छ ।
यही सन्दर्भमा,सीमामा भारतसँगको तनाव बढ्दै गएपछि चिनियाँ सञ्चारमाध्यमले सिक्किमको स्वतन्त्रताबारे चिनियाँ नेतृत्वले पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन्।
तिब्बत-सिक्किम सीमासम्म चिनले सडक निर्माण जारी राख्दा भारतले अवरोध गरेपछि दुर्इ देशबीचको सीमाविवाद चर्किएको परिप्रेक्ष्यमा यो चिनियाँ धारणा आएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ‘पिपुल्स डेली’सँग आवद्ध ‘ग्लोबल टाइम्स’ मा प्रकाशित सम्पादकीयमा चीनले भुटान र सिक्किमको अवस्था बारे पुनर्विचार गर्न सक्ने उल्लेख गरिएको छ। जसलाई चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूको ‘विकल्प’ कुटनीति अर्थात असली संभावनाको रूपमा बुझ्न सकिन्छ ।
पत्रिकाले एउटा ठूलो चिनियाँ समुदायमा अहिले पनि सिक्किमलाई स्वतन्त्र बनाउन सहयोग गर्नुपर्ने भावना रहेको उल्लेख गर्दै यदि चिनियाँ नेतृत्वले सिक्किमको स्वतन्त्रताबारे पुनर्विचार गर्ने निर्णय गरे सो संवेदनशील भावना सिकिक्ममा पनि फैलने र त्यो नै नयाँदिल्लीसँग ‘डिल’ गर्ने शक्तिशाली कार्ड बन्ने बताएको छ। ‘केही निश्चित अवस्थामा भुटान र सिक्किममा भारतविरोधी भावना बढ्नेछ र त्यसले अहिले नै समस्याग्रस्त भारतको उत्तरपूर्वी क्षेत्रमा नयाँ भूराजनीति अवस्था निर्माण गर्नेछ’, सम्पादकीयमा भनिएको छ।
यदी हिमाली राजनीतिले यस्तो खालको कोर्स लियो भने, गोर्खाल्याण्डको रुपमा अलग राज्य मागेको दार्जिलिङसँग सिक्किम पनि मिसिएर अब भारतबाटै अलग हुने माग बढ्न सक्छ । यसले गोर्खाल्याण्डको अस्तित्व भारतको एक राज्यका रुपमा रहने वा सिक्किम समेत मिलेर अलग्गै देश हुने भन्ने बहस पनि सिर्जना गर्न सक्नेछ ।
अहिले गोर्खाल्याण्डको माग भारतको पश्चिम बंगाल राज्यमा छ । पश्चिम बंगालको पहाडी क्षेत्र दार्जिलिङले आफू टुक्रिएर अलग्गै राज्य बनाउन पाउनुपर्छ भन्दै आन्दोलनमा उत्रिएको हो । पश्चिम बंगालको तल्लो समथर क्षेत्रमा यसको विरोध पनि भइरहेको छ जसका कारण गोर्खाल्याण्डको मागको सम्बोधन हुन सकिरहेको छैन । आफ्नो मागको सम्बोधन हुन नसकेपछि गोर्खाल्याण्डको नेतृत्व गर्नेहरुलाई अहिले शुभेच्छुकहरूको आवश्यकता खड्किरहेको छ ।
अर्कोतर्फ १६ मे १९७५ मा भारतको २२ औं राज्यको रुपमा भारतमा गाभिएको सिक्किमको अधिकांश कुरा दार्जिलिङसँग मिल्छ । यहाँ नेपालीभाषी छन्, दार्जिलिङजस्तै सिक्किम पनि पहाडी इलाका हो र दार्जिलिङको छिमेकी हो । अझ यो राज्य नेपालअंग्रेज युद्धका बेला दार्जिलिङजस्तै नेपालबाट छुट्टिएर ब्रिटिस साम्राज्यमा पुगेको हो र कालान्तरमा भारतिय भूभाग बन्यो । त्यसैले पनि दार्जिलिङका लागि गोर्खाल्याण्डको माग अझै उचाइमा पुर्याउने र माग पूरा गराउनको लागि सिक्किम बलियो सहयात्री हुन सक्छ ।
कुनै समयको स्वतन्त्र देश र पहिल्यै स्वतन्त्र अस्तित्वका राज्यको रुपमा रहेको सिक्किम अहिले आएर पुनः अर्को राज्यकै मागको लागि दार्जिलिङसँग एक्कासी मिल्न सक्दैन । तर, चीनको कार्डले गति लिने सफल हो र सिक्किममा स्वतन्त्रताको आगो स्वतन्त्रको आगो बल्ने हो भने सिक्किम र दार्जिलिङमा आन्दोलन समानान्तर रूपमा बढ्दै गएर अन्ततः खतरनाक धक्का दिन सक्छ । यो सजिलै र र छोटो अवधिमा पार लाग्ने आन्दोलन हुने छैन । दिर्घकालिन संघर्ष हुनेछ । जुन अवधिमा नेपाल नचाहेर पनि संक्रमित हुन्छ ।