नेपाल र भारतको असमझदारी छिटै हट्ने

उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले नेपाल र भारतबीच बढेको असमझदारी छिट्टै हट्ने बताएका छन ।kamal thapa

भारत भ्रमण सकेर बिहीबार स्वदेश फर्किनुभएका थापाले “मुलुकको वर्तमान स्थितिमा सुधार आएपछि सम्बन्धमा सुधार आउने” बताएका हुन्  ।

तीन दिने भ्रमणबाट फर्केका थापाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो भ्रमण दुई देशबीच कायम असमझदारी हटाउन फलदायी भएको बताए ।

भ्रमणका क्रममा उप–प्रधानमन्त्री थापाले भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायत भारतीय नेता तथा पदाधिकारीसँग द्विपक्षीय सम्बन्धबारे छलफल गरेका थिए।

भेटका क्रममा भएका कुराकानीबारे मिडियामा आएका समाचारप्रति लक्षित गर्दै उप–प्रधानमन्त्री थापाले भने ‘हल्लाको पछाडि नलागी हामी परिणामको प्रतीक्षा गरौँ । भारतीय नेताहरूसँग दक्षिणी सीमामा भएको पारवहनको अवरोधबारे गहन र खुला रूपमा छलफल भएको छ । दुई देशबीचको सम्बन्ध सुदृढ हुनुका साथै केही दिनमा नै परिणाम देखिने गरी सुधार हुनेछ भन्ने अपेक्षा गरेको छु ।’

थापाले  देशको स्थिति निक्कै संवेदनशील र जटिल रहेको भन्दै मिडिया क्षेत्रले पनि यसलाई सामान्यीकरण गर्न सहयोग गर्नुपर्ने बताए ।

कतिपय विषयलाई अहिले नै चर्चामा ल्याएर परिस्थिति बिगार्नुको सट्टा मुलुकको स्वाधीनता रक्षा गर्दै समस्या समाधान गर्ने क्रममा आफूले निरन्तर प्रयास गरिरहेको उनको तर्क थियो ।