बलिउडमा जम्दै अर्की नेपाली

बलिउडमा पाइला हाल्ने क्रममा कुनै नेपाली अर्को मनीषा हुन सक्ला नसक्ला त्यो अहिले भनिहाल्न सकिने अवस्था छैन, तर एक जमानामा मनीषा कोइराला कै झल्को दिने नायिकाका रूपमा चर्चा पाएकी उषा पौडेल बलिउडमा जम्न थालेकी भने छिन्। नेपाली फिल्ममा लगातार काम गरिरहे पनि यसको व्यापारमा मन्दी आउन थालेपछि एक्कासि बलिउड प्रवेश गरेकी पौडेलले त्यहाँ गएको केही समयपछि नै हिन्दी सिरियलमा आफ्नो क्षमता प्रदर्शन गरिरहेकी थिइन्। अब भने उनी ठूलो पर्दाकै बलिउड फिल्ममा फड्को मार्न सफल भएकी छिन्।
usha_paudel
बलिउड गएर केही समय संघर्ष गरी ख्यातिप्राप्त बलिउड अभिनेता अनुपम खेरबाट अभिनय कोर्ससमेत गरेकी उषाले चर्चित सिरियल अदालत, चिन्टु चिंकी और एक बढी सी लभस्टोरी, फेयर फाइल्स, तुझसंग प्रित लगाई सजनादेखि जय जय जय बजंरग बली, जय शनिदेव, विष्णु पुराणजस्ता धार्मिक सिरियलमा अभिनय क्षमता प्रदर्शन गरी भारतीय सिरियलको जगत्मा आफूलाई स्थापित गराइसकेकी छिन्।

अब भने उनी एक खुड्किलो माथि चढेकी छिन्। उनी निर्माणाधीन बलिउड फिल्म सुन लडकीमा अनुबन्धित भएकी छिन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृतिमाथि बनेको फिल्म मुनामदनकी यी मुनाले गोधुली, तिम्रो माया, प्यारी बहिनी, जंगे, जेठो कान्छो, राम लक्ष्मण, वाज, क्रोध, माया नगर, ज्वालामुखी, धमाका, राज्य, पल पलमा, भरोषालगायतका दुई दर्जन नेपाली फिल्ममा आफ्नो प्रतिभा देखाएकी छिन्। हिन्दी सिरियलमा जम्न थालेपछि र बलिउड फिल्मतिर पाइला हालेपछि उनको माग अहिले नेपाली फिल्ममा पनि बढ्न थालेको छ। ‘नेपालमै हुँदा नसम्झनेले पनि अहिले फिल्म गर्नुपर्यो भनेर सम्झिन थालेका छन्’ –उषा भन्छिन्। उनले पुष्पाञ्जली, कसलाई आफ्नो भनौं, दुई दिनको जिन्दगानी, करुणाजस्ता नेपाली सिरियलमा पनि काम गरेकी छिन्।