बेल्जियमको एउटै नगरपालिकामा ४ नेपाली उमेदवार

आउँदो अक्टोबरमा बेल्जियममा हुने नगरपालिकाको निर्वाचनमा लुभेन नगरपालिकामा मात्रै ४ नेपाली उमेदवार हुने भएका छन् । यहाँको प्रख्यात विश्वविद्यालयका कारण लुभेन विश्वभर परिचित छ । र यही लुभेन नगरपालिकाको एक प्रमुख आप्रवासी समुदायका रूपमा नेपालीहरू रहेका छन् । यसै कारण यहाँका प्रमुख राजनीतिक पार्टीहरूले नेपालीलाई मैदानमा उतारेका हुन् ।

लुभेन नगरपालिकामा लामो समयदेखि चुनाव जित्दै आएको S.P.A. ले सूर्य ढकाललाई उमेदवार बनाएको छ भने अर्का राष्ट्रिय पार्टीहरू CD&V ले रश्मी निरौला र ग्रीन पार्टीले बलीराम झालाई उमेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी अर्को दल NVA ले कृष्ण क्षेत्रीलाई उमेदवार बनाउँदै छ ।

झण्डै ८० हजार मतदाता रहेको लुभेनमा नेपाली मूलका मतदाताहरूको संख्या करिब ५०० रहेको बताइन्छ । समानुपातिक मतदानका आधारमा नगर परिषदमा ४५ जनाको प्रतिनिधित्व हुने गर्छ । समानुपातिक मतदान प्रणालीका कारण नेपालीहरूको यो भोट एकत्र हुन सके कुनै राष्ट्रिय पार्टिबाट उमेदवार बनेको एक व्यक्ति निर्वाचित हुन सक्छ । तर यदी यो भोट समानुपातिक रूपमै बाँडिएमा अर्थहिन हुनसक्छ ।

खासमा, लुभेनमा सबैभन्दा बलियो पार्टी सोसलिस्ट (SPA) रहेकोले सोसलिस्ट उमेदवारको जित्ने संभावना बढी हुन सक्थ्यो । तर यहाँका प्रमुख पार्टीहरूले एक-एक नेपाली उमेदवार उठाइदिएकाले भोट बाँडिने र अन्ततः एक नेपाली उमेदवार अर्को नेपाली उमेदवारलाई हराउन मात्र उपयोग हुने संभावना देखिएको छ ।