बुधवार धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै

कात्तिक कृष्ण औँसीका दिन बुधवार साँझ दीपावलीसाथ धनधान्यकी देवी लक्ष्मीको आराधना गरी मनाइँदैछ । यो दिन दीपावलीसहित खुसियाली मनाउने चलन छ ।

ज्योतिष डा. सुनिल सिटौलाका अनुसार स्थिर लग्न र प्रदोशकालमा लक्ष्मीको आराधना गरेमा वर्षभरि घरमा लक्ष्मीको वास भई धनधान्य पूर्ण हुन्छ ।

डा. सिटौलाका अनुसार बुधबार साँझ ५ः२७ देखि ७ः२३ बजे र राति ११ः५७ देखि २ः१४ बजेको समय क्रमशः सिंहलग्न र बृषलग्नकाल परेकाले यी दुवै स्थिर लग्नको समयमा लक्ष्मीपूजा गर्नु उत्तम रहन्छ ।

लक्ष्मीपूजा गर्दा एकान्त र अँध्यारो ठाउँमा दीप प्रज्वलन गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

यो दिन नराम्रो गर्नेलाई वर्षभरि नै नराम्रो फल मिल्छ भन्ने ज्योतिषशास्त्रमा उल्लेख रहेको उहाँ बताउनुहुन्छ ।

लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ ।

बडादशैँमा पर्ने कालरात्रि, कृष्णजन्माष्टमीलाई मोहरात्रि र महाशिवरात्रि गरी हिन्दूशास्त्रमा चार रात्रिको विशेष महत्व दर्शाइएको छ ।